माटो कसरी हुन्छ जीवित ?

माटो जीवित छ । त्यसैले पृथ्वीको बाहिरी सतह जीवित छ । बाहिरी सतह जीवित भएकाले पृथ्वीमा जीवन छ । जीव तथा वनस्पति छ । जीव तथा वनस्पति अक्सिजन र खाद्य पदार्थको सहयोगमा बाँचेका छन् ।

तर, माटो के कुराले बाँचेको होला ? यो धेरैको खुल्दुलीको विषय हुनसक्छ । माटोलाई खाद्य पदार्थ चाहिँदैन । तर, यो जीवित रहनका लागि हावा र पानी भने अवश्य पनि चाहिन्छ । माटोमा हावा र पानीको मात्रा हामीले केही हदसम्म अनुमान गर्छाैं । त्यो हाम्रो ज्ञानेन्द्रीयको प्रयोगले सम्भव भएको हो । माटो गिलो देखिएमा हामीले पानीको मात्रा छ भनेर सहजै अनुमान गर्न सक्छौं ।

खेतबारीमा पानी सिँचाइ गर्दा माटोबाट पानीका फोका आएको देख्छौं । यी फोकामा माटोभित्र हावा रहेको ठाउँमा पानी भरिन जाँदा हावा फोकाका रूपमा जमिनबाहिर देखापरेको हो । यसले माटोमा हावा र पानी हुन्छ भन्ने सामान्य अनुमान गर्न मद्दत गर्छ ।

तर, सूक्ष्मदर्शक यन्त्र र अन्य सूक्ष्म यन्त्रको सहयोगमा माटो सुक्खा हुँदा पनि त्यसमा हावा र पानीको मात्रा रहिरहने कुरा कृषिविद् तथा वैज्ञानिकहरूले पुष्टि गरेका छन् । माटोमा प्राकृतिक प्रणालीनुसार हावा र पानी सञ्चय भएर रहिरहेको हुन्छ । यही कारणले माटो सदा जीवित हुन्छ ।

माटोका कणहरूमा हावा र पानीका लागि भिन्नाभिन्नै सञ्चयकोष वा कोठा हुने गर्छन् । यी कोष वा कोठालाई महारन्ध्र र केशालरन्ध्र भनिन्छ । यी रन्ध्रहरू माटोका कणमा प्रशस्तै हुन्छन् । महारन्ध्र केशालरन्ध्रभन्दा ठूलो हुन्छ । केशालरन्ध्र आकारमा सानो हुन्छ । तथापि, यी दुवै रन्ध्र साथसाथमा रहेका हुन्छन् ।

यी रन्ध्रभित्र गाग्रीमा पानी र ग्यास सिलिन्डरमा ग्यास भरेर राखेझैं पानी र हावा भरिएर रहेका हुन्छन् । माटोले बाहिरी तापक्रम, वातावरण, मौसम, ऋतु र आवश्यकतानुसार यी सञ्चित हावा र पानीको ‘चार्ज’ गर्नुका साथै सञ्चयको प्रबन्ध पनि मिलाइरहेको हुन्छ । यसका लागि माटोमा एक निश्चित प्राकृतिक प्रणाली हुन्छ ।

यिनै रन्ध्रमा सञ्चित हावा र पानीका कारण सुक्खा मौसम र खडेरीमा पनि बिरुवा बाँचिरहेका हुन्छन् । डरलाग्दा डढेलो र आगलागीमा परेका वनजंगलमा केही समयपछि बिरुवा पलाउन थालेका हुन्छन् । बिरुवामा हुने यो पुनर्जीवन यही महारन्ध्र र केशालरन्ध्रमा सञ्चित हावा र पानीका कारणले हो ।

यदि, माटोमा जीवन नभइदिएको भए पृथ्वीमा बोट बिरुवा र प्राणीको जीवन पनि सम्भव हुने थिएन । माटोको कणभित्र रहने केशालरन्ध्र तथा महारन्ध्रले धरती मात्र होइन, जीव तथा वनस्पति पनि बचाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 780 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु