काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताले पार्टीको विधान कार्यकर्तालाई मात्रै नभई नेतालाई पनि लागू हुनेगरी निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।
माओवादी कद्धेन्द्रको केन्द्रीय समिति बैठक
माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वलाई नेताहरूले यस्तो सुझाव दिएका हुन् । आगामी १ देखि ३ फागुनमा राजधानी काठमाडौंमा माओवादी केन्द्रले विधान सम्मेलन गर्दै छ । त्यसअघि आइतबार र सोमबार केन्द्रीय समितिको बैठकमा अगामी विधानका ’boutमा छलफल थालिएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले अगामी विधान सम्मेलनबाट पारित हुने विधान सबै नेता तथा कार्यकर्तालाई लागू हुनेगरी निर्माण हुनुपर्ने सुझाव आएको बताए । बैठकमा धारणा राख्ने अधिकांश नेता कार्यकर्ताको सुझावनुसार विधानअनुसार संगठन र नेताहरू पनि अगाडि बढ्नुपर्ने कुरा उठेको उनले जानकारी दिए ।
‘बैठकमा धेरै नेताले आगामी विधान सम्मेलनबाट निर्माण हुने विधान पार्टीका नेतादेखि कार्यकर्ता सबैमा लागू हुनेगरी हुनुपर्ने सुझाव आएको छ,’ केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष बरालले भने, ‘कार्यकर्तामा विधान लागू हुने तर नेतामा लागू नहुनेगरी निर्माण हुने विधानले पार्टी, संगठन कसैलाई फाइदा नहुने भएकाले सबैलाई लागू हुनेगरी विधान निर्माण हुनुपर्छ भन्ने सुझावहरू आइरहेका छन् ।’
माओवादी केन्द्रका सचिव गणेश साहले विधान सम्मेलन, पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’लगायतका विषयमा केन्द्रीय समितिमा छलफल हुने बताए । यही विषयहरूमा केन्द्रित भएर रिपोर्टिङ भइरहेको बताउँदै शाहले अगामी विधान कस्तो हुनुपर्ने लगायतका विषयमा केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल हुने बताए ।
‘हामीले यसअघि स्थायी समितिमा छलफल गरिसकेका छौं, केन्द्रीय समितिमा पनि छलफल गर्दै सोही आधारमा विधान सम्मेलनमा छलफल गर्नेछौं र विधानलाई अन्तिम टुंगो लगाउँदै सोहीनुसार पार्टीका समितिहरू निर्माण गर्दैै प्रभावकारी रूपमा पार्टी सञ्चालन हुनेछ,’ शाहले भने, ‘पार्टीको विधान कस्तो हुने, संगठन निर्माण कसरी गर्ने लगायतका विषयमा अहिले गम्भीर रूपमा पार्टीमा छलफल भइरहेको छ ।’
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची रहेको बताए । बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी विधान सम्मेलनका ’boutमा पनि छलफल हुने उनले बताए ।
माओवादी केन्द्रले चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । त्यस्तै, सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानका ’boutमा जनतालाई जानकारी गराएको थियो । गत १६ भदौदेखि सुरु भएको सो अभियान १७ पुससम्म चलेको थियो ।
माओवादीको केन्द्रीय समिति ४ सय ९ सदस्यीय छ । यस्तै, वैकल्पिक केन्द्रीय सदस्य १ सय ९० जना छन् । यस्तै, सातवटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।
विधान सम्मेलनमा १ हजार ३ सयभन्दा बढी नेता सहभागी हुँदै छन् । पार्टीको विधानलगायतका विषयमा गम्भीर छलफल गर्दै पार्टीलाई अझै गतिशील एवं सांगठनिक रूपमा बलियो बनाउने अभियानमा पार्टी रहेको छ ।
यसअघि बसेको स्थायी समिति बैठकमा नेताहरूले केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाउनुपर्ने सुझाव दिएका थिए । यस्तै, केन्द्रीय समितिको एक तिहाइ हुनेगरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ हुनेगरी स्थायी कमिटी बनाउनुपर्ने प्रस्ताव गरिएको छ । पार्टीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष राख्न भनिएको छ । केन्द्रीय पदाधिकारीको संख्या पनि बढी भएको बताउँदै नेताहरू सोको संख्या घटाउनुपर्ने पक्षमा रहेका छन् ।






