खोटाङ । शरीर कक्राककुक्रुक भएर डल्लो परेपछि कष्टपूर्ण जीवन बिताइरहेका खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे तल्लो माबेका २८ वर्षीय डुकेन्द्र श्रेष्ठको सहयोगार्थ साँढे तीन लाखभन्दा बढी रकम संकलन भएको छ ।
दुबै खुट्टा कक्रक्क खुम्चिनुका साथै मुन्टो नै उठाउन नमिल्ने समस्याबाट विगत १७ वर्षदेखि पिडित डुकेन्द्रको उपचारका लागि गत फागुन ३ गतेदेखि चैत १९ गतेसम्ममा ३ लाख ५१ हजार ५६५ रुपैयाँ संकलन भएको हो । खर्च अभावमा लामो समयसम्म दर्दनाक अवस्थामा घरैमा थलिएर बसेका डुकेन्द्रको उपचारका लागि हाल कतारमा रहेका दिलीप श्रेष्ठले गत फागुन ३ गतेदेखि ‘डुकिन्द्र श्रेष्ठ बचाउ अभियान’ सुरु गरेका हुन् ।
कमजोर आर्थिक अवस्थाका डुकिन्द्रको उपचारका लागि सहयोग जुटाउने अभियान उठाउने क्रम जारी छ । सहयोग रकम आफन्त पेशलमान श्रेष्ठको नाममा लक्ष्मी सनराइज बैंकमा खोलिएको खाता नम्बर ०९४०५३८२०३२०५००१ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । अभियान्ता दिलीपका अनुसार डुकिन्द्रको सेक्ने मेसिन खरिदमा मात्रै चारदेखि छ लाख खर्च आवश्यक छ ।
डाक्टरले भारतमा लगेर उपचार गर्दा निको हुने परामर्श दिए अनुसार ‘डुकिन्द्र श्रेष्ठ बचाउ अभियान’ सुरु गरिएको दिलीपले बताए । ‘डुकिन्द्र श्रेष्ठ बचाउ अभियान’ सञ्चालनका क्रममा दिलीपलाई हाल मलेसिया रहेका रमेश राउतले साथ दिएका छन् । अभियानकर्ता दिलीप डुकेन्द्रका ठूलोबुवाका छोरा हुन् ।
२०५२ बैसाख २५ गते जन्मिएका डुकेन्द्रको स्वास्थ्य अवस्था सामान्य थियो । ११ वर्षको भएपछि गोडा दुख्न सुरु भयो । कटकटी दुखाई क्रमशः तिघ्रा हुँदै पिडौंलातिर स¥यो । आँख्ला–आँख्ला दुख्न थाल्यो । क्रमशः कम्मरसम्म दुख्न थालेपछि शरीर कुप्रो पर्न थालेको हो । शरीर कुप्रो परेपछि उनी हिँड्न नसक्ने अवस्थामा पुगेका हुन् । उनका दुबै खुट्टा खुम्चिएको छ । खुट्टा सुकेर दाउराजस्तै बनेको छ । उनी हिजोआज दुई हातले टेकेर एक ठाउँबाट अर्को ठाउँ घस्रेर सर्ने गरेका छन् । सुरुमा डुकिन्द्रलाई धामीझाँक्री गरियो । रोग निको हुनुको सट्टा झन् बल्झिदै गएपछि विभिन्न अस्पताल लगिए ।
अस्पताल लगेपछि उनलाई गठिया बाथ भएको पूष्टि भएको आफन्त पेशलमान श्रेष्ठले बताए । “पहिला डुकेन्द्र ठीक थियो । सुरुमा खुट्टा दुख्यो भन्दै थियो । एक दुई वर्षपछि काक्राककुक्रुक्क भो,” पेशलमानले भने, “मुन्टो उभो जाँदैन, घोप्टो परिरहन्छ । खुट्टा सुकेर चल्दैन । चार पाउले घस्रेर हिँड्छ ।”अस्पतालमा लगेपछि डाक्टरले मुटु सम्वन्धी नसाको वाथ रोग लागेको भन्यो । १५–१५ दिनमा इन्जेक्सन दिन सल्लाह दिए । तर खर्च अभाव र बाटोका कारण नियमित इन्जेक्सन लाउन सम्भव भएन । भएभरका सम्पत्ती सकिएपछि उनलाई फर्काएर घरैमा राखिएको थियो ।
लामो समयसम्म ओछ्यानमा थलिएका डुकिन्द्रलाई गत वर्ष उपचारकै लागि दमक झारिएको छ जहाँ बुवा कृष्णनारायण श्रेष्ठ र कान्छी आमा भद्रकुमारी श्रेष्ठ अरुको घर सम्हालेर बसिरहेका छन् । दमक झरेपछि थेरापी गराउँदा स्वास्थ्यमा केही सुधार आएको थियो तर खर्च अभावमा थप उपचार गराउन नसकिएको परिवारले बताएका छन् । आर्थिक अभावका कारण भरपर्दो उपचार नपाउँदा डुकेन्द्रको अवस्था दिनानुदिन पीडादायी बन्दै गएको छ ।
शरीर कक्राककुक्रुक भएर डल्लो परेपछि कष्टपूर्ण जीवन बिताइरहेका २८ वर्षीय डुकेन्द्र श्रेष्ठ ।







