नुवाकोट । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । गोविन्द वियोगी स्मृति ट्र«ष्टद्वारा शनिवार नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी, गोविन्द वियोगी पुरस्कार प्रदान गरेका हुन् ।
यस्तै नुवाकोटको त्रिशूली प्रवाह साप्ताहिकका सम्पादक शरणउत्सुक सापकोटालाई सम्मान गरिएको हो । सम्पादक समाज नेपालको तर्फबाट बरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले र रेडियो पत्रकारिता क्षेत्रमा क्रियाशील मन्टेश्वरी राजभण्डारीलाई पनि सम्मान गरिएको छ ।
योहो टेलिभिजनका समाचार प्रमुख भण्डारी पत्रिका, अनलाइन, र टेलिभिजनका काम गरिसकेका छन् । भण्डारीलाई २५ हजार एक रुपैयाँ, नुवाकोटका त्रिशूली प्रवाहका सम्पादक शरणउत्सुकलाई १५ हजार एक रुपैयाँ, वरिष्ठ पत्रकार वाग्ले र राजभण्डारीलाई सम्पादक समाजले सम्मान गरेको हो ।
पुरस्कार प्रदान गर्दै अर्थमन्त्री डा महतले विकृत सामाजिक सञ्जालका कारण नेपाली पत्रकारिता क्षेत्र जोखिममा रहेको बताएका छन् । डा. महतले सामाजिक सञ्जालमा छरिएका भ्रमपूर्ण र नियोजित विषयले सामाजिक सञ्जाल विकृत भएको बताए ।
मन्त्री महतले सामाजिक सञ्जालको दुरुपयोगका कारण झुट, असत्य र अतिरञ्जितले स्थान पाइरहेको स्मरण गर्दै असत्य धेरै समय नटिक्ने दावी गरे । नेपाली पत्रकारितामा देखिएको यस्तो समस्या विस्तारै हट्ने विश्वास व्यक्त गर्दै उनले नेपालका मुलधारका पत्रकारिता क्षेत्रमा समस्या भएको सरकारले अध्ययन गरिरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विगुल पोखरेलले महासंघ निर्माणमा गोविन्द वियोगीको भूमिका महत्वपूर्ण रहेको स्मकरण गर्दै सम्पादक समाजले नुवाकोटमा निर्माण गरेको भवनलाई पत्रकारिता अध्ययन केन्द्र निर्माणमा राज्यले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण आयोगकी अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले, जीवराम भण्डारी, सम्पादक समाजका अध्यक्ष पुरु रिसाललगायतले नेपाली पत्रकारिता क्षेत्रमा स्व.वियोगीले पु¥याएको योगदानको चर्चा गरेका थिए ।






