घुम्ती अस्पताल देऊ सरकार !

अहिले मौसमी प्रकोपका रूपमा गर्मी बढिरहेको छ । लु चलिरहेको छ । पश्चिमी हावाको प्रभाव केही परेर चिसो हावा चल्न थाले पनि लुको हावा हटेर गएको छैन । अत्यधिक गर्मीका कारण देशभरका अस्पतालमा बिरामीको चाप बढेर गएको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरो बस्तीबस्तीमा पसेको छ । यी रोगको संक्रमणका बिरामी बढ्न थालेका छन् ।

चितवको भरतपुर सरकारी अस्पताल अहिले यसको ज्वलन्त उदाहरण बनिरहेको छ । बिरामीको चाप बढेपछि उपचार कक्षको अभाव हुन थालिसकेको छ । यस्तो समस्या देशभरका अस्पतालमा देखा परिरहेको छ । एउटा अस्पतालमा हजारौं बिरामीको जमघट हुन थालेपछि अस्पताल प्रशासन आत्तिन थालेको छ ।

राजधानी सहर काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रूपमा दर्ज भएको छ । मौसममा आएको परिवर्तनले पनि यसमा निकै सघाउ पु-याएको छ । प्रदूषित सहरका मानिस अस्वस्थ हुनु र अस्पताल धाउनु अनौठो कुरा होइन । काठमाडौंमा पनि बिरामी बढ्दै गएका छन् । बिरामीको चाप बढेसँगै अस्पताल अस्तव्यस्त हुन थालेका छन् ।

वर्षभरिको बिरामीको चाप मध्यनजर गरेर आफूलाई सोहीअनुरूपको हालतमा राखेका अस्पताल अहिले थप व्यवस्थापनको भार लिन तयार भएको पनि देखिँदैन । अस्पताल प्रशासन जसोतसो काम गरिदिने र बिरामीलाई घरमा बसिदिन सल्लाह दिने मुडमा देखिन्छ । यसले कतै बिरामीमा समस्या निम्त्याउने त होइन भन्ने आशंका निम्त्याएको छ ।

अस्पताल प्रशासनका अनुसार अहिले बिरामीको चाप मौसमी हो । त्यसैले यो केही दिनमा घटिहाल्छ भन्ने छ । उनीहरूका अनुसार पहिलेको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने नै गर्दछ । अहिले यो संख्यात्मक रूपमा केही बढी देखिन थालेको स्वीकारोक्ति उनीहरूको छ । लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले वैकल्पिक उपचार सेवाका लागि तयारी गरेको पनि देखिन्छ ।

बिरामीको चाप व्यवस्थापन गर्न टिकट काउन्टर थप्ने, बिरामीको प्रकृतिअनुसार उपचार कक्ष थपघट गर्ने आदि काम अस्पतालमा भइरहेको देखिन्छ । यस्तो बेलामा सरकारी अस्पतालले जनताको सेवा र स्वास्थ्यका लागि विशेष स्वास्थ्य कार्यक्रम बनाएर गाउँघर क्लिनिक वा घुम्ती अस्पतालको व्यवस्था गरे धेरै राम्रो हुने देखिन्छ । तर, सरकारी तत्परता यसमा देखिँदैन । पछिल्लो समयमा झाडापखालाको समस्या बढ्ने हो कि भन्ने आशंका पनि देखिएको छ ।

गर्मी बढेसँगै पछिल्ला दिनमा बिरामीको संख्या ह्वात्तै बढेर गएको छ । चैतदेखिको गर्मी हाल शिखरमा पुगेको छ । यसले बिरामीको संख्या बढाउँदै लगेको छ । यस्तो बेलामा सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गर्नुपर्छ । सरकारले घुम्ती अस्पतालको विकल्प खोज्नुपर्छ ।
(सविन बानियाँ, चितवन)

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा परिषद्को बैठक सम्पन्न, समन्वयलाई प्रभावकारी बनाउने निर्णय