
यो संसार परमात्माको सृष्टि हो । जीव जन्तु र बनस्पति इत्यादि सबै गणना गर्ने हो भने कति लाख वा करोड प्रकारका प्राणीको अस्तित्व छ भनेर किटान गर्न सम्म पनि हम्मेहम्मे पर्छ । मानव त्यस्ता अनगिन्ती प्राणी मध्ये एक हो । मानव जुनीलाई सर्बोत्तम मानिएको छ । यो स्वयं मानवको दावी हो । यो कुरो कति सत्य हो वा झूठै पो हो कि ? मानव भन्दा उत्तम अरू कुनै प्राणी पो छ कि ? मानवसंग अरू प्राणीको तुलनामा उर्बर मस्तिष्क भएकै कारण सर्बोत्तम भनिएको होला । कतै मानव मस्तिष्कले नभेटेको वा बुझ्न नसकेको हाम्रो भन्दा उर्बर मस्तिष्क भएको अरू कुनै प्राणी पो अस्तित्वमा छ कि वा त्यो अति उन्नत मस्तिष्कले हाम्रो मस्तिष्कलाई नै पो नियन्त्रण गरिरहेको छ कि ! त्यो सुपर मस्तिष्क यहि लोकमा छ कि कुनै पारलौकिक संसारमा बिचरण गर्छ ? कतै त्यही सुपर मस्तिष्कलाई भेट्न वा राम्ररी चिन्न नसकेर त्यसलाई ’परमेश्वर’ को नाम दिएका त होइनौं ? जे होस्, मानव मस्तिष्ककै कारण ज्ञात बिश्वको सर्बोच्च सर्बोत्तम प्राणी कहलाइएका हौं हामी ।
मस्तिष्कै बलमा मानिसले यस पृथ्वीमा देखिएका सम्पूर्ण प्राणीहरूलाई नियन्त्रण गरेको छ । शारीरिक रुपमा मानव भन्दा अत्यन्तै शक्तिशाली जीव जन्तुलाई पनि मानिसले नियन्त्रणमा लिएको छ । अजङ्गको हात्तीलाई एक पातलो माहुतेले कजाउँछ । अत्यन्तै बलशाली घोडालाई मानिसले आफूले चाहे जस्तो पिठ्युँमा चढेर दौडाउँछ । बाघ, भालु र चितुवा जस्ता जन्तुलाई समेत मानिसले कजाएको छ । यहाँ सम्म कि गौमन जस्तो खतरनाक बिषालु जन्तुलाई समेत बीनको इशारामा नचाउँछ । हिन्दीमा एउटा उखान जस्तै शब्दावलीको प्रयोग हुन्छ – शेर कि सवारी । हिन्दीमा शेर भन्नाले सामान्यतया पाटेबाघ भन्ने बुझिन्छ । जंगलका राजा भनिने सिंहलाई पनि यदाकदा शेर भनिन्छ । नेपाली भाषामा त शेर भन्नाले सामान्यतया सिंह भन्ने बुझिन्छ । शेरलाई पाटेबाघ वा सिंह जे रुपमा बुझे पनि त्यो अत्यन्तै आक्रामक, हिंसक र बलशाली मांसाहारी शिकारी जीव भनेर नै लिइन्छ । अब शेरको सवारी भनेको के त ? बाघ वा सिंहको पिठ्युँमा घोडा झैं चढेर हिँड्नुलाई नै भनिएको हो । त्यस्तो हिंसक मानवभक्षी जीवलाई नियन्त्रण गरेर कजाउँदै उसको शरीर माथि सवार भएर इच्छित ढंगले हिँडडुल गर्नु भनेको आश्चर्यजनक कुरा हो । तर मानवले मस्तिष्कको प्रयोगबाट त्यस्ता जीवको सवारी मात्र होइन आफ्नो इच्छा अनुसार शत्रु दमन र समनमा समेत प्रयोग गर्न सकिने कल्पना गरेको छ ।
सत्तरीको दशकको अन्त्य तिर र अस्सीको दशकको शुरुवात तिर भारतको पंजावबाट एक शिखको चमत्कारिक ढंगले उदय भयो । ती ब्यक्ति थिए – जरनैल सिंह भिंडरवाले । उनका अनुयायीहरूले त उनलाई संत भन्ने गर्दथे । सनातनी परम्परा अन्तरगत नै गुरु नानक हुँदै पछि गुरु गोबिन्द सिंह जस्ता दार्शनिक एबं पंथ प्रधानहरूको पहल र अगुवाइमा शिख सम्प्रदायको स्थापना एबं बिकास भयो । कालान्तरमा शिखबादलाई बेग्लै धर्मका रुपमा समेत परिभाषित गर्न थालियो । विभिन्न राजनीतिक आरोह अवरोहका कारण शिख धर्मावलम्बीहरूका लागि बेग्लै स्वतन्त्र राष्ट्र खालिस्तानको माग हुन थाल्यो । खालिस्तानको माग सुषुप्त नै थियो र आन्दोलन पनि मत्थर । तर भिंडरवालेको उदय पछि खालिस्तान आन्दोलन उग्र, हिंसक र भारतको लागि पिडादायी बन्न थाल्यो । यो आन्दोलनले त्यतिबेला चरम रुप लियो जब भिंडरवालेले शिखहरूको सबैभन्दा पबित्र मानिएको अमृतसर स्थित स्वर्णमन्दिर परिसरको अकाल तख्त कब्जा गरेर त्यसलाई आफ्नो हेडक्वाटर नै बनायो । प्रधानमन्त्री इन्दिरा गान्धीले स्वर्णमन्दिरमा टैंक सहितको सेना प्रवेश गराएर अकाल तख्त लगभग ध्वस्त बनाइन् र भिंडरवालेलाई दमन गरिन् । अकाल तख्त ध्वस्त भएकोमा र स्वर्णमन्दिरमा हतियारधारी सेना प्रवेश गरेकोमा शिखहरूको धार्मिक भावना आहत हुन पुग्यो । परिणाम स्वरुप प्रधानमन्त्री इन्दिरा गान्धीको अक्टोबर १९८४ मा आफ्नै सरकारी निवासको प्रांगणमा आफ्नै शिख सुरक्षाकर्मीको हातबाट हत्या भयो । उनलाई शिख अंगरक्षकहरूले तीसौं राउण्ड गोली प्रहार गरेर शरीर क्षतबिक्षत गरेर हत्या गरेका थिए ।
पाठकहरूलाई यहाँसम्मका कुरा पढ्दा प्रसंगहिन गफ भइरहे झैं लाग्दो हो । यहाँ महत्वपूर्ण कुरा भन्न लागिएको छ । भिंडरवालेको चमत्कारिक उदय र प्रतिस्थापनमा स्वयं इन्दिरा गान्धीको हात थियो भन्दा धेरैलाई अचम्म लाग्दो हो । भारतको पंजाव प्रान्तमा शिरोमणि अकाली दल जस्ता शिख प्रधान राजनीतिक दलहरूको प्रभाव बढ्दै गइरहेको थियो र परिणामतः गान्धीको कांग्रेस पार्टी कमजोर हुँदै गएको थियो । इन्दिरा गान्धीको इशारामा उनका छोरा संजय गान्धीको पहलमा भिंडरवाले आक्रामक रुपमा देखा परे । भिंडरवालेको आक्रामक प्रस्तुतिका बलले स्थानीय अकाली नेताहरू निस्तेज बन्न पुगे । इन्दिरा गान्धीको उद्देश्य यति सम्म थियो होला । तर भिंडरवाले रोकिएनन् । उनले खालिस्तान आन्दोलनलाई उग्र बनाउँदै लगे । भिंडरवालेका लगभग जन्मदाता इन्दिरा गान्धी बाध्यबस कठोर बन्नै प¥यो । अन्ततः स्वयं इन्दिरा गान्धी खालिस्तान आन्दोलनको सिकार बनिन् ।
पाठकहरूलाई यहाँसम्मका कुरा पढ्दा प्रसंगहीन गफ भइरहेझैं लाग्दो हो । यहाँ महइभ्वपूर्ण कुरा भन्न लागिएको छ । भिंडरवालेको चामत्कारिक उदय र प्रतिस्थापनमा स्वयं इन्दिरा गान्धीको हात थियो भन्दा धेरैलाई अचम्म लाग्दो हो
हाम्रो अलि टाढाको छिमेकी श्रीलंकामा मुलुकको दक्षिणी भागमा भारतीय मूलका तामिलहरूको बाहुल्यता थियो । सिंहाला बौद्ध सम्प्रदायको ठूलो बहुमत भएको श्रीलंकामा मुलतः हिन्दू द्रभिड तामिल जाती प्रमुख अल्पसंख्यक बन्न पुगेको थियो । त्यहाँ पनि कालान्तरमा पृथक तामिल राज्यको माग चर्किन थाल्यो । नरमपन्थी तामिल युनाइटेड फ्रन्ट हुँदै उग्रपन्थी तामिल इलमको उदय भयो । उमामहेश्वरमको हातमा नेतृत्व हुँदा सम्म माग स्वायत्ततामा सिमित थियो । तर प्रभाकरणको हातमा इलमको नेतृत्व आएपछि परिस्थिति उग्र बन्दै गयो र पृथक तामिल राष्ट्रको मागले श्रीलंकालाई थलै पा-यो । ईतिहास केलाउने हो भने तामिल पृथकताबादी आन्दोलनलाई भारतले उचालेकै थियो । तामिलनाडु राज्यमा प्रभाव बढाउनकै लागि मात्र भएपनि भारतीय साशकले तामिल आन्दोलनलाई प्रोत्साहन दिएकै हो । स्वयं प्रभाकरणलाई भारतीय संरक्षण प्राप्त रहेको तथ्य उजागर भइसकेको छ । तर एउटा बिन्दूमा पुगेर प्रभाकरण भारतको नियन्त्रण भन्दा बाहिर गयो र स्वयं भारत प्रभाकरणका बिरुद्ध उत्रन प¥यो । परिणाम ? पूर्ब प्रधानमन्त्री राजीव गान्धी तामिल आत्मघातीको बमको सिकार बने ।
अब कुरा गरौं अल कायदा र ओसामा बिन लादेनको । महाशक्ति राष्ट्र अमेरिकालाई सबैभन्दा असहनीय पीडा अल कायदा र ओसामा बिन लादेनले दियो भन्दा फरक नपर्ला । ९-११ भनिने न्यूयोर्कको ट्वीन टावर माथि भएको आत्मघाती आक्रमण अमेरिकी इतिहासकै सबैभन्दा पीडादायक क्षण थियो । महाशक्ति अमेरिकाले लज्जास्पद निरिहता ब्यहोर्न परेको थियो त्यस घटनाका कारण । को थिए त लादेन ? अफगानिस्तानमा कब्जा गरेर बसेका तत्कालिन सोभियत सेना बिरुद्ध बिद्रोह गर्न स्वयं अमेरिकाद्वारा प्रोत्साहित, पालित र पोषित ब्यक्ति थिए लादेन ।
नेपालमा कम्युनिस्टहरूको उदय र चमत्कारिक बढोत्तरी देख्दा अलि पुराना ब्यक्तिहरू आजपनि अचम्भित हुन्छन् । २०१५ सालको निर्बाचनमा १०९ मा ४ स्थान जितेको कम्युनिस्ट पार्टी २०३५-३६ आइपुग्दा सम्म एक ठूलो शक्ति बनिसकेको थियो । त्यसरी कम्युनिस्ट बढ्नुमा अनेकौं कारणहरू छन् । ती मध्ये एक प्रमुख कारण चाहिँ कम्युनिस्टलाई दरवारको प्रत्यक्ष अप्रत्यक्ष सहयोग थियो । यस’bout राम्रै सप्रमाण धेरै तथ्यहरू उल्लेख गर्न सकिन्छ । एउटा सानो कुरा मात्र भनौं । बीपी कोइरालाको एउटा तस्वीर फेला पर्दा २ बर्ष जेल सजाय हुने जमानामा काठमाडौंका बिद्यालयहरूमा चिनियाँ नेता माओको ब्याच खुल्लमखुल्ला बाँडिन्थ्यो र रेडबुक बितरण हुन्थ्यो । कम्युनिस्टहरूको चमत्कारिक उत्थानमा दरवारको ठूलो योगदान थियो भनेर किटान गर्न सकिन्छ नै । आखिर दरवार अर्थात् राजतन्त्रलाई कसले खायो ? मुलतः कम्युनिस्टले नै होइन ?
उल्लेखित घटनाहरूमा के भएको थियो । भारतीय शासक भिंडरवाले प्रयोग गरेर बिपक्षलाई सिध्याउन खोजे । त्यस्तै तामिल प्रयोग गरेर श्रीलंकामा प्रभुत्व जमाउन खोजे । अमेरिकाले लादेन प्रयोग गरेर सोभियतसंघलाई अप्ठ्यारोमा पारे र नेपालमा राजशाहीले कम्युनिस्टलाई मलजल गरेर लोकतान्त्रिक शक्ति कांग्रेसलाई कमजोर बनाउन कोसिस ग¥यो । आआग्फ्नो कोशिसमा यी शक्तिहरू केही हदसम्म सफल पनि भए ।
तर खासमा भएको के रहेछ त ? यी सबैले शेरको सवारी गरेका रहेछ्न् । शेरको पिठ्युँमा चढेर आफ्नो स्वार्थ अनुरूप शेरलाई शत्रु भक्षण गर्न लगाए । हिंसक शेरलाई कजाएर छानिछानी मानव भक्षण गर्न लगाए । तर शेरको पिठ्युँबाट ओर्लिनु पर्ने दिन आयो । एकदिन ओर्लिनै पर्थ्यो । सवार ब्यक्ति ओर्लिने बित्तिकै मानव मांस र रक्तको स्वाद चाखिसकेको शेरले आफ्नो सवारलाई नै खाइदियो !
शेरको सवारी गरेर चमत्कार गर्न मानव मस्तिष्क सक्षम छ भन्ने त देखियो । तर ओर्लिने बित्तिकै त्यस शेरमा जागृत हुने हिंसक प्रवृत्ति रोक्ने क्षमता चाहिँ गाह्रो बिषय हो । आज हाम्रो परिबेशमा पनि शेरको सवारी र अन्तमा सवार नै सिकार हुने परिदृष्यहरू दोहरिन लागेका त छैनन् ? गम्भीर भएर सोचौं ।






