राजनीतिक अपराधीको कार्यशैली र विशेषता

एमओ अर्थात् ‘मोड्स अप्रेन्डी’ले फौजदारी मुद्दामा अपराधीले अपराध कसरी ग¥यो ? भन्ने विविध पक्ष सम्बद्ध तथ्यगत विवरणलाई पहिचान गर्छन् । अर्को शब्दमा भन्नुपर्दा मोड्स अप्रेन्डीले अपराधीको व्यवहार र कार्यशैलीलाई विवेचनात्मक ढंगले मूल्यांकन गरी निष्कर्ष निकाल्छ । अपराधको प्रकृति र अपराधीको व्यवहार र कार्यशैलीनुसार सबै अपराधको मोड्स समान हुँदैन । फरकफरकै हुन्छ । तर, एकै व्यक्ति वा एउटै समूहबाट हुने विभिन्न आपराधिक घटनामा भने अधिकांश मोड्स अप्रेन्डी समान हुनसक्छ । मोड्स अप्रेन्डीले भविष्यमा घट्नसक्ने अन्य आपराधिक घटना कुन व्यक्ति वा समूहले ग¥यो ? भन्ने कुरा पहिचान गर्न सहयोग पु¥याउने भएकाले अनुसन्धानमा यसको विशेष महत्व हुन्छ ।

आपराधिक घटनाको अनुसन्धान समाप्त भएपछि मोड्स अप्रेन्डी अर्थात् अपराध कार्यविधिको अभिलेख अनुसन्धानकर्ताले कार्यालयमा राख्नुपर्छ । यसरी राखिने अभिलेख नै पछिका अनुसन्धानकर्ताका लागि मार्गदर्शक बन्छ । एमओ अभिलेखको मुख्य उपयोगिता नै विगत र वर्तमानका आपराधिक घटनालाई तुलनात्मक रूपले हेर्ने, अध्ययन गर्ने र त्यसैका आधारमा पछिल्लो अपराधको कसुरदार पहिचान गर्ने हो । तुलनात्मक रूपमा हेर्दा, कार्यविधि समान पाइएमा विगतकै घटनामा फरार अपराधी नै पछिल्लो अपराधमा संलग्न रहेको पुष्टि हुने भएकाले कारबाही गर्न सकिन्छ । अधिकांश व्यक्तिहरू आफ्नै बानीको दास हुन्छन् भन्दा कतिपयलाई आश्चर्य लाग्नसक्छ । तर, यो व्यावहारिक यथार्थता नै हो । किनकि, बाल्यावस्थादेखि लागेको बानी बिरलै व्यक्तिले मात्र त्याग्न सक्छन् । अधिकांशले निरन्तरता दिएकै हुन्छन् । चोरी, डकैती, मानव तस्करी, हत्या, हिंसा, बलात्कारी एवं भ्रष्टाचारी सबैको एमओ वा आपराधिक कार्यशैली फरक हुन्छ ।

अपराधको कार्यशैली फरक भएजस्तै अपराधीलाई पनि अपराध शास्त्रीहरूले वर्गीकृत गरेका छन् । सामाजिक वातावरणनुसारको तत्कालीन अपराध प्रवृत्तिनुसार अपराधीलाई क्रमशः पेसेवर अपराधी, आवेश प्रेरित अपराधी बाध्यात्मक अपराधी, बाल अपराधी, आदती अपराधी र मनोविकृत अपराधी गरी ६ वर्गमा विभाजित गरिएको भए पनि अहिलेको परिप्रेक्ष्यमा यस वर्गीकरणले सबै प्रकारका अपराधीलाई समेटेको देखिँदैन । यसका अतिरिक्त अन्य समसामयिक मानसिकताका नयाँ अपराधी पनि समाजमा देखापर्दै आएका छन् । नयाँ वर्गमा पर्ने अपराधीमा सबैभन्दा चर्चित बन्न पुगेका अपराधी राष्ट्रघाती राजनीतिक अपराधी नै हुन् । जसलाई पदीय दायित्वधारी विशिष्ट अपराधीका रूपमा सातौं वर्गमा समावेश गर्नुपर्छ ।

यहाँ राष्ट्रघाती राजनीतिक अपराधीलाई नै चर्चाको विषय बनाइएको हुँदा यसलाई पनि राजनीतिक आपराधिक मानसिकताकै आधारमा खण्डीकृत गरी तिनीहरूको मोड्स अप्रेन्डी वा आपराधिक कार्यशैली र विशेषताकै ’boutमा संक्षिप्त चर्चा गरिएको छ । मुलुकको विद्यमान राष्ट्रिय राजनीति नै बहुरूपी बनिसकेको छ । यसक्रममा कतिपय व्यक्तिहरूले इमानदारिताका साथ सैद्धान्तिक एवं सेवामुखी राजनीति पनि गर्दै आएका छन् । उच्च श्रेणीमा पर्ने यस्तो राजनीतिज्ञको संख्या पनि क्रमशः घट्दै गइरहेको छ । तर, सिद्धान्त र सेवाको राजनीति गर्ने यही समूहका राजनीतिकर्मीलाई राष्ट्रिय राजनीतिमा छायामा पारिँदै ल्याइएको छ । राष्ट्रिय राजनीति नै दुर्गन्धित बन्नुको मुख्य कारण पनि यही हो ।

दोस्रो समूहमा पर्ने राजनीतिज्ञ ‘सिद्धान्त र स्वार्थ मिश्रित’ अवसरवादी राजनीतिज्ञ हुन् । जसलाई हामी सेमिदृष्टीधारी राजनीतिकर्मीका रूपमा पनि चिन्छौं । यस वर्गका राजनीतिज्ञले अक्सर गरी सैद्धान्तिक राजनीति नै गर्ने भए पनि लाभको अवसर पाएमा पछि नपर्ने प्रवृत्तिका हुन्छन् । मिक्सिङ प्रवृत्तिका राजनीतिज्ञको मानसिकता दृढ र अटल प्रकृतिको हुँदैन । यसैगरी, तेस्रो समूहमा पर्ने राजनीतिकर्मी सुखी र सभ्रान्त बन्ने सपना बोकेका नकावधारी राजनीतिज्ञ छन्, जसले राजनीतिलाई आर्जनकै पेसा बनाएका हुन्छन् । यस्ता राजनीतिकर्मीले मुलुक र जनताको हितलाई भन्दा आफ्नै हितलाई सर्वोपरी ठान्छन् । यही समूहका राजनीतिकर्मीले राष्ट्रिय राजनीतिलाई दुर्गन्धित बनाउँदै ल्याएका छन् । स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म अहिले यी तिनै समूहका राजनीतिकर्मीको बाहुल्यता छ ।

चोरी, डकैती, मानव तस्करी, हत्या, हिंसा, बलात्कारी एवं भ्रष्टाचारी सबैको आपराधिक कार्यशैली फरक हुन्छ

तेस्रो वर्गका नाकावधारी राजनीतिकर्मीलाई पनि विभिन्न भेषमा देख्न सकिन्छ । कोही वरिष्ठ उद्योगपतिका रूपमा, कोही उच्चस्तरीय तस्करकै रूपमा, कोही ठूला व्यापारीकै रूपमा, कोही निर्माण व्यवसायीका रूपमा, कोही ठेकेदारका रूपमा तथा कोही बिचौलियाकै भूमिकाका रूपमा राजनीतिमा सरिक भएका छन् । यस्तै, राजनीतिकर्मीका लागि लोकतन्त्र अहिले फलिफाप बन्दै आएको छ । यस समूहका अधिकांश राजनीतिकर्मीको प्रमुख उद्देश्य नै आर्जन हो । यसका अतिरिक्त कतिपयले आफ्नै सक्कली पेसा वा व्यवसायको बहुपक्षीय दीर्घकालीन हितलाई दृष्टिगत गरी राजनीतिमा आबद्ध हुन्छन् । चर्चित उद्योगपति नै यसको दृष्टान्त बन्दै आएको विदितै छ । स्वार्थको विनिमय गरेर शीर्षस्थ नेता रिझाइँ राजनीतिमा लाग्ने यस्ता नकावधारी राजनीतिज्ञ आफ्नो स्वार्थ पूरा गरेपछि नै राजनीतिबाट अलग्गिन पनि सक्छन् ।

नकावधारी राजनीतिज्ञको राजनीतिक गतिविधि निःस्वार्थ सेवामा केन्द्रित हुँदैन । यस्तै व्यक्तिले सर्वसाधारण मतदातादेखि कार्यकर्ता मात्र होइन, उच्च पदस्थ राष्ट्रसेवकदेखि संवैधानिक निकायका पदाधिकारी एवं अदालतकै न्यायमूर्तिलाई प्रभावित बनाउँछन् । यस्तो धनबलका आवरणधारी राजनीतिज्ञमा प्रसिद्ध उद्योगपति, सभ्रान्त व्यक्ति उच्चस्तरीय तस्कर तथा ‘ए’ ग्रेडका ठेकेदारहरू पर्छन् । यस्ता व्यक्तिको राजनीति प्रवेश नै नगद र स्वार्थको विनिमयमा भएको हुन्छ । यस्तै, अप्राकृतिक विनिमयले नकावधारी राजनीतिज्ञलाई छोटो अवधिमै विशेष पद वा स्थान पनि दिलाउँछ । दलीय शीर्षस्थ नेताबाट उनीहरू संरक्षित भरहन्छन् । शीर्षस्थ नेताकै छात्रछायामा नकावधारी राजनीतिज्ञले आफ्नो पेसा वा व्यावसायिक स्वार्थलाई पूरा गरेका हुन्छन् । यस वर्गमा पर्ने राजनीतिज्ञहरू नै कतिपय चर्चित राष्ट्रघाती अपराधमै संलग्न भएको दृष्टान्त पनि एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ ।

स्वच्छ, पारदर्शी र सिद्धान्तवादी राजनीतिमा संलग्न हुने कतिपय उच्च पदस्थ राष्ट्रसेवक, उच्च पदस्थ सुरक्षाकर्मी तथा लोकप्रियता आर्जनकै लागि राजनीतिमा लाग्ने केही व्यक्तिको विगतको पृष्ठभूमि स्वच्छ र पारदर्शी भए पनि दूषित राजनीतिक वातावरणकै प्रभावमा पछि नकारात्मक भएको दृष्टान्त पनि नभएको होइन । तथापि, यस पृष्ठभूमिका अधिकांश राजनीतिकर्मी भने स्वच्छ नै छन् । यस्तै, स्वच्छ व्यक्तिले आफ्नो निष्कलंक व्यवहार र कार्यशैलीलाई निरन्तरता दिँदै गए यिनीहरू उपरको जनआस्था र विश्वास सुदृढ बन्दै जान्छ । यस पृष्ठभूमिमा उनीहरूको राजनीतिक भविष्य पनि उज्वल हुन्छ ।

यसैगरी, विद्यार्थी जीवनदेखि नै राजनीतिमा संलग्न रहँदै आएका केही सीमित व्यक्तिले अध्यावधिक राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निभाउँदै आएका छन् । यस समूहका राजनीतिकर्मी वास्तविक सिद्धान्तवादी राजनीतिज्ञ मानिन्छन् । उनीहरू प्रायः गरी अधिकांश नै आशलाग्दा दोस्रो पुस्ताका राजनीतिज्ञका रूपमा चिनिँदै आएका पनि छन् । उनीहरूको कार्यशैली र व्यवहार निष्कलंक भएसम्म उनीहरूको राजनीतिक भविष्य उज्वल एवं मुलुकका लागि लाभदायक बन्नसक्छ । यसका अलावा समाजका विविध पेसामा लोकप्रियता आर्जन गरेकै व्यक्ति राजनीतिमा आबद्ध हुनेक्रम पनि बढ्दै छ । लोकप्रिय व्यवहार र कार्यशैलीकै पृष्ठभूमि उनीहरूको राजनीतिक मेरुदण्ड मानिन्छ । आस्था र विश्वासकै धरोहर मानिने यी राजनीतिकर्मीको निष्कलंक व्यवहारलाई प्रस्फुटित गराउने वातावरण समाज र राज्यले नै मिलाउनुपर्छ । यिनीहरूलाई छायामा राख्ने प्रयास कोही कसैले पनि गर्नुहुँदैन ।

विद्यार्थी जीवनदेखि राजनीतिमा संलग्न केही व्यक्तिले अध्यावधिक राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निभाउँदै आएका छन्

माथि वर्गीकृत राजनीतिकर्मीमध्ये राजनीतिक अपराधमा मुछिएका चर्चित उद्योग व्यवसायी, तस्कर, भ्रष्ट, ठेकेदार तथा राजनीतिलाई आर्जनको पेसा ठानेर आबद्ध भएका बिचौलिया नै राष्ट्रघाती कार्यमा संलग्न छन् । यस्तै, राष्ट्रघाती राजनीतिक अपराधीले राज्यसंयन्त्रदेखि न्यायमूर्ति मात्र होइन राष्ट्रिय राजनीतिलाई नै पकडमा राखी स्वार्थमा प्रयोग गर्दै ल्याएका छन् । बालुवाटार जग्गा हिनामिना प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना, सुन तस्करी, बाइडबडी विमान खरिद प्रकण, सेक्युरिटी प्रेस खरिद प्रकण, नेपाल ट्रस्टको जग्गा लिजमा दिएको अवस्था यस्तै चर्चित राजनीतिक अपराधीबाट भएका राष्ट्रघाती कार्यका दृष्टान्त हुन् ।

राष्ट्रघाती राजनीतिक अपराधीको अपराध कार्यशैली कस्तो हुन्छ ? यस’boutमा राष्ट्रिय गौरवको परियोजनाकै एक सामान्य दृष्टान्तलाई हेरौं । राष्ट्रिय गौरवका परियोजनाभित्र विमानस्थल, सडक, महत्वपूर्ण संरचनाहरू पर्छन् । यस्ता महत्वपूर्ण संरचना अधिकांश त दातृ निकायबाटै निर्माण भएका हुन्छन्, त्यसमध्येको केही लागत प्रतिशत राज्यका तर्फबाट बेहोरिन्छ । यस्ता परियोजना कुन अन्तर्राष्ट्रिय संघसंस्थाका तर्फबाट कहिलेसम्म ? निर्माण प्रारम्भ गर्ने लक्ष्य छ ? भन्ने कुरा नकावधारी राजनीतिज्ञमध्येकै तस्कर, भ्रष्ट, ठेकेदार, बिचौलियाका लागि कौतुलताको विषय बन्छ । यसका साथै यिनीहरू उच्चस्तरीय पदाधिकारी हुँदै मन्त्रालयको नेतृत्व एवं प्रधानमन्त्रीसम्म नै रिझाउने प्रतिस्पर्धामा लाग्छन् । संरचना निर्माणको दायित्व स्वदेशी, विदेशी कुन कम्पनी वा संस्थालाई दिने ? त्यसको प्रमुख व्यक्ति को हो ? उसलाई कसरी हातमा लिने ? उसबाट संरचना निर्माणमा कति लाभ प्राप्त हुनसक्छ ? कतिसम्मको लागत अनुमान आफ्ना लागि फलदायी हुन्छ ? यस’boutमा राजनीतिक अपराधीको मुख्य चासोको विषय बन्छ ।

यी सबै कुरा मिलाइसकेपछि मात्र निर्माण हुने परियोजनाको सार्वजनिक रूपमा बोलपत्र आह्वान हुने गर्छ । सम्पर्क भइसकेका बाहेक अन्य विभिन्न व्यक्ति वा संघसंस्थाको बोलपत्र परे पनि अन्ततः अग्रीम सहमति भएकै कम्पनी वा संस्थालाई निर्माणको जिम्मा दिइन्छ । अख्तियारी पाएको निर्माण कम्पनीले पनि कार्य प्रारम्भ गर्ने बहानामा अग्रीम भुक्तानी लिइहाल्छ र पूर्वसर्तनुसारकै रकम ठेक्का प्रदान गर्ने पदाधिकारीदेखि राजनीतिक नेतृत्वसम्मलाई बाँड्छ । यस्तै परियोजना वर्षौं अलपत्र हुन्छन् । ठेकेदारलाई राज्यले नै कारबाही गर्न सक्दैन । उल्टै ठेकेदारले ऐन कानुन नै संशोधन गराई आफ्नो अनुकूल बनाउँछ । आमनागरिक भने सुविधाविहीन हुन्छन् । यो अहिलेको निर्माण कार्यको मुख्य विशेषता नै हो ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी