राजेन्द्र महतोले छाडे लोसपा


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । लोसपा परित्याग गरेका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री महतोले ‘राष्ट्रिय मुक्ति अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

‘राष्ट्रिय मुक्ति अभियान’ सञ्चालन गर्ने

काठमाडौंमा सोमबार विशेष पत्रकार सम्मेलन आयोजना गर्दै महतोले लोसपा परित्यागको घोषणाका साथै राष्ट्रिय मुक्ति अभियानको घोषणा गरेका हुन् । दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, अनिल झालगायतका नेताले लोसपा गठन गरेका थिए ।

हालै लोसपाको केन्द्रीय समिति विस्तारमा अध्यक्ष ठाकुरले मनोमानी गरेको, ठाकुरको परिवारवाद हाबी भएको, पूर्वकांग्रेसीलाई महत्व दिएको र पूर्वसद्भावनालाई ठाउँ नदिएको भन्दै महतो असन्तुष्ट थिए । पार्टीलाई सक्रिय बनाउन नसकेको आरोप महतोले ठाकुरमाथि लगाउँदै आएका छन् ।

यसअघि नै महतोले नयाँ दल गठन गर्ने तयारी गरेका थिए । पार्टीमा बहुमत पु¥याएर पार्टी नै विभाजन गर्ने योजना भए पनि उनी अन्ततः अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् । अभियान सञ्चालन गर्दै अगाडि बढ्ने र २०८४ सालको निर्वाचन अघि नै दल गठन गर्ने महतोको तयारी छ ।

गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीति सुरु गरेका महतो आफ्नै नेतृत्वमा सद्भावना पार्टीसमेत गठन गरेका थिए । महतोले विभिन्न मधेसवादी दलसँग एकीकरण गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गरेका थिए । यो राजपा गठन गर्दा विभिन्न ६ वटा मधेसवादी दल एकैचोटी एकीकरणमा सहभागी भएका थिए । राजपा र उपेन्द्रको पार्टीसँग एकीकरण गरेर जसपामा निर्माण भएको थियो । पछि जसपा पनि विभाजन भएर लोसपा गठन भएको थियो । लोसपामा ठाकुर र महतोबीच निरन्तर संघर्ष हुँदै आएको थियो ।

‘देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाइ देशका सबै वर्ग, समुदाय, धर्म, जात–जाति, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्न विगतमा जस्तै’ फरकफरक क्षेत्रका जनता एक्लाएक्लै लडेर नहुने महतोको भनाइ छ ।

उनले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘अब एकलएकल रूपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पीडा र असफलताबाट सवक लिँदै ‘फुटाउ र राज्य गर’ शासकीय नीतिविरुद्ध ‘जुटौं र आप्mनो सत्ता हासिल गरौं’ अभियान तह सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्तिका लागि क्रान्ति गर्नुको विकल्प नै रहेन ।’

उनले यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने तर्क गरेका छन् । उनले आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै नभएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा महतोले आफ्नो नेतृत्वको यो अभियानमा ‘पूर्वपार्टी’ लोसपालगायत अन्य सबै पार्टी पनि जोडिने विश्वास व्यक्त गरे । अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेन्डामा सहमत भएका जोसुकै यसमा जोडिन सक्ने बताए । ‘यो अभियान हो, यसले पार्टीको रूप ग्रहण गरिसकेको छैन’ यससँग विचार मिल्ने जोसुकै जोडिन सक्छन् । मेरो पूर्वपार्टी लोसपालाई पनि मैले आह्वान गरिसकें । लोसपा पनि आओस् यो अभियानमा ।’

महतोले ‘कुनै पार्टी वा दलबाट राष्ट्रिय मुक्ति क्रान्ति सम्भव नभएको’ भन्दै बहुल राष्ट्रिय राज्यमा कांग्रेस, माओवादी, जसपा, लोसपालगायत सबै दल र तिनका नेता पनि सहभागी हुन सक्ने बताएका छन् ।

उनले सञ्चालन हुने क्रान्तिले नै नयाँ पार्टीको नाम निर्धारण गर्ने बताए । अहिलेसम्म फुटाउ र राज गरको नीतिअन्तर्गत आफूमाथि शासन भएको भन्दै उनले अब विद्रोह गर्ने बताए । उनले भने, ‘सबै आन्दोलन यो स्वदेशवादमा समाहित हुने हो । बहुल राष्ट्रिय राज्य निर्माणका लागि सबै आउँछन् । मधेसवाद, थरूहट र सबै जनजातिवाद एक ठाउँमा आउँछन् ।’

अभियानको घोषणा गर्नुभन्दा अघि महतो समूहले आफू निकटका नेताकार्यकर्तासँग छलफल गरेका थिए । तराई मधेसका जिल्लामा आन्तरिक छलफलपश्चात् महतो समूहले अभियानको घोषणा गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध