लमजुङ । लमजुङको सुन्दरबजारमा आयोजित ५औँ सुन्दरबजार कप फुटबल प्रतियोगिताको पहिलो उपाधि खहरे युवा क्लव खहरे, तार्कुले हत्याएको छ । लमजुङ क्याम्पसको खेलमैदानमा सञ्चालन भएको फाइनल खेलमा गौलीटार क्षेत्रीय खेलमैदान (राइनास–११) लाई २–० को गोलले हराउँदै खहरे तार्कुको टिमले पहिलो उपाधी हात पार्न सफल भएको हो ।
फाइनल खेलको पहिलो हाफ बराबरी खेलेकोमा दोस्रो हाफको २३ औं मिनेटमा खहरेका संगम ठकुरीले पहिलो गोल गरी खाता खोलेका थिए । लगतै टिम क्याप्टेन सन्तोष गुरुङले २५ औं मिनेटमा गोल थप गरेसंगै ५ औं सुन्दरबजार कपमा खहरे युवा क्लव तार्कुले हात पार्न सफल बनेको हो ।
सुन्दरबजार कपको ५ औं संस्करण सम्म आइपुग्दा यो सहित ३ पटक विजयी हुन सफल भएको छ । च्याम्पियन बनेको खहरे युवा क्लव टिमले २ लाख रुपैयाँसहित कप, जनही मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता गौलीटार क्षेत्रीय खेलमैदान राइनास ११ ले १ लाख रुपैयाँ, जनही मेडल र प्रमाणपत्र प्रदान गरिएको युवा क्लवका अध्यक्ष राजकुमार केसीले बताए ।
प्रतियोगितामा खहरे युवा क्लवका खेलाडी संगम ठकुरी सर्वोत्कृष्ठ खेलाडी घोषित भएका छन् । खहरे युवा क्लवका आश्विन गुरुङ र सन्तोष गुुरुङले सर्वाधिक गोलकर्ताको उपाधी पाएका छन् । उनीहरूले खेल अवधिभर जम्मा ८– ८ गोल गर्न सफल भएको आयोजकको भनाइ छ । उनीहरू तीनै जनालाई नगद ५–५ हजार र प्रमाणपत्र दिइएको छ ।
यसैगरी, प्रतियोगितामा लाङ्दीदेवी युवा क्लव नाल्माले उत्कृष्ट टिमको उपाधीसंगै नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । विजयी टिम र खेलाडीलाई सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, सुन्दरबजार युवा क्लवका अध्यक्ष राजकुमार केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।
लमजुङ क्याम्पस खेलमैदानमा आयोजित ५ औं सुन्दरबजार कप फुटवल प्रतियोगितामा २७ टिमले भाग लिएका थिए । सो प्रतियोगिता एक सातासम्म सञ्चालन भएको आयोजकको भनाइ छ ।






