काठमाडौं । अभिनेत्री नीति शाहलाई चलचित्र रावायणबाट हटाइएको छ । उनले आफूलाई सो चलचित्रबाट बिनाजानकारी हटाइएकोमा दुःख व्यक्त गरेकी छन् । आइतबार चलचित्र खजुरे ब्रोको एउटा गीत रिलिज कार्यक्रममा बोल्ने क्रममा यी अभिनेत्रीले यस्तो दुःख व्यक्त गरेकी हुन् ।
सुदर्शन थापाको निर्देशनमा अर्को साताबाट छायांकन हुन लागेको रावायणमा नीति शाहको ठाउँमा अर्की अभिनेत्री पूजा शर्मालाई अनुबन्धित गरिएको छ । चलचित्रमा निर्माताका रूपमा समेत पूजा शर्मा भित्रिएकी छन् । यस्तै, यो चलचित्रबाट अनमोल केसी हटेपछि अनमोलको ठाउँमा अर्का अभिनेता पल शाहलाई अनुबन्धित गरिएको छ ।
चलचित्रमा नायिकाका रूपमा पूजा शर्मा अनुबन्धित भएको जानकारी पाएपछि नीति शाहले दुःख व्यक्त गरेकी हुन् । चलचित्र रावायणकै लागि भनेर आफूले भारतमा गएर अभिनय सिकेर आएको बताएकी छन् । तर, त्यो चलचित्रमा अहिले आफू नहुँदा दुःख लागेको यी अभिनेत्रीको कथन रहेको छ । चलचित्रबाट आफू किन हटाइएको भन्ने’bout आधिकारिक जानकारीसमेत नआएको यी अभिनेत्रीले बताएकी छन् ।
चलचित्र रावायणको छायांकन तोकिएको समयमा हुन नसहेपछि आफू नयाँ चलचित्र खजुरे ब्रोमा अनुबन्धित भएको पनि नीतिले बताएकी छन् । अब खजुरे ब्रो नै नीतिका पहिलो चलचित्र हुने भएको छ ।
मिस नेपालको रनर अप हुँदै चलचित्रमा आएकी नीति पहिलो चलचित्र रिलिज नहुँदै अरू आधा दर्जन चलचित्रमा अनुबन्धित भइसकेकी छन्, ‘मलाई यसअघि नीति शाहले चलचित्रमा हस्ताक्षर मात्र गर्ने तर उनको चलचित्र छायांकन नहुने भन्ने आरोप पनि लागेको थियो । खजुरे ब्रो रिलिज हुने भएपछि यो आरोप मेटिएको छु र यसपछि पनि म केही चलचित्रमा अनुबन्धित भइसकेको छु,’ अभिनेत्री नीतिले भनिन् ।
यसैबीच चलचित्र खजुरे ब्रोको नयाँ गीत लभ गर्ने मान्छेको भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । यो गीतको भिडियो भट्टीको सेटिङमा छायांकन गरेर तयार पारिएको छ । भिडियोमा यो चलचित्रका रियर राई, महेश त्रिपाठीका साथमा अन्य कलाकारले अभिनय गरेका छन् ।
यो गीतमा अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ । यस्तै, गीतमा संगीतकार अनमोल र अनुपम गुरुङसँगको संयुक्त स्वर दिएका छन् ।
वैशाख २८ गते रिलिज हुने सिनेमाका लेखक–निर्देशक सुरज सुनुवार हुन् । यो चलचित्रमा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बू, दीपचन्द्र राई (कान्छी)लगायतको अभिनय रहेको छ ।
चलचित्रको निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन् । अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् भने डायमन्ड उप्रेती कार्यकारी निर्माता रहेका छन् । यसमा शिशिर विशंखेको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।






