मिहिनेतको धन

नीति कथाअनुसार बाबु बूढो भइसकेका थिए । उनलाई अबका दिनमा आयआर्जन गरूँला र धनसम्पत्ति कमाउँला भन्ने आशा पनि थिएन । बरू हुर्किबढिसकेको आफ्नो छोराले आय आर्जनका लागि सही बाटो समाउला कि नसमाउला भन्ने चिन्ता थियो ।

उनी सधैं छोरालाई आफूले मिहिनेत गरेर कमाउने र त्यही कमाइले बाँच्ने कुरा सम्झाइरहन्थे । छोराले बाबुको कुरा काट्न र नाइ भन्न नसके पनि अह्राएको काम भने मान्दैथ्यो । अल्छी थियो, खाना भने उसलाई मीठो चाहिने ! कपडा पनि राम्रो नै चाहिने !

एक दिन बाबु निकै अशक्त अवस्थामा देखिए । उनले छोरालाई बोलाएर केही न केही इलम वा मेहनत गरेर पैसा कमाई आफ्नो हातमा राखिदिन भने । तर, बाबुको सर्त थियो, यो पैसा मिहिनेत र पसिनाको कमाइ हुनुपथ्र्यो । बाबुको अन्तिम अवस्था देखेर छोरो निकै दिक्दार भयो ।

ऊ पैसा कमाउन भनेर हिँड्यो । यसका साथीहरू पनि थिए, ती सबै पाकेटमार समूहमा बस्थे । दिनमा सबैले पाकेट मारेर पैसा ल्याउने र बाँडिचुँडी खाने गर्थे । त्यस दिन अशक्त बिरामी बाबुको अनुहार देखेर कमाउन गएको छोरा पनि सामेल भयो, पाकेटमार समूहमा ।

साथीहरूले ठूलो राशि हात पारे त्यसै दिन । उसको कुरा सुनेका साथीहरूले त्यस दिनको खाना खर्चबाहेक सबै पैसा उसको बाबुका लागि दिए । ऊ पैसा लिएर घर पुग्यो । त्यसपछि नोटका गड्डी देखाउँदै बाबुलाई भन्यो, ‘मैले मिहिनेत गरेर पैसा कमाएर लिएर आएको छु ।’

बाबुले त्यो पैसा हातमा पर्नासाथ दनदनी बलिरहेको आगोमा फ्याँकिदिए । नोट जलिरहँदा पनि छोरो भने कम्मरमा हात लगाएर आश्चर्य मानेर हेरिरह्यो । सारा नोट जलेर सखाप भयो । बाबुले भने, ‘मलाई कमाइको पैसा चाहियो, मिहिनेत र परिश्रमको पैसा चाहियो ।’

छोरो अर्को दिन बाहिर निस्कियो । उसले त्यस दिन पनि साथीहरूसँग भनेर केही थोरै पैसा लिएर आयो र बाबुको हातमा राखिदियो । आज पनि बाबुले त्यो पैसा बलिरहेको अगेनुमा हालिदिए । पैसा जलेर खरानी भयो । यसपटक छोरो अलि रिसायो । बाबु भने शान्त र गम्भीर मुद्रामा छोरोलाई हेरिरहेका थिए ।

आमाको सल्लाह र वचनअनुसार तेस्रो दिन पनि छोरो पैसा कमाउन हिँड्यो । साथीलाई भेटेर सबै कुरा सबिस्तार सुनायो । साथीहरूले उसलाई अब सहयोग गर्न नसकिने घोषणा गरे । ऊ जहाँ गएर जे काम पाइन्छ, त्यही गरी कमाएर लैजाओस् भनी हूल बाँधेर हिँडे । ‘किंकर्तव्यविमूढ’ भएको ऊ पनि बजारतिर लाग्यो ।

एक ठाउँमा फोहरको नाला खनिरहेको देख्यो । मजदुर निकै मिहिनेत गरेर काम गरिरहेका थिए । उसलाई बलियो देखेर काम लगाउने निधो गरे मजदुरहरूले ! पहिलो दिन, दोस्रो दिन र तेस्रो दिन काम गर्दा मात्र ठेकेदार आइपुग्यो । उसले दैनिक ज्याला वितरण ग¥यो । उसले मुस्किलले ५० रूपैयाँ पायो, तीन दिनको काम गरेको खर्चबापत् ।

ऊ त्यसपछि यो पैसा लिएर घर गयो । बाबु अन्तिम अवस्थामा उसको पर्खाइमा थिए । छोरोलाई झुत्रेझुम्रे र थकित देखेर उनको अनुहारमा केही क्षण उज्यालो छायो । उनले छोरालाई नजिक आउन इशारा गरे । दुवै हात थापे, बोल्नसक्ने अवस्था थिएन । छोराले अप्ठेरो मान्दै ५० रुपैयाँ गोजीबाट झिकेर बाबुको हातमा राखिदियो ।

बाबुले आफूअगाडि रहेको आगोको फिलुंगामाथि त्यो पैसा फ्याँकिदिए । बाबुले फेरि पनि यसै गर्ने होलान् भनी सतर्क रहेको छोराले हत्त न पत्त त्यो रुपैयाँ जल्न नदिई आगोबाट बाहिर झिक्यो । यसो गर्दा उसको हात केही जलेको पनि थियो । बुबाले उसलाई नजिक आउन इशारा गरे । छोरालाई अँगालो हालेर सुम्सुम्याए पनि । बोल्नसक्ने अवस्था थिएन ।

आमाले बाबुको आशय शब्दशब्दमा अभिव्यक्त गरिदिइन्, ‘छोरा, तिमीलाई बाबाले आफूले परिश्रम गरी कमाएको पैसाले जीवन धानोस् भन्ने चाहनुभएको छ, बाबुको यो चाहना अन्तिम दिनमा आएर तिमीले पूरा गरिदियौं, यसलाई जीवनभर अपनाऊ ।’

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन