धन, मन र जीवन

मानव विकासको सभ्यतामा ढुंगेयुगदेखि आजको विज्ञान र प्रविधिको युगसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । आधुनिक समाजको निर्माणसँगै मानिसका आवश्यकता र चाहना बढेका छन् । विज्ञान र प्रविधिको विकासले मानिसको जीवनशैली बदलिएको छ । भौतिक सुविधाको म्याराथनमा समाज गतिशील छ । मानिस धन आर्जन गर्न लालायित छ । जसरी भए पनि धन आर्जन गरी सुविधा सम्पन्न जीवन व्यतित गर्ने चाहनाले मानिसलाई दौडाएको छ । आधुनिक जीवनशैलीसँग जोडिएका आवश्यकताको उपयोग गर्ने लक्ष्यमा धन, मन र जीवन जोडिएको छ । आजको मानिस एकातिर भौतिक सुविधाको उपयोग खातिर धन आर्जनका बाटाहरूको खोजीमा लागेको देखिन्छ भने अर्कोतिर ‘मै खाउँ मै लगाउँ सुख सयल वा मोज म गरूँ’को सोच र अभ्यासमा मानिसहरू अभ्यस्त भएका देखिन्छन् ।

त्यसो त धनबिनाको जीवन कष्टकर हुन्छ । सुविधा सम्पन्न जीवनयापनमा धनको महत्व नभएको होइन, छ । तर, एउटा मानिस वा परिवारलाई कति धन सम्पत्तिको आवश्यकता पर्छ भन्ने कुनै सिलिङ नै छैन । लोभी मनको सीमा हुँदैन भनिन्छ । पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने लोकोक्तिले पनि पैसाको महत्वलाई दर्शाउँछ । पैसाले मनलाई लोभ्याउँछ । पैसाको पछाडिको ऐश, आराम र भौतिक सुविधाले हरेक मानिसलाई आकर्षण गर्नु स्वाभाविक नै ठानिन्छ । तथापि, आज मानिसले पैसाको अगाडि नातागोता, इष्टमित्र, साथीभाइ, बन्धुबान्धव, आमाबुबा, दिदीबहिनी, छरछिमेकीलगायत मानव मूल्यलाई समेत त्यागेको छ । समाजमा धन भएपछि सबै कुरा प्राप्त हुन्छ भन्ने मनको विकास भएको पाइन्छ । यस्तो मानसिक चिन्तन अर्थशास्त्रीय दृष्टिकोणमा अनुचित नभए तापनि मानवीय पक्षबाट हेर्दा व्यावहारिक देखिँदैन । धन नै सबै थोक हो भन्ने निष्कर्ष सत्य होइन ।

पैसा, पैसा, पैसा । पैसाका लागि मानिसले भ्रष्टाचार गरेको छ, बिचौलिया बनेको छ, तस्करी गरेको छ, दलाल बनेको छ, अरूलाई ठगेको छ, ढाँटेको छ, आत्मसम्मान गुमाएको छ । चेलीबेटी बेचविखन, सुन तस्करी, मुद्दा, मामिला आदि मानिसले पैसाकै लागि गरेको छ । धन आर्जनकै लागि समाजले बर्जित गरेका काम गर्न पनि मानिस अगाडि सरेको छ । पैसाकै लागि मुग्लान पसेको छ । अरूको मुलुकमा काम गर्न बसेको छ । रुसमा अर्मी बन्न होस् कि, कुवेतमा भाँडा माँभ्mन होस् । मानिसले पैसा कै लागि घर, परिवार छाडेर परदेसिएको छ । पैसा कमाउनकै लागि दूधमा पानी मिसाएको छ, मानिसले । खाद्यान्न उत्पादन गर्दा विषादी हालेको छ । दाल, चामलमा ढुंगा मिसाएको छ । घिउमा पिँडालु मिसाएको छ । आफन्तसँग रिसाएको छ । पैसा कमाएपछि मनको तृष्णा मेटिन्छ भन्ने असत्यको मार्गमा आजको मानिस लागिपरेको देखिन्छ । पैसा कमाएपछि जीवनमा सफलता भेटिन्छ, जीवन सुखी हुन्छ भन्ने मनको खेलमा लाग्दा जीवनका अन्य कमाइ गुमाएको मानिसले थाहा पाउनै छाडेको छ ।

पैसाका लागि मानिसले नातागोता, इष्टमित्र, साथीभाइ, बन्धुबान्धव, आमाबुबा, दिदीबहिनी, छरछिमेकीलगायत मानव मूल्यलाई समेत त्यागेको छ

कमाइको सम्बन्ध केवल धन कमाउनु मात्र होइन, समाजमा इज्जत, प्रतिष्ठा, संस्कार सुनाम, प्रेम अनि सम्बन्ध पनि कमाउनु हो भन्ने कुरा बिर्सनुहुँदैन । आज समाजमा साधु, सन्तहरूको कुरा सुन्ने कोही छैन । अर्ति, उपदेशहरू लिने र अनुसरण गर्नेहरू भेटिँदैनन् । इमानदार मानिसहरू पछाडि परेका छन् । समाजसेवीहरूको कमी हुँदै गएको छ । व्यापारी, बिचौलिया, व्यापारी, ठेकेदारहरू र भ्रष्टहरू समाजमा निर्देशक भएका छन्, नेतृत्वकर्ता भएका छन् । राजनीतिकर्मी होस् कि डाक्टर, इन्जिनियर, होस् कि निर्माण व्यवसायी, शासक होस् कि प्रशासक हरेक क्षेत्रमा धन कमाउने मन र बदलिँदो जीवनशैलीको मोह देखिन्छ । मानिसले पैसाकै लागि देह व्यापार गरेका छन् । देह व्यापार गराएका छन् । पैसाकै कारण सम्बन्ध विच्छेदका प्रकरणहरू यत्रतत्र, सर्वत्र भेटिन्छन् । किन समाज पैसाको पछाडि अन्धभक्त भएको होला ? किन धनमा मन चोबलेको होला ? के पैसाका लागि गरिने अनेक प्रकारका कर्म र कुकर्मले सम्बन्धित व्यक्तिको मन शान्त छ होला त ? अवस्य छैन । मानिसले सबैलाई ढाँटे तापनि आप्mनो मनलाई ढाँट्न सक्दैन भन्ने गरिन्छ । मनलाई ढाट्नेले शान्ति पाउँदैन ।

सुख, शान्ति र ऐश्वर्यका लागि भनेर कमाउने धनले (जो पैसाका लागि जे पनि गरिरहेको छ) उसको मन प्रशन्न हुनसक्दैन । उसको मन भड्किरहेको हुन्छ । अशान्त र बेचैनको जिन्दगी बाँच्नु भनेको असफल जीवन जिउनु हो । धन आर्जन गरेर पनि जीवन असफल हुन्छ भने किन मानिसले पैसाका लागि जस्तोसुकै कर्म गर्न पछाडि नपरेको होला ? यो दार्शनिक प्रश्नको सवाल एउटै नभए तापनि हरेक मानिसले आप्mनो मनसँग सोध्दा पैसाकै लागि गरिने कुकर्म र तोडिने नाताबाट कोही पनि खुसी हुन नसक्नेमा दुईमत हुनसक्दैन । तसर्थ, जीवनको अर्थ धन आर्जन गर्नु मात्र होइन भन्ने कुरा हरेक मानिसले बुभ्mन सक्नुपर्छ ।

गौतमबुद्धले मूर्ख आपूmले पनि जान्दैन, अरूलाई पनि मान्दैन । ऊ तर्क, शंका, उपहास गरी आप्mनो हात माथि पार्छ, मूर्खको मुर्खता देखेर जब विद्वान् चुप लाग्छ, तब मुर्खले आपूmलाई सफल अनि महान् ठान्दछ भनेका छन् । अहिले नेपाली समाजमा धन आर्जनका लागि जालसाजी गर्ने मनहरूको अवस्था हेर्दा विवेकले भन्दा मुख्र्याइँ र धुत्र्याइँले काम गरेको पाइन्छ । धन आर्जनका जस्तासुकै बाटाहरू अवलम्बन गर्नेहरूलाई गौतमबुद्घको भाषामा मूर्ख भन्न मिल्छजस्तो लाग्छ । पैसा मेहनतबाट पनि कमाउन सकिन्छ । पसिना बगाएर पनि आर्जन गर्न सकिन्छ । पैसा कमाउनका लागि असल काम र मेहनत गर्नेहरू पनि । तिनीहरू महान् हुन्, कर्मयोगी हुन् । तर, पैसा आर्जनका लागि जस्तोसुकै कर्म गर्न पनि पछाडि नपर्नेहरूका कारण समाजमा अनेक विकृति उब्जिएका छन् । सोझा, सिधाहरू ठगिएका छन् । मिटर ब्याजमा ऋण दिएर अरूको सम्पत्ति हडप्नेहरूदेखि सहकारीको बेथिति वा मानव तस्करलगायतका कुकर्म गर्नेहरू विवेकलाई कैद गरेका विवेकहीनहरू हुन् ।

धनका लागि जस्तोसुकै कर्म पनि गर्नुहुँदैन भन्ने कुराबाट समाज प्रशिक्षित हुनुपर्ने बेला आएजस्तो लाग्छ

अहिले समाजमा निःस्वार्थ भई जनहितमा काम गर्ने मानिसहरू हराउँदै गएको अग्रजहरूको गुनासो छ । आप्mनो स्वार्थ सिद्घ गर्नेहरूको बिगबिगी छ । समाजका विभिन्न तह र तप्कामा काम गर्ने व्यक्ति वा व्यक्तित्वहरू पैसाका लागि मात्र काम गरेका हुन् कि जस्तो लाग्छ । राजनीति, प्रशासन, व्यवसायीलगायतका क्षेत्रहरू भ्रष्टाचार र बेथितिको आहालमा डुबेका छन् । पैसाको अगाडि बदनाम हुन पनि पछि नपर्ने व्यक्ति, समाज र मुलुकका निकायहरूको बिगबिगी हुनु भनेको समाज भ्रष्टपथमा जानु हो । हो, धन चाहिन्छ, पैसा कमाउनुपर्छ, आदर्शले मात्र जीवन चल्दैन । तर, धनका लागि सबै जीवनका अन्य महत्वपूर्ण कुराहरू त्याग्नुहुँदैन । जीवनमा धनभन्दा ठूलो सुनाम हो, इज्जत हो, प्रतिष्ठा हो र परिवारजन, इष्टमित्रसँगको सम्बन्ध हो भन्ने कुरा बुभ्mनुपर्छ ।

आध्यामिक चिन्तनबाट मनन गर्दा मानिसले अरूबाट लिनुमा भन्दा दिनुमा आनन्द हुन्छ भन्ने छ । तर, अहिलेको समाजमा धनका अगाडि आध्यात्मिक चेतनाले काम गरेको छैन । मानिसले सबैभन्दा ठूलो धन सम्झेको छ । धनका लागि मरिहत्ते गरेको छ । वास्तवमा धनले सुविधा दिन त सक्ला तर शान्ति दिनसक्दैन । पैसाले राम्रो बिस्तारा त किन्न सकिएला तर निद्रा किन्न सकिँदैन । त्यसैले, धनका पछाडि कुदाउने मनलाई नियन्त्रण गरांै । लोभले लाभ, लाभले विलाप भन्ने लोकोक्तिको भाव बुझौं । भ्रष्टाचार, दलाली, ठगी, तस्करी, मानव बेचबिखनजस्ता कुकर्ममा नलागौं । अपराध कर्मबाट आर्जित धन बेइज्जतको कडी बन्छ । त्यसैले, साधारण जीवन उच्च विचारको अदर्शलाई अनुसरण गरौं ।

अन्त्यमा मानिसमा धन सम्पत्ति कमाउने इच्छा हुनु अस्वाभाविक होइन, स्वाभाविक हो । मीठो खान, राम्रो लगाउन, राम्रो घरमा बस्न, सुख सयलमा रमाउन हरेक मानिसलाई इच्छा हुन्छ । यसमा दुईमत छैन । तर, धनका लागि जस्तोसुकै कर्म पनि गर्नुहुँदैन भन्ने कुराबाट समाज प्रशिक्षित हुनपर्ने बेला आएजस्तो लाग्छ । मेहनत गरेर कमाउने धनको इज्जत बेग्लै छ । पसिना बगाएर कमाउने धनले शान्ति, सुख तथा प्रतिष्ठा दिन्छ, खुसी दिन्छ, आत्मसम्मान मिल्छ । त्यसैले धन, मन र जीवनको मूल्य बुझौं । इमानदार बन्न नचुकौं ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान