मकवानपुर । मकवानपुरको हेटौंडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । योसँगै एपीएफले २ लाख रुपैयाँ हात पारेको छ ।
सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यु डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित २ लाख रुपैयाँ जितेको हो । एपीएफले न्यु डाइमन्डलाई २५–१९, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो ।
उपविजेता भएको न्यु डाइमन्डले १ लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपीएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यु डाइमन्डले प्राप्त ग¥यो । उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भए ।
सर्वोत्कृष्ट खेलाडीले १५ हजार र बाँकी विधागत उत्कृष्टले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविनको आधारमा सञ्चालन भएको थियो । एपीएफ ११ अंकका साथ समूह विजेता र न्यु डाइमन्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए ।
समूह चरणको अन्तिम खेलमा न्यु डाइमन्डले त्रिभुवन आर्मीलाई र एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त गरेका थिए । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले ५०÷५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ट, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौला, वडा अध्यक्षलगायतले पुरस्कार वितरण गरेका हुन् ।
नगरप्रमुख लामाले समग्र खेल क्षेत्रसहित उपमहानगरको सर्वांगीण विकासमा आफूहरू लागिपरेको बताइन् । यस्ता खेलकुदले जिल्ला तथा नगरको नाम बाहिर पनि चिनाउन मद्दत पुग्ने उनको भनाइ थियो । आगामी दिनमा पनि खेलकुदका यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आवश्यक सहयोग गर्ने नगरप्रमुख लामाको प्रतिबद्धता रहेको थियो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौंडामा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले १३ गतेबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।






