भारतमा मोदीको ‘पराजय’बीच विजय

भारतमा सम्पन्न आमनिर्वाचनमा अनअपेक्षित परिणाम आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले ५ सय ४३ सदस्यीय लोकसभामा स्पष्ट बहुमतका लागि आवश्यक २ सय ७२ सिट प्राप्त गर्न सकेन । भारतीय जनता पार्टी २ सय ४१ सिटमा सीमित रह्यो । यद्यपि, भाजपाको नेतृत्वमा रहेको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले २ सय ९२ सिट जितेको छ । यसकारण तेस्रो कार्यकालका लागि नरेन्द्र मोदीले आगामी जुन ९ भित्र प्रधानमन्त्रीका रूपमा शपथ लिने बताइएको छ ।

लोकसभाका लागि भएको आमनिर्वाचनसँगै चार प्रान्तमा पनि निर्वाचन भएको थियो । ती राज्यमध्ये सिक्किममा स्थानीय सिक्किम क्रान्ति दल, आन्ध्र प्रदेशमा तेलगु देशम र अरुणाचल प्रदेश एवं उडिसामा भारतीय जनता पार्टीले विजय हासिल गरेको छ ।

सन् २०१४ को निर्वाचन र त्यसपछिको २०१९ को निर्वाचनमा भारतीय जनता पार्टी एक्लैले क्रमशः २ सय ८२ र ३ सय ३ स्थान जितेर स्पष्ट बहुमत हासिल गरेको थियो । अब नयाँ बन्ने सरकार सहयोगीमा निर्भर हुनेछ । तसर्थ, अब बन्ने सरकार बलियो भने हुने छैन । मूलतः एनडीए गठबन्धनभित्रको १६ सिट भएको आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुको तेलगु देशमा पार्टी र १२ सिट भएको बिहारका नितिशकुमारको जनता दल युनाइटेड पार्टीको मुख्य भूमिका रहनेछ । नायडु र नितिश दुवै कुनै पनि समय कोल्टे फेर्न सक्ने ‘हार्ड बार्गेनर’का रूपमा चिनिन्छन् । यी दुईको कैयन माग पूरा गर्नु मोदीको बाध्यता हुनेछ र त्यसकारण उनको अबको यात्रा सहज नहुने स्पष्टै छ ।

यस निर्वाचनमा भारतीय जनता पार्टीको उत्तर प्रदेश राज्यमा अत्यन्तै निराशाजनक प्रदर्शन रह्यो । ८० सिट भएको सो राज्यमा भारतीय जनता पार्टीले जमा ३४ सिट जितेको छ । २०१४ र २०१९ मा यस राज्यमा भाजपाले ७० र ६२ सिट जितेको थियो । उत्तर प्रदेशमा राहुल गान्धीको कांग्रेस र अखिलेश यादवको समाजवादी पार्टीको गठबन्धनले ४५ सिट जितेको छ । स्वयं गान्धीले रायबरेलीबाट ठूलो अन्तरले जितेका छन् भने यादवले कन्नौजबाट त्यस्तै जित निकालेका छन् । उत्तर प्रदेशबाट स्मृति इरानीसहित केही केन्द्रीय मन्त्रीले पनि चुनाव हरेका छन् । त्यहाँ यादव, दलित र मुस्लिम मतदाताले एकमुष्ट भाजपाविरुद्ध मतदान गरेको अनुमान गरिँदै छ ।

‘पराजित’ चित्रण हुँदै गरेका नरेन्द्र मोदीको सिट संख्या झन्डै ६० सिटले घटेको छ । तर, भारतीय जनता पार्टी संसद्मा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । भाजपापछिको दोस्रो ठूलो दल कांग्रेसले सयभन्दा कम संख्या जितेको छ । कांग्रेसले लगातार तेस्रोपटक सयभन्दा कम सिट जितेको हो । भाजपाको सिट संख्या घटे पनि मत ३७ प्रतिशत चाहिँ यथावत् कायम राख्न सफल भएको छ । भारतको इतिहासमा निर्वाचन जितेर तीनपटक लगातार प्रधानमन्त्री बन्ने रेकर्ड मोदीले कायम गरेका छन् ।

मोदीको आगामी दिन निश्चित रूपमा त्यति सहज छैन । समान नागरिक संहिता जस्ता आक्रामक कदम चाल्न उनलाई निक्कै अप्ठ्यारो पर्नेछ । विदेश नीति सञ्चालनमा पनि उनले निक्कै होसियारी अपनाउनुपर्ने अवस्था आउन सक्छ । ‘४०० पार’ माग गर्दै चुनावमा होम्मिएका प्रधानमन्त्री मोदी २ सय ९२ मा खुम्चिनु पर्दा मोदीले नैतिक रूपमा प्रधानमन्त्री पद स्वीकार्न नहुने झिनो आवाज नउठेको होइन । तर, मोदीले यस परिस्थितिमा पनि प्रधानमन्त्री बन्ने निर्णय गर्नुले उनको आक्रामकतामा कमी नआउने आँकलन गरिँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 811 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी