प्रवीणको वास्तविक जीवनसँग मिल्दो मनसराको चरित्र

काठमाडौं । चलचित्र ‘मनसरा’ यही २१ वैशाखबाट रिलिज हुँदै छ । यो चलचित्रमा बाहुनबाजेका भूमिका निर्वाह गरेका अभिनेता प्रवीण खतिवडा यतिबेला निकै चर्चामा छन् । चलचित्र मनसराको ट्रेलर रिलिजसँगै अभिनेता प्रवीणको चर्चा चुलिएको छ ।

चलचित्र मनसरा र आफ्नो दाम्पत्य जीवनकथा निकै मिल्ने यी अभिनेताको कथन छ । चलचित्र मनसरामा यी अभिनेताले अन्तरजातीय विवाह निर्वाह गरेको बाहुन बाजेको भूमिकामा छन् । चलचित्रमा उनले नेवार्नी (मेनुका प्रधान)को श्रीमानको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा प्रवीण जब अर्की अभिनेत्री लिम्बुनी (मिरुना मगर)सँग नजिक हुन्छन् । त्यसपछि पत्नी नेवार्नीसँग सम्बन्ध बिग्रिन्छ ।

चलचित्रमा अन्तरजातीय वैवाहिक सम्बन्धमा आउने विभिन्न समस्या देखाइएको छ । तर, आफ्नो वास्तविक जीवनमा चलचित्रको जस्तो समस्या अहिलेसम्म नआएको यी अभिनेताको कथन छ ।

बाहुनका छोरा अभिनेता प्रवीण खतिवडाले नाटकमा काम गर्दागर्दै नाट्यकर्मी सरस्वती चौधरीसँग प्रेम विवाह गरे । यसरी वास्तविक जीवनमै अन्तरजातीय विवाह गरेका अभिनेता प्रवीणले चलचित्र मनसरा आफ्नो जीवनसँग निकट रहेको बताएका छन्, ‘चलचित्र मनसरामा मैले नेवार्नीसँग विवाह गरेको छु भने वास्तविक जीवनमा पनि चौधरीसँग अन्तरजातीय विवाह गरेका हुँ । जीवनको भोगाइलाई चलचित्रमा उतार्न पाउँदा कतिपय अवस्थामा आफ्नै वास्तविक जीवनमा काम गरिरहेको छु जस्तो महसुस पनि भयो ।’

प्रवीणको भनाइमा नेपाली समाजले अन्तरजातीय विवाहलाई अझै पनि राम्रो मान्ने गरेको छैन । अन्तरजातीय विवाह गरेका जोडीलाई अहिलेसम्म समाजले फरक रूपमा हेर्ने गरेको यी अभिनेताको कथन छ, ‘मेरो अन्तरजातीय विवाहलाई परिवारले त राम्ररी स्विकारेको छ । तर, अझै पनि आफन्त, नातागोता र समाजले सहजै स्विकार्न सकेको छैन र हामीलाई हेर्ने उनीहरुको दृष्टिकोण मैले फरक पाएको छु ।’ प्रवीणले भने ।

घरमा श्रीमती हुँदाहुँदै बाहिर अर्काको श्रीमतीको पछि लाग्ने पुरुषको अवस्था कस्तो हुन्छ भन्ने कुरा आफ्नो चरित्रले प्रस्तुत गर्ने यी अभिनेताको कथन छ, ‘समाजमा अहिले पत्नीभन्दा बाहिरी महिलासँग रमाउने पुरुष धेरै छन् । यस्तो बाहिरी सम्बन्धले जीवनमा कतिसम्म तनाव दिन्छ भन्ने कुरा पनि यो चलिचत्रले भन्नेछ ।’ प्रवीणले भने, ‘चलचित्र ट्रेलरमा जुन कुुरा देखाइएको छ, त्यो नै फिल्मको कथा होइन र मनसराको कथा केही फरक रहेको छ ।’

करिब दुई दर्जन चलचित्रमा काम गरिसकेका अभिनेता प्रवीणका पछिल्लो समय एकपछि अर्को चलचित्र आइरहेको छ । प्रवीणको शीर्ष भूमिका रहेको चलचित्र रंगिला गत महिना प्रदर्शन भएको थियो । यतिबेला हलमा उनका दुई चलचित्र द रेड सुटकेस र महाजात्रा प्रदर्शन भइरहेको छ । यी दुई चलचित्रभन्दा अझ शीर्ष भूमिका नयाँ चलचित्र मनसरामा रहेको पनि प्रवीणले बताए ।

उपेन्द्र सुब्बाको लेखन निर्देशन रहेको चलचित्र मनसरामा प्रवीणले दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधानलगायतका कलाकारसँग काम गरेका छन् । यी कलाकारसँग विगतमा पनि काम गरिसकेकाले मनसरामा अभिनयको लय अझ राम्रो भएको पनि अभिनेता प्रवीण खतिवडाको कथन छ । लिम्बु समुदायको विभिन्न मिथकमा केन्द्रित रहेकाले पनि चलचित्र मनसराको कथा केही फरक रहेको पनि प्रवीणले बताएका छन् । जारी जस्तो सफल चलचित्र निर्देशन गरेका उपेन्द्र सुब्बाको दोस्रो निर्देशनमा बनेको कारण पनि मससरा चलचित्रप्रति दर्शकको यतिबेला उच्च चासो भएको पनि यी अभिनेताले बताएका छन् । मनसराले दर्शकलाई सन्तुष्ट पार्ने यी अभिनेताको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

ढुंगे–त्रिशूली जोड्ने झोलुंगे पुल सञ्चालनमा