‘रोरिङ फोर्टिज’ वा ‘दुर्वासा बिन्दु’ !

पौराणिक कथाहरूमा निकै प्रसिद्ध छन्, ऋषि दुर्वासा ! उनी निकै झोंकी र रिसाहा थिए । उनको रिसको सीमा नै थिएन । भिक्षाटनमा गएका बेला केही कुरा माग्यो भने तत्काल उपलब्ध गराएकै हुनुपर्ने, नत्र उनी रिसाएर श्राप दिइहाल्थे ।

त्यो उनको रिस धारण शक्तिको सीमा थियो । पृथ्वीमा पनि दुर्वासा बिन्दु छ । यो दुर्वासा बिन्दुलाई अंग्रेजीमा ‘रोरिङ फोर्टिज’को नामले चिनिन्छ । नेपालीमा भने त्यसलाई ‘गर्जने चालिसे’ भनेर चिनिन्छ । यो बिन्दु वास्तवमा निकै रौद्र र ज्यान लिने खालकै छ ।

भूमध्य रेखादेखि दक्षिणी गोलाद्र्धमा पर्छ, यो दुर्वासा बिन्दु । भूमध्य रेखालाई शून्य डिग्री अक्षांश मानेर त्यसदेखि ४० र ५० डिग्री अक्षांशको बीचमा पर्छ, यो बिन्दु । यो समुद्रको मध्य भाग हो ।

यहाँ चारैतिर पानी नै पानी छ । समुद्र नै समुद्र भएकाले पानीको सतहमाथि चक्रवात निर्माण गर्दै बहने हावालाई केही कुराले पनि छेक्न र रोक्न सक्दैन । हावा निकै वेगमा बहने, मडारिने र समुद्रको पानी सोसेर आकाशमा छर्ने गर्छ ।

४० डिग्री अक्षांशको बीचमा गर्जने चक्रवाती हावा बहने हुनाले यसलाई गर्जने चालिसे वा दुर्वासा बिन्दु भनिएको हो

यो सामुद्रिक सतहमा हावा बहँदा मेघ गर्जने, चट्याङ पर्ने, पहाडभन्दा अग्लाअग्ला ज्वारभाटा उठ्ने र बस्ने गर्छन् । ४० डिग्री अक्षांशको बीचमा गर्जने चक्रवाती हावा बहने हुनाले यसलाई गर्जने चालिसे वा दुर्वासा बिन्दु भनिएको हो ।

भूमध्यरेखीय क्षेत्रमा सूर्यको प्रत्यक्ष तापका कारण पानी तातिन जाँदा यस क्षेत्रमा पानीको चाप निकै कम हुनथाल्छ । उता, ४० र ५० डिग्रीको दक्षिणतिर चिसोका कारण पानीको चाप अत्यधिक मात्रमा रहन्छ । तरल पदार्थको अग्लो भागबाट होचो भागतिर बहने स्वभाव हुन्छ ।

त्यसैले, पानीको यो उच्च चापीय भाग दक्षिणबाट हुर्रिएर भूमध्यरेखीय न्यूनचापीय क्षेत्रमा प्रवेश गर्न निकै जोडबल लगाउँछ । ठीक यसैबेला अर्कोतिर सूर्यको तापका कारण पानी तातिँदा त्यसमाथिको वायु पनि निकै तातिन गई वायुको चाप असाध्यै न्यून हुन पुगेको हुन्छ ।

सामुद्रिक सतह र आकाशको वायुमण्डलीय सतहमा पनि पानी र हावाको चाप एक्कासि कम हुनगई आकाशमा बादल र सतहमा पानीको ज्वार एकैपटक डरलाग्दो वेगमा हुइँकिन्छ ।

४० र ५० डिग्रिको अक्षांश बढी प्रभावित हुने हुनाले यसलाई ‘रोरिङ फोर्टिज’ भनिए पनि ५० डिग्रीभन्दा दक्षिणको भागलाई ‘नो लाइफ जोन’ र ६० डिग्रीभन्दा दक्षिणको जोनलाई ‘नो गड जोन’ भनिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास