बिराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ बर्षीय भगिरथ हरिजनलाई मंगलबार दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो ।
बिआर ३८ क्यु ३८३० नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
उनको साथबाट प्रहरीले १४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निग्रानीमा मदन भण्डारी अस्पताल मंगल’boutमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






