सानीभेरीमा पर्यटनको सम्भावना

कर्णाली प्रदेशको एक जिल्ला रुकुम (पश्चिम) का ६ वटा स्थानीय तहमध्ये सानीभेरी गाउँपालिका एक हो । जिल्लाका साविक पाँचवटा गाविसहरू (सिम्ली, अर्मा, गरायला, पुर्तीमकाँडा र दुली) समेटेर २५ वैशाख २०७१ मा सानीभेरी गाउँपालिका स्थानीय तहका रूपमा घोषणा भएको थियो भने २७ फागुन २०७३ मा गाउँपालिकाको गठन भएको हो । ११ वटा वडामा विभाजित सानीभेरी गाउँपालिकाको सदरमुकाम सिम्ली बजारमा अवस्थित छ ।

सानीभेरी गाउँपालिका रुकुम (पश्चिम) जिल्लाको सदरमुकामबाट १५ किलोमिटर पश्चिममा पर्छ । यसको पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका रहेको छ भने पश्चिममा जाजरकोट जिल्लाको भेरी नगरपालिका रहेको छ । त्यसरी नै सानीभेरी गाउँपालिकाको उत्तरमा आठबिसकोट नगरपालिका रहेको छ भने दक्षिणमा चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिका रहेको छ ।

सानीभेरी गाउँपालिकामा २०७८ सालको जनगणनानुसार ५ हजार २ सय ९२ घरधुरीमा जम्मा जनसंख्या २४ हजार ७ सय ५९ रहेको छ । जसमध्ये महिला १२ हजार ७ सय ४५ र पुरुष १२ हजार १४ जना बसोबास गर्छन् । यस गाउँपालिकाभित्र धेरै जाति जनजातिहरूको बसोबास भए तापनि ठूलो संख्यामा क्षेत्री समुदायको बसोबास छ भने दोस्रो ठूलो संख्यामा मगर समुदाय रहेको छ । मगर जातिसँग कौरा, घाटुजस्ता कला, संस्कृति तथा विभिन्न वेशभूषा रहेका हुनाले सांस्कृतिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ । त्यसैगरी, गाउँपालिकाको तेस्रो स्थानमा दलित समुदायको उपस्थिति उल्लेख्य छ । छुवाछूतमुक्त र सद्भावयुक्त गाउँपालिकाको घोषणा भएकाले सामाजिक छुवाछूतको भावना कम भए पनि आर्थिक विकास तथा सहभागिताका हिसाबले दलित समुदायलाई ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।

उचाइका हिसाबले यस गाउँपालिका समुद्र सतहबाट ७ सय १९ मिटर (सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र भेरी नगरपालिका जाजरकोटको सीमा क्षेत्र कालेगाउँमुनि भेरी नदी बगर)देखि २ हजार ८ सय ८५ मिटरसम्म (वडा नं ३ र ५ को संगम डाँडा)को उचाइमा अवस्थित छ । यो गाउँपालिका मध्यम उचाइमा रहेको हुनाले यहाँ कृषि कार्य तथा विकास गतिविधि सञ्चालन गर्न तुलनात्मक रूपमा सहज हुने देखिन्छ ।

गाउँपालिकाको जम्मा १ सय ३३ दशमलव ८ वर्गकिमीमध्ये सबैभन्दा बढी ७२ दशमलव ७ वर्गकिमी (५४ दशमलव ३ प्रतिशत) वन क्षेत्र रहेको छ । झाडिबुट्यान (२१ वर्गकिमी) र चरण क्षेत्र (४ दशमलव ९ वर्गकिमी)लाई पनि वन विकास प्रयोजनकै लागि प्रयोग गर्न सकिने देखिन्छ । यहाँको वनमा खयर, साल, लालीगुराँस, चिमाल, लेकाली धुपी सल्ला तथा अन्य मूल्यवान् प्रजातिका वन सम्पदा पाइन्छ । दोस्रो ठूलो क्षेत्रफल ३० दशमलव ८ (२३ प्रतिशत) कृषियोग्य भूमिले ओगटेको छ । तुलनात्मक रूपमा कृषिभूमि कम देखिएकाले यहाँ नयाँ प्रविधि र थोरै क्षेत्रमा धेरै उत्पादन गर्न सकिने उपायहरू अपनाउनुपर्ने आवश्यकता देखिन्छ । यसरी नै नदी, खोलाले १ दशमलव ३ प्रतिशत र बगरले १ दशमलव ८ प्रतिशत भूभाग ओगटेको छ । मैदानी क्षेत्र कम भए तापनि बसोबास तथा कृषिका लागि उपयुक्त धरातल रहेको छ । उच्च पहाडी क्षेत्रमा रहेको यस गाउँपालिकाको भौगोलिक बनोट विविधतायुक्त छ । यहाँ पाखा, पखेरा, जंगल, नदी, खोल्सा–खोल्सी, खाँच र बेंसी आदि विविध धरातलीय स्वरूप पाइन्छ । यस गाउँपालिकामा शीतोष्ण हावापानीको प्रधानता छ । मध्यपहाडी लोकमार्ग र अन्य सडकहरूको निर्माणले यस गाउँपालिकालाई यातायातका दृष्टिले क्रमशः सुगम बनाउँदै लगेको छ ।

मौराखारा, सानीभेरी नदी, ठूलीभेरी नदीजस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको सानीभेरी गाउँपालिकामा साल, सल्लो, लालीगुराँस, चिमाल र विभिन्न जातका लेकाली धुपी सल्लाले शोभायमान बनाएको साथै सानीभेरी नदी, ठूलीभेरी नदी, देउताखोला, सिम्लीखोला, सिस्नेखोला, फुकुरखोला, अब्यारीखोला, खारखोला र गिठाकोटखोलाजस्ता जलस्रोतहरू रहेकाले वास्तवमै प्राकृतिक स्रोत जलसाधनका दृष्टिले सुसज्जित गाउँपालिकाका रूपमा रहेको छ । जनयुद्धको उद्गमभूमिसमेत भएकाले मौराखारा क्षेत्रलाई मध्यनजर गरी युद्ध पर्यटनअन्तर्गत गुरिल्ला म्याराथनको अभ्यास भइरहेको पाइन्छ । सानीभेरी नदी मन्द गतिमा जिल्लाको सदरमुकामबाट सानीभेरी गाउँपालिका भएर पश्चिमतिर जाजरकोट सदरमुकाम खलंगा, चौरजहारी हँुदै सुर्खेततर्फ बग्ने भएकाले यहाँ जलक्रीडा एवं ¥याफ्टिङ सञ्चालनको सम्भावना अधिक रहेको छ । कालिका मालिका डाँडाको संरक्षण, पदमार्ग तथा प्याराग्लाइडिङको सम्भावना अधिक रहेको छ ।

मध्यपहाडी लोकमार्गले सानीभेरी गाउँपालिकालाई यातायात सुगम बनाउँदै लगेको छ

यस गाउँपालिकाको मौराखारा वन प्राकृतिक मिश्रित चौडा पाते कोणधारी जंगल रहेको छ । यस वनमा कोणधारी प्रजातिहरू लौठसल्ला, काफल, बाँझ मुख्य रूपमा रहेका छन् भने चौडापाते विभिन्न बाँझका प्रजातिहरू, काफल, पैंयु, लालीगुराँस आदि मुख्य बाहुल्यता रहेको छ, अन्य प्रजातिहरूमा चुत्रा, लोक्ता, कटुस आदि बोटबिरुवाहरू पाइन्छन् । वन्यजन्तु तथा जैविक विविधताका दृष्टिले मौराखारामा घोरल, रतुवा, बँदेल, स्याल, न्याउरीमुसा, बनबिरालो, बाँदरजस्ता जीवजन्तु पाइन्छन् भने चरा चुरुंगीमा कालिज, कोइली, जुरेली आदि पाइन्छन् । गैरकाष्ठ वन पैदावरहरूमा चिराइतो, सतुवा, समायो, पदमचाल, पाखनदेव, चुत्रो, लोक्ता, लौठसल्ला, मजिठो, कालो मुस्ले, विष आदि प्रजातिका जडिबुटी पाइन्छन् । वन र जडिबुटी संरक्षणको रणनीतिक योजना बनाइ वनक्षेत्रको जैविक विविधतालाई संरक्षण गर्नुपर्ने, लोपोन्मुख जडिबुटीको संरक्षण तथा विस्तार, जडिबुटीहरूको उपयोग तथा दिगो व्यवस्थापन गरी सामुदायिक सचेतना विस्तार र कार्ययोजना कार्यान्वयन र अनुगमन गरी जैविक विविधता तथा जडिबुटी पर्यटन विकासका आधार तयार गर्नुपर्ने आवश्यकता रहेको छ ।

सानीभेरी गाउँपालिकाभित्र पर्ने मौराखारा लेकको जैविक विविधताको पहिचान त्यसको संरक्षण संवद्र्धन र प्रवद्र्धन गरी इको टुरिजममार्फत रोजगारी सिर्जना गर्न पनि बर्सेनि म्याराथन आयोजना हुँदै आइरहेको छ । यो म्याराथन धावनमार्गमा तत्कालीन समयमा जनमुक्ति सेनाले गरेको अभ्यासको प्रत्यक्ष झल्को देख्न पाइन्छ भने म्याराथनमा भाग लिने धावक खेलाडीले मौराखारा क्षेत्रमा केही समय गुरिल्ला अभ्यास गरेर मात्र अघिबढ्ने म्याराथनको नियम रहेकाले यस क्षेत्रको गरिमा अझै बढाएको छ ।

यहाँबाट छिमेकी जिल्लाहरू सल्यान जाजरकोट डोल्पा रुकुमपूर्वका पहाडी तथा हिमाली शृंखलाहरू सहजै अवलोकन गर्न सकिन्छ । सानीभेरी गाउँपालिका विभिन्न दृष्टिकोणले सम्भावना बोकेको पालिका हो । सानीभेरी नदीले निर्माण गरेका उर्वर फाँटहरूमा कृषिको निकै सम्भावना रहेको छ । पालिकाको मध्यभागबाट बग्ने सानीभेरी नदीमा जलयात्रा माछापालनलगायतका धेरै सम्भावना रहेका छन् । यहाँको कला संस्कृति वेशभूषा रहनसहन आचार र विचारमा पनि आफ्नै मौलिकता, विशिष्टता छ । जैविक विविधताले भरिपूर्ण मौराखारा लेक पर्यापर्यटनसँगसँगै युद्ध पर्यटनका लागि पनि उत्तिकै सम्भावना बोकेको छ । कृषि खेती यहाँको प्रमुख व्यवसाय रहेको छ । साँच्चिकै उत्पादनले बजार पाउने अवस्था रहे यहाँका पहाडी भूभागहरू नगदेबाली मसलाबाली पशुपालनका लागि असीमित सम्भावना बोकेर जन्मिएका छन्, तर माटो सुहाउँदो व्यावसायिक उन्नत प्रकृतिको खेती प्रणाली हामीकहाँ व्यवस्थित भइसकेको छैन । बिस्तारै मौराखारा क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न सकियो भने यसको विशिष्टता अझै बलियो हुँदैजाने सम्भावना रहेको छ । यहाँका लेकाली जंगलमा एग्रो फरेस्ट्री विकासबाट उत्पादनशील रोजगारी सिर्जना हुनसक्ने सम्भावना अत्यन्त बढी छ । सानीभेरी नदीजस्तै सानीभेरी गाउँपालिकाको बीच भागबाट गएको मध्यपहाडी लोकमार्गले यहाँका सम्भावनामा झनै सुनौला इँटा थपेको छ । राजमार्गको छेउछाउमा सुविधासम्पन्न होटल खुल्नसक्ने सम्भावना उत्तिकै छ । साना तथा मझौला कृषि, पशुपालन, जडिबुटी एवं गैरकृषि उद्योग धन्दाको विकास गर्न सकिने अवसर यहाँ प्रचुर रहेको छ । अर्गानिक उत्पादन प्रोत्साहन गरी त्यसको ब्रान्डिङ गर्नसके कृषि उपजको भ्यालु एड भई जनताको जीवनस्तर उकास्न मद्दत गर्नसक्ने यहाँको भू–जैविक धरातल रहेको छ ।

विश्वमा सूचना र सञ्चारको जगतमा २१औं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील मुलुकहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यस शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिका साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील मुलुकहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै आएको पाइन्छ ।

आ–आफ्ना मुलुकमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख मुलुकहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित मुलुकका साथै विकासशील मुलुकले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हाँसिल गरेको अवस्था देखिन्छ ।

मुलुकको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेशमै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।

-याफ्टिङ, टे«किङ, होटल तथा होमस्टे, पुरातात्विक अन्वेषण र संरक्षण, युद्ध संग्रहालय तथा धार्मिक पर्यटनको सानीभेरीमा प्रचुर सम्भावना छ

रुकुम पश्चिम जिल्लामा रहेको सानीभेरी क्षेत्र प्राकृतिक तथा ऐतिहासिक पर्यटन केन्द्र हो, तर सो क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवद्र्धनको अभावमा अपेक्षित सफलता प्राप्त गर्न सकिरहेको छैन । पर्यटन विकासका प्रचुर सम्भावना बोकेको सानीभेरी क्षेत्रले पर्यटन विकासको अवधारणालाई कसरी आत्मसाथ गर्नुपर्ने हो, निक्र्योल हुनुपर्ने देखिन्छ । यसका लागि योजनाबद्ध दिगो पर्यटन विकास कार्यक्रममार्फत मात्र सफलता हासिल गर्न सकिने गुन्जाइस रहेकाले त्यस्तो दीर्घकालीन योजना पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावका आधारमा कार्यान्वयन गर्नु आवश्यक हुनसक्छ ।

यस गाउँपालिकाका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । पालिकाका पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थलहरू यत्रतत्र छरिएर रहेका छन् र त्यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था छैन ।

त्यस्तै, ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण एवं प्रवद्र्धन प्रभावकारी नहुनु, पर्यटकीय क्षेत्रको पहिचान एवं सम्भावनाका लागि कुनै प्रभावकारी योजना नहुनु, व्यवस्थित रूपमा होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु, व्यवस्थित होटल नहुनु, पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीति नियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासका लागि आवश्यकीय सूचना, बाटो, धारा, पथ प्रदर्शकहरू, सरसफाइ, होटल व्यवसाय, बैंक, वित्तीय संस्था आदिको अभाव प्रमुख समस्याका रूपमा रहेका छन् । जसको फलस्वरूप यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, सानीभेरी क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।

अतः यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । सानीभेरी गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । त्यस्तै, सो पालिकाको विकासका लागि व्यवस्थित खानेपानीको पर्याप्त उपलब्धता, बाटोघाटोको आवश्यक व्यवस्था, सानीभेरी नदीमा ¥याफ्टिङ तथा जलक्रीडाको सम्भाव्यता अध्ययन गरी विकास गर्नु, टे«किङ रुटको सम्भाव्यता अध्ययन, प्रभावकारी होटल तथा होमस्टेको स्थापना, पुरातात्विक अन्वेषण र संरक्षण, युद्ध संग्रहालयको स्थापना, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना, जनचेतना अभिवृद्धि गर्दै नमुना गाउँपालिकाका रूपमा विकास गर्नु आजको आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

एकै दिन ४७० सवारीसाधन कारबाहीमा