काठमाडौं । वेब सिरिज ‘यौटा सपनाको अवसान’को प्रदर्शन शनिबार नयाँ वर्षबाट सुरु भएको छ । गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा यो नाटक मञ्चन भएको थियो । यो नाटक एक महिनासम्म हाउसफुल भएको थियो । यही नाटकलाई शनिबारबाट वेब सिरिजको रुपमा प्रदर्शन सुरु गरिएको हो । यसलाई कान्तिपुर सिनेमाजले प्रशारण थालेको छ ।
निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले यसको निर्माण गरेको हो । नाटकलाई ओटिटीमा रिलिज गर्दा दर्शक अझ बढी पाउने निर्माण पक्षको कथन छ । यसमा दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागार्इँलगायतको अभिनय छ ।
वरिष्ठ नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । १ महिनासम्म चलेर यो नाटक ६ हजार दर्शकले प्रत्यक्ष हेरेका थिए । यसमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ ।
यसका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । ‘नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहाना हुँदा हुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ’, निर्माता गोविन्दले बताए ।
नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ ।






