सस्तो लोकप्रियता घातक हुनसक्छ

भारतका विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमण सम्पन्न भयो । भ्रमणका अवसरमा दुई देशबीच केही महत्वपूर्ण सम्झौताहरू पनि भए । तीमध्ये भारतीय दूतावासले नेपालका समुदाय बिकासका लागि सोझै २० करोड रुपैयाँसम्म सहयोग उपलब्ध गराउन सक्ने भनिएको सम्झौताले राम्रै चर्चा पाएको छ । विरोधका चर्का आवाज पनि उठेको छ । पूर्ब प्रधानमन्त्रीको तहदेखि लिएर प्रमुख पार्टीको उच्च तह सम्मका व्यक्तिहरूको असहमति र उग्र विरोधका अभिब्यक्तिहरू सार्बजनिक भए । यी विरोधका स्वरहरू र अभिव्यक्तिलाई अस्वाभाविक मान्नु ठिक हुन्न होला । भारतले समुदायलाई उपलब्ध गराउने भनिएको धनराशीले समुदायको बिकास भन्दापनि लक्षित समुदायमा ’भारतभक्ति’ जगाउने निहित उद्देश्य बोकेको छ भने त्यसको भरपूर विरोध हुनैपर्छ । यस्तो कथित सहयोगले देशको सार्बभौम अधिकारलाई खलल पार्छ, अखण्डतालाई कमजोर पार्छ वा नागरिकहरूमा नेपाल प्रतिको वफादारितामा प्रतिकूल प्रभाव पार्छ भने त्यसको चर्को विरोध हुनुपर्छ । यदि यस्तो सहयोग भारतको छनौटमा भारतले चाहेको लक्षित समूहमा जान्छ र नेपालको नियामक निकायलाई जानकारी नै नभई गुप्त रुपमा प्रवाहित हुन्छ भने त त्यसका विरुद्ध चर्को संघर्ष नै गर्नुपर्छ ।

यो सम्झौता हुनुभन्दा अघि पनि यसखाले सहयोग प्रवाह बैध एबं नियमित रूपमा नै भइरहेको थियो । यसपटक सहयोग सीमा रकम बढाएर २० करोड पु¥याइएको मात्र हो । यस खाले सहयोग लिने दिने काम कुन प्रधानमन्त्रीको कार्यकालमा शुरू भएको थियो र कसको समयमा रकम सीमा बढाइएको थियो भन्ने सार्बजनिक भइसकेको छ । ‘भारतको सहयोगमा फलानो ठाउँमा गुम्बा बन्यो, मन्दिर बन्यो, हेल्थपोष्ट बन्यो, बिद्यालय भवन बन्यो र यतिवटा एम्बुलेन्स फलानोलाई हस्तान्तरण भयो’ शीर्षकका समाचार हामीले सुनेका पढेका हौं । यीमध्ये कैयन् निश्चित रुपमा यस्तै समुदाय लक्षित सहयोग कार्यक्रम अन्तरगत भारतीय दूतावासको प्रत्यक्ष सहयोगमा सम्पन्न भएको कुरामा दुबिधा नहोला । हाम्रो मुलुकको आदरणीय एवं सम्मानित नेताहरूको नाम जोडिएका प्रतिष्ठानहरू समेत यस्तै सहयोगबाट बनेको हुनसक्छ । हालको सम्झौताको प्रतिपक्षी एमालेको शीर्ष नेताहरूबाट चर्को आलोचना भएको छ । हाल एमालेको केन्द्रीय कार्यालय रहेको तुलसीलाल स्मृति भवन समेत यस्तै सहयोग राशीबाट बनेको भनेर दावी गर्नेहरू भेटिन्छ्न् । यस’bout आगामी दिनहरूमा अझ खुल्दैजाने नै छ ।

पर्दा पछाडिबाट अनौपचारिक ढंगबाट लुकेर विदेशी सहयोग लिने ब्यक्ति, समूह र राजनीतिक दल समेतको ’boutमा खोतल्न थाल्ने हो भने त सायदै कोही चोखो साबित होला ! नेपालको सीमा जस्तो अत्यन्तै सम्बेदनशील विषयमा आवाज बुलन्द गर्ने भनेर चिनिएका कथित अभियन्ताहरूको अभियानको आर्थिक श्रोत समेत कुनै तेश्रो मुलुक हो कि भनेर शंका गर्ने प्रशस्त ठाउँ छ । ‘विचार निर्माता’ भनिने सञ्चार जगत समेत विदेशी प्रभावबाट गिजोलिएको छ कि भनेर शंका गर्ने ठाउँ रहँदा मन अमिलो हुन्छ । ब्यक्तिगत औषधोपचारका लागि समेत कुनै निश्चित मुलुकको निगाहामा भर पर्ने महानुभावहरूले ठूला कुरा गर्नुको अर्थ रहला र ? मुलुकको उच्च तहमा पदासीन रहेर कुनै विदेशी पार्टीले दिएको ’प्रशिक्षण कार्यक्रम’मा ‘आज्ञाकारी विद्यार्थी’को मुद्रामा प्रस्तुत हुने नेताज्यू र तिनको समूहबाट अति स्वाभिमानी र क्रान्तिकारी विरोध सुहाउँछ ? तिनको ‘राष्ट्रिय स्वाभिमान’को चर्को आवाजमा कति वजन होला ?

एउटा निश्चित ‘बादी’को छवि बनिसकेको हुँदा स्वतः राष्ट्रबादी होइन्छ भन्ने त होइन होला ! राजाबादी हुँदैमा वा साम्यबादी अथवा समाजबादी हुँदैमा राष्ट्रबादी हुने पक्कै होइन । कुनै देश, भनौं भारत वा अमेरिकालाई धारेहात लगाएर सराप्ने बित्तिकै राष्ट्रप्रेमी पनि होइंदैन । पक्का नेपाली बन्न नेपालको हित चाहेर वा माया गरेर पुग्दैन, भारत वा अमेरिकालाई तथानाम गाली पनि गर्नुपर्छ भन्ने सोचलाई त रोगी मानसिकता नै मान्नुपर्छ । अथवा फलानो राष्ट्रको आँखा चिम्लेर चाकरी गर्नु वा गुणगान गर्नु नै पक्का नेपालप्रेम हो भन्ने सोच त घातक बिमारी हो । यस्ताखाले भाष्यले केही समयको लागि ’लोकप्रिय’ बन्न वा भोट बटुल्न पनि सम्भव होला, तर यो दिगो हुन सक्दैन । राष्ट्रलाई सर्वोपरी मान्न सक्नुप¥यो, राष्ट्रभक्ति चाहियो !

यति सब भन्दै गर्दा भारतको अन्ध समर्थन भयो भन्ने अर्थ लाग्ला ! त्यसो होइन ! भारतको अनौठो ‘ठूल्दाइ’ प्रवृत्ति, सायद आफू लामो समय दास भएको कारणले नै होला आफू भन्दा साना छिमेकीलाई दास बनाउन खोज्ने मनोवृत्ति र अनाहकको मिचाहा मिजासबाट हामी पिडित छौं । त्यसको भरपूर प्रतिरोध हुनुपर्छ र खुला आलोचना हुनुपर्छ । तर त्यस्तो विरोध गरिरहँदा सबैले पूर्णकदको ऐनामा आफ्नो छवि हेरेर सोच्नु पनि पर्छ । कुनै तेश्रो ‘मालिक’ को भक्ति गर्नकै लागि मात्र भारत वा अमेरिकाको विरोध हुन पुगेको हो कि भनेर गम्नु चाहिँ जरूरी छ ।

कुनै विदेशी सहयोग स्वीकार्ने वा पूर्ण रूपमा नस्वीकार्ने हक हामीमा सुरक्षित छ । कुनैपनि विदेशी दान दातब्य पटक्कै नलिने भन्ने नीति बनाउन पनि पाइन्छ । विदेशी सहयोग बिना मूल्यको आउँदै आउन्न । दाताले कम्तिमा आफूले सहयोग गर्ने राष्ट्रबाट सद्भाव र राम्रो छबिको अपेक्षा त गर्छ नै । सद्भाव र छवि भन्दा पर नेपाललाई प्रतिकूल असर पर्ने सामरिक वा आर्थिक दूर्नियत लुकेको छ भने अस्वीकार गरौं । स्वीकार्ने हो भने नेपालको र नेपाली जनता अनि समुदायको माग र चाहना अनुरूप पारदर्शी रुपमा स्वीकारौं र त्यस राष्ट्रप्रति कृतज्ञ बनौं । विदेश सम्बन्ध भनेको जनताको कोमल भावनामा खेल्ने औजार बन्नुहुन्न र त्यो भोट बटुल्ने संयन्त्रका रुपमा पनि प्रयोग हुनुहुन्न । सस्तो लोकप्रियताका वा ‘मालिक भक्ति’का लागि विदेश सम्बन्धको प्रयोग त घातक नै हो ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि युरोपको ट्रिप इन होटल समूहले दियो ५१ लाख रुपैयाँ