स्थानीय तहमा गुनासै गुनासा

कालिकोट । जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका बासिन्दाले जनचाहनाअनुसार स्थानीय तहले काम गर्न नसकेको गुनासो गरेका छन् ।

गाउँपालिकाले जनताका दुःख तथा गुनासा सुन्न नभ्याउने गरेको अधिकांशले बताएका छन् । अन्य समय ‘आफ्ना कुरा राख्न नै नपाइने’ भन्दै उनीहरूले जनप्रतिनिधिसम्मिलित सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो गुनासो गरेका हुन् ।

सान्नित्रिवेणी गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा सहभागी गाउँपालिकाले जनताको आवश्यकताअनुसार काम गर्न नसकेको गुनासो गरे । वडादेखि गाउँपालिकासम्मको विकास निर्माण, सेवाप्रवाहलगायत विषयमा उनीहरूले गुनासो राखे ।

जनताको आकांक्षाअनुसारको विकास निर्माण हुन नसकेको, राजनीतिक आस्थाका आधारमा फरक व्यवहार गर्ने गरेको नागरिकको गुनासो छ । स्थानीय जयबहादुर बुढाले सान्नित्रिवेणी गाउँपालिका–८ माझगाउँमा खानेपानी समस्या रहेकाले समाधान गरिदिन आग्रह गरे । स्थानीय तहले उपभोक्ता समिति गठन गर्दा समेत विभेद गर्ने गरेको उनले आरोप लगाए ।

त्यस्तै, अजयबहादुर बमले गाउँपालिकाले खरिद गरेको डोजरले काम नगरेकाले बनाउनुपर्ने माग राखे । उपभोक्ता समिति गठनपछि भुक्तानी प्रक्रियामा चित्त नबुझेको दुखेसो उनले पोखे ।

कार्यक्रममा हरिशचन्द्र देवकोटाले एकै व्यक्ति इन्जिनियर ओभरसियर वडासचिव भएकाले कर्मचारीको माग गर्न आग्रह गरे । उनले अहिलेका जनप्रतिनिधि सेवक नभएर शोषक भएको बताए ।

सार्वजनिक सुनुवाइमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले तीन वर्षको एकैपटक सार्वजनिक सुनुवाइ गर्न बाध्यता भएको बताए । केही आवश्यक कागजात अख्तियारले लिएकाले समयमै सार्वजनिक सुनुवाइ गर्न नसकिएकोमा उनले क्षमा मागे ।

कार्यक्रममा १ हजार ९५ दिनको एकैदिन सार्वजनिक सुनुवाइ गर्दा केही गाह्रो भए पनि अब सहज तरिकाले सार्वजनिक सुनुवाइ गर्ने लेखापाल मलिम रावतले प्रतिबद्धता जनाए । ‘टुक्रे योजना ल्याएर छर्ने काम भएको छ, दीर्घकालीन फाइदा हुने कामभन्दा पनि जनप्रतिनिधि आफ्नो सेवा सुविधा थप गर्नमा मात्र लागे,’ स्थानीय अजयबहादुर बमले भने । गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले स्थानीय चाहना असीमित हुने भएकाले तत्काल पूरा गर्न नसकिने भए पनि क्रमबद्ध रूपमा विकास, नीति निर्माण र आर्थिक फड्को मार्न योजना ल्याएको दाबी गरे ।

‘काम धेरै गर्नुपर्नेछ, योजना बनाएर काम गर्नका लागि अहिले निरन्तर लागिपरेका छौं,’ उनले भने, ‘निर्वाचनमा गरेका बाचा र जनअपेक्षाअनुसार केही काम सुरु भएको र अन्य योजना सम्पन्न हुने चरणमा छन् ।’

सान्नित्रिवेणी प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाहीले सार्वजनिक सुनुवाइमा जिज्ञासाभन्दा गाउँ विकासका लागि गाउँवासीबाट सुझाव आएको भन्दै सुझाव आगामी नीति निर्माणमा मार्गनिर्देशका रूपमा लिएको बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७३÷७४, ०७४÷७५ र ०७५÷७६ को सार्वजनिक सुनुवाइ एकैपटक गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम सामाजिक अभियान्ता अशोकनाथ योगीले एकैपटकभन्दा पनि आगामी दिनदेखि सूचनाको हक कार्यान्वयन गर्दै सार्वजनिक सुनुवाइमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९