धनगढी । कैलालीको धनगढीमा एकीकृत फोहरमैला ब्यवस्थापन केन्द्र बन्ने भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ पटेलाको राष्ट्रिय वनभित्र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बन्ने भएको हो ।
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि धनगढी उपमहानगरपालिकाले जग्गाको भोगाधिकार प्राप्त गरेको छ । उपमहानगरपालिकाले वन विकास कोषमा सट्टाभर्ना जग्गा बापत र वृक्षरोपण बापतको रकम तथा कटान हुने रुखको वृक्षारोपण बापतको रकम जम्मा गरेपछि जग्गाको भोगाधिकार पाएको हो ।
यसअघि उपमहानगरले जग्गाको भोगाधिकार पाउन नसक्दा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम ठेक्का भइसक्दा पनि अघि बढ्न सकेको थिएन । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत एडीबीको ऋण सहयोगमा निर्माण हुने धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका कारण रोकिएको थियो ।
गोदावरी र शुक्लाफाँटा नगरपालिकाले तिर्नुपर्ने रकम समेत धनगढीले तिरिदिएपछि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि धनगढी उपमहानगरपालिकाले जग्गाको भोगाधिकार प्राप्त गरेको बताइएको छ । उपमहानगरपालिकाले जग्गाको भोगाधिकार पाउन नसक्दा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का एक वर्ष अगाडि नै भइसक्दा पनि काम अगाडि बढ्न सकेको थिएन ।
धनगढीले पछि सोधभर्ना हुने गरी गोदावरी र शुक्लाफाँटा नगरपालिकाको रकम वन विकास कोषमा तिरिदिपछि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको काम सुरु भएको धनगढी उपमहानगरले जनाएको छ । धनगढी उपमहानगरले पछि सोधभर्ना हुने गरी गोदावरी नगरपालिकाको ३२ लाख २६ हजार ८२७ र शुक्लाफाँटा नगरपालिकाको १२ लाख ७० हजार ५७८ गरी ४४ लाख ९७ हजार ४०६ रुपैयाँ वन विकास कोषमा जम्मा गरिदिएर जग्गाको भोगाधिकार प्राप्त गरेको हो ।
अब पटेलाको राष्ट्रिय वनभित्रको २२ हेक्टर क्षेत्रफल जग्गा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि वन मन्त्रालयले धनगढी उपमहानगरलाई जग्गाको भोगाधिकार दिइसकेको छ । साथै फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अघि बढेको धनगढी नगर प्रमुख गोपाल हमालले बताए ।
वन क्षेत्रको जग्गा लिए बापत वन विकास कोषमा जम्मा गर्नुपर्ने कुल रकमको १० प्रतिशत रकम सम्बन्धित पालिका र बाँकी ९० प्रतिशत रकम एडीबीले तिर्ने प्रावधान छ । जग्गाको भोगाधिकार पाएसँगै धनगढीको पटेलामा ९६ करोड ८२ लाख ३९ हजार ६ सय ४६ रुपैयाँ ६३ पैसा लागतमा २२ हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुनेछ ।
धनगढीको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निर्माणको लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स दुई वर्षअघि सम्झौता भइसकेको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए । उनले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणस्थल पटेलामा २ हजार ६ सय ३ रुख काटिने बताए ।
एकीकृत फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार कुहिने र नकुहिने फोहोरलाई छुट्याएर मात्र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा विसर्जन गरिनेछ । धनगढीमा दैनिक १२ देखि १६ टन फोहर संकलन हुँदै आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।






