जर्मनी सुन्दरी क्रिस्टियन स्टेंगर एक चर्चित मेमोरी मास्टर हुन् । सन् १९८७ मा जन्मिएकी प्रतिभाशाली स्टेंगर ९ वर्षको कलिलो उमेरदेखि नै चर्चामा छिन् । सन् १९९६ मा आयोजित प्रथम जर्मन मेमोरी च्याम्पियनसिप हेर्न गएकी स्टेंगरले त्यहाँ आफ्नो अद्भूत क्षमता प्रर्दशन गरेर सबैलाई चकित पारेकी थिइन् ।
हुने बिरुवाको चिल्लो पात भने झैं स्टेंगरले १६ वर्षको उमेरमा नै ‘ए’ लेभल उत्तीर्ण गर्न सफल भएकी थिइन् । आफूलाई एक अल्क्षी केटी मान्ने स्टेंगरले आफ्नो पढाइलेखाइमा मेमोरी टेक्निकको ठूलो भूमिका रहेको बताउँछिन् । मेमोरी टेक्निकद्वारा आफ्नो मेमोरी मात्र होइन कि सिर्जनशीलता, बौद्धिक क्षमता तथा आत्मविश्वास समेत बढेको उनको दाबी छ ।
१० वर्षको उमेरदेखि नै मेमोरी स्टन्ट देखाएर देशविदेशमा ख्याति कमाएकी स्टेंगरले सन् १९९९ मा आयोजित विश्व मेमोरी च्याम्पियनसिप जित्न सफल भएकी हुन् । यसपछि उनले थुप्रैपटक विश्व मेमोरी च्याम्पियनसिप जितेकी छन् । १२ वर्षको कलिलो उमेरमा नै ग्रान्डमास्टरको उपाधि पाएकी स्टेंगर विश्ककै सबैभन्दा कम उमेरकी मेमोरी ग्रान्डमास्टर हुन् । क्रिस्टियन स्टेंगर मेमोरी ग्रान्डमास्टर मात्र नभएर एक सफल लेखिका पनि हुन् । उनले हालसम्म मेमोरी टेक्निकका तीनवटा किताब लेखेकी छन् । सन् २००४ मा जर्मन भाषामा लेखेको किताब, अ सिप फाल्स आउट अफ द ट्री उनको पहिलो किताब हो ।
मेमोरी टेक्निकको आधार भनेको सम्बद्धता तथा कल्पनाचित्र हो
मेमोरी टेक्निकको यो किताब अंगे्रजीलगायत थुप्रै भाषामा प्रकाशित भएको छ । स्टेंगर जति प्रतिभाशाली छिन्, त्यत्ति नै सुन्दर पनि छिन् । वास्तवमा उनी प्रतिभा र सौदर्यकी एक बेजोड संगम हुन् । त्यसैले, उनलाई मिडियाले डा. मेमोरी तथा मेमोरी ब्युटीको संज्ञा दिने गरेका छन् ।
स्टेगंरले ठूलाठूला सेमिनारमा मेमोरी टेक्निक सिकाउँदै आएकी छन् । उनको मेमोरी प्रशिक्षण दिने शैली पनि गजबको छ, उनले भन्छिन्, आँखा बन्द गर्नुहोस् । रुखबाट भेडा खसेको कल्पना चित्र बनाउनुहोस् । यो नै मेमोरी टेक्निक हो । मलाई स्टेंगरको यो सरल मेमोरी टेक्निक निकै गजबको लाग्छ । त्यसैले, मैले ख्यालठट्टामा यस टेक्निकलाई मेमोरी ब्युटीको भेडा टेक्निक भन्ने गर्छु ।
मेमोरी ब्युटी स्टेंगरको भनाइ छ, औसत रूपमा मानिसको मस्तिष्क शक्ति उस्तैउस्तै हुन्छ । मस्तिष्कको मेमोरी स्टोर गर्ने क्षमता पनि लगभग समान नै हुन्छ । यदि कुनै पनि सूचनाहरू मानिसको दीर्घकालीन मेमोरी स्टोर (मेमारी बैंक)मा पुग्छन् भने बिर्सने रोग वा अन्य रोगका कारणले बाहेक, ती सूचनाहरू बिर्सिदैनन् ।
मेमोरी बैंकमा स्टोर भएका सूचनालाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहँुदैन । के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि, सक्नुहँुदैन । किनकि, सानैदेखि नै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर, यहाँ अर्को उल्लेखनीय कुरा के भने मेमोरी बैंकमा रहेका सूचना सुरक्षित रहे पनि यदि बारम्बार प्रयोग हँुदैनन् भने चाहेको बेलामा याद नआउन सक्छन् ?
यदि, चाहेका बेलामा सूचना याद भएनन् भने ती सूचनाको के काम ? होइन त ? त्यसैले आवश्यक सूचनालाई मेमोरी बैंकमा राख्न र आवश्यक परेको बेलामा तुरुन्त स्मृतिमा ल्याउन आवश्यक हुन्छ । त्यसैले एकाग्रचित्त भएर, जसरी भण्डारमा सामग्री राख्दा मिलाएर वा क्याप्सन दिएर राखिन्छ, ठीक त्यसै प्रकारले याद गर्नुपर्ने विषय तथा सूचनाहरू मनमस्तिष्कमा मिलाएर संग्रह गर्ने हो भने याद गर्न सजिलो हुन्छ । यो नै तपाईं हामीले आफ्नो मेमोरी बढाउने सर्वोत्तम उपाय हो ।’
वैदिक ग्रन्थ, चरक संहितामा त स्मरणशक्तिको परिभाषा तथा स्मरणशक्ति बढाउने उपाय समेत उल्लेख छ । आयुर्वेदिक ग्रन्थ, चरक संहितामा भनिएको छ– स्मृतिको ज्ञान आठ कारणबाट हुन्छ ः (१) निमित्तद्वारा (२) रूपग्रहणबाट (३) सादृश्यबाट (४) विपरीत वस्तु देखेर (५) स्मरणयोग्य विषयमा मन लगाएर (६) अभ्यासद्वारा (७) ज्ञानयोगबाट (८) सुनेका विषयहरू पुनः सुनेर ।) तर, यो मेमोरी टेक्निक (स्मरणशक्ति बढाउने उपाय) बुझ्नेका लागि श्रीखण्ड नबुझ्नेका लागि खुर्पाको बिँड भएको छ ।
मेमोरी टेक्निकको आधार भनेको सम्बद्धता तथा कल्पनाचित्र हो । याद गर्नु पर्ने कुरालाई पहिला नै याद भएका कुराहरू तथा मेमोरी कोडसँग सम्बद्धता –लिंक) गरेर त्यो दृश्यलाई कल्पना चित्रमा उतार्नु नै मेमोरी टेक्निकको सिद्धान्त हो । अतः मेमोरी टेक्निक अति सरल छ । सम्बद्धता पद्धति (लिंककिङ मेथड्स) र पेग पद्धति (पेग मेथड्स) प्रमुख मेमोरी टेक्निकहरू हुन् । मेमोरी बढाउनका लागि यी दुई पद्धतिको ज्यादै ठूलो भूमिका देखापरेको छ । त्यसैले यी विधिलाई प्रयोग गरेर अद्भूत रूपमा आफ्नो मेमोरी बढाउन सकिन्छ ।
मेमोरी टेक्निक’bout जानकारी नभएका मानिसलाई मेमोरी प्रर्दशनी जादु जस्तो लाग्नेगर्छ
सम्बद्धता पद्धतिका अनुसार याद गर्नुपर्ने कुरालाई एकआपसमा सम्बद्ध गरी ती वस्तु वा विषयको दृश्यलाई मन–मस्तिष्कमा भिज्युलाइज गर्नुपर्ने हुन्छ । सम्बद्धता विधिको सहायताबाट १५–२० कुराहरू वा वस्तुको नाम सजिलै याद गर्न सकिन्छ । अभ्यास गर्दै रहने हो भने हजारौं शब्दहरू पनि आरामले स्मरण राख्न सकिन्छ । त्यस्तैगरी, भाषण याद गर्न, पाठ याद गर्न तथा अनुहार र नामहरू सम्झन पनि यो पद्धति निकै उपयोगी देखापरेको छ ।
पेग विधिका जनक सिमोनीडीजले ईसापूर्व ५०० तिर नै लिंकिङ गरेर घरका सामान याद गर्ने गर्थे रे । यसकारण नै उनको मेमोरी विलक्षण थियो । एकपटक एउटा रात्रीभोज हँुदा हलको छत भत्किएर सयौं मानिस मरेछन् । मरेका मानिसको अनुहार यति क्षतविक्षत थियो कि मानिसहरू चिन्न ज्यादै गाह्रो प¥यो । तर, बाँचेका सिमोनिडीजले कपडाको आधारमा नै मरेका सबै मानिसको पहिचान गरिदिएका थिए रे ।
मेमोरीको लिंकिङ मेथड्स सिक्न, सबैभन्दा पहिला एउटा सरल प्रयोग गरी हेरौं । जस्तो कि दुईवटा वस्तुः भेडा र रुख याद गर्नुछ । यसका लागि पहिला भेडाको दृश्य सम्झनुहोस् । त्यसपछि तपार्इंंलाई याद गर्नुपर्ने अर्को आइटम रूखसँग भेडालाई सम्बद्ध गरिदिनुहोस् । जस्तो कि एउटा ठूलो रुखको हाँगा भाँचिएर भेडा खसेको छ । त्यो देखेर तपार्इं अचम्म पर्नुभएको छ । दुवै आँखा बन्द गर्नुहोस् । उपर्युक्त दृश्य मनको पर्दामा हेर्नुहोस् । यति गर्नु भयो भने भेडा र रुख, यी दुई आइटम तपार्इंंलाई सधैं याद रहन सक्दछ ।
अर्को उदाहरण लिऊँ । चारवटा शब्द नेता, गधा, सत्ता, वर्षा र पैसा याद गर्नुछ । यसका लागि पहिला आफूलाई एकदम मन नपर्ने नेता सम्झनुहोस् । त्यसपछि अन्य चार शब्दलाई यसरी लिंक गर्न सकिन्छ: नेता गधामा चढेर कुर्सी (सत्ता)मा उफ्रिएको छ । माथिबाट पैसाको वर्षा भएको छ । दुवै आँखा बन्द गर्नुहोस् । उपर्युक्त दृश्य मनको पर्दामा हेर्नुहोस् । यति गर्नुभयो भने नेता, गधा, सत्ता, वर्षा र पैसा, यी पाँच आइटमहरू तपार्इंंलाई सधैं याद रहन सक्छ । अतः यसरी नै मेमोरी टेक्निकका आधारमा नै मेमोरी ब्युटी जस्ता मेमोरी मास्टरले हजारौं शब्द तथा अंकहरू हुबहु याद गरेर मेमोरी प्रर्दशनी देखाउने गर्छन् ।
मेमोरी टेक्निक’bout जानकारी नभएका मानिसलाई यस्तो मेमोरी प्रर्दशनी जादु जस्तो लाग्ने गर्छ । तर, यो न त जादु हो न त जन्मिँदै पुर्पुरोमा लिएर आएको क्षमता हो । मेमोरी टेक्निक सिक्ने हो भने जो सुकैले पनि यस्तो क्षमता प्रदर्शन गर्न सक्छन्, ७–८ वर्षका बालकालिकाले पनि ?
मैले पनि मेमोरी टेक्निक सिकेको हुँ । मैले वैदिक ग्रन्थबाट धेरै मेमोरी टेक्निक सिकें । मेमोरी ब्युटीको भेडा टेक्निकबाट पनि मैले धेरै कुराहरू सिकेको छु ।






