धनगढी । नापी कार्यालय, कैलालीमा विज्ञापन नगरेरै २० जना कर्मचारी करार सेवाबाट भर्ना गरिएको छ । सो कार्यालयले सूचनासमेत सार्वजनिक नगरेरै कर्मचारी भर्ना गरेको हो । कार्यालयका प्रमुख तथा राजनीतिक शक्तिको आडमा कर्मचारी भर्ना गरिएको हो ।
नापी कार्यालयले एक महिनामा २० जना करारका कर्मचारीका लागि ४ लाख ६७ हजार ८ सय ८९ रुपैयाँ खर्च गर्दै आएको छ । यसबाट राज्यलाई वार्षिक ५६ लाख १४ हजार बढीको आर्थिक भार थपिएको छ ।
नापी कार्यालय, कैलालीमा कम्प्युटर अधिकृत, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटसहितका २० जना कर्मचारी करार सेवामा भर्ना गरिएको छ । नापी कार्यालय, कैलालीले तृतीय श्रेणीका कर्मचारीदेखि श्रेणीविहीनसम्म २० जना कर्मचारी करार सेवामा भर्ना गरेको पाइएको छ । नापी कार्यालय, कैलालीमा २० जना कर्मचारीका लागि मासिक रूपमा ४ लाख ६७ हजार ८ सय ८९ रुपैयाँ खर्च हुँदै आएको छ ।
यसबाट राज्यलाई वार्षिक ५६ लाख १४ हजार ६ सय ६८ रुपैयाँको आर्थिक भार थपिन पुगेको छ । नापी कार्यालय कैलालीको तथ्यांकअनुसार ४३ हजार ६ सय ८९ रुपैयाँ मासिक तलब सुविधा लिने एक जना कम्प्युटर अधिकृत करार सेवामा छन् । मासिक ३४ हजार ७ सय ३० रुपैयाँ कम्प्युटर अपरेटर एक जना छन् । मासिक ३२ हजार ९ सय २ रुपैयाँ तलब लिने एक जना सहायक कम्प्युटर अपरेटर छन् ।
एक जना २७ हजार ६ सय १२ रुपैयाँ मासिक तलब लिने सवारी चालक करार सेवामा भर्ना गरिएको छ । चार जना कार्यालय सहयोगी छन् । उनीहरूले मासिक २४ हजार ७ सय २ रुपैयाँ तलब सुविधा लिने गरेका छन् । कार्यालय सहयोगीका लागि नापी कार्यालयले एक महिनामा ९८ हजार ८ सय ८ रुपैयाँ खर्च गर्दै आएको छ ।
त्यस्तै, नापी कामदारको तलब १२ जनाले बुझ्दै आएका छन् । उनीहरूले मासिक २१ हजार ४ सय ८० रुपैयाँ तलब लिने गरेका हुन् । श्रेणीविहीन रहेका नापी कामदारको मासिक तलबका लागि मात्र २ लाख ५७ हजार ७ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । एक वर्षमा २० जना कर्मचारीको तलब सुविधामा मात्र ५६ लाख १४ हजार ६ सय ६८ रुपैयाँ खर्च हुने गरेको छ ।






