जैविक विभेद र विविधता संरक्षण

सामान्य रूपमा भन्नुपर्दा पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्न सकिन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तत्वबीचको अन्तरसम्बन्धले नै पृथ्वीको प्राकृतिक वातावरण सन्तुलित बनाइरहेको छ । जसका कारण पृथ्वीमा मानिसलगायत सम्पूर्ण प्राणीहरूको अस्तित्व कायम रहन सकेको छ । त्यसैले, संसार जैविक विविधताको अघोषित साम्राज्य हो । जब प्रकृतिमा जैविक विविधताको गुणात्मक र संख्यात्मक विकासमा शिथिलता उत्पन्न हुन्छ र ह्रास आउन थाल्छ, तब मानिसले आफ्नो अस्तित्वमाथि समेत शंका उठाउनुपर्ने हुन्छ । यस अर्थमा जैविक विविधता जीवनको सहयात्री हो, विकास र उन्नतिको मूल जरो वा स्पन्दन हो । यसैबाट जैविक विविधताको महिमा वा महत्वसमेत स्पष्ट रूपमा झल्कन्छ ।

जैविक विविधतालाई विभिन्न दृष्टिकोणबाट परिभाषित गरिएको पाइन्छ । जैविक विविधता प्राणी, वनस्पति तथा सूक्ष्म जीवहरूको जाति प्रणालीमा आएको विभेद भन्ने बुझिन्छ । यो भिन्नता उनीहरूको वंशाणुगत गुणमा आउने परिवर्तन, पर्यावरणमा हुने क्रमिक परिवर्तन, सामाजिक–सांस्कृतिक परिवर्तन तथा मानिसद्वारा निर्मित अप्राकृतिक पर्यावरणका कारणहरूबाट भएको हुन्छ ।

प्राणी तथा वनस्पतिको अभ्युदय भएको करिब ३ दशमलव ५ बिलियन (३ अर्ब ५० करोड) वर्ष भएको मानिन्छ । जीव तथा वनस्पति उत्पत्तिदेखिको वर्तमान समयसम्म यिनीहरूबीच ठूलो उतारचढाव आएको अनुमान गरिएको छ । खासगरी मानिसको प्रभुत्व विस्तार भएदेखि अन्य जैविक तत्वहरूको प्रयोगमा व्यापकता आएका कारण व्यापक क्षति भएको मानिएको छ । पृथ्वीमा कुल ५० लाखदेखि ३ करोड प्रजातिका जीव तथा वनस्पति भएको अनुमान गरिएको छ (विल्सन १९८८) यी प्रजातिमध्ये मानिसले करिब १७ लाख प्रजातिको पहिचान र प्रयोग गरिरहेको अनुमान गरिएको छ ।

नेपालमा वन तथा जैविक विविधताको संरक्षण र संवद्र्धन गर्न अनेकौं प्रयासहरू भएका छन् । ती प्रयासमध्ये राष्ट्रिय निकुञ्ज र अन्य संरक्षित क्षेत्रहरूको स्थापना गरी व्यवस्थापन विशेष उल्लेखनीय कदमहरू हुन् । २०३७ सालमा स्थापना भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत रहेका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरू (मध्यवर्ती क्षेत्रसमेत समावेश गर्दा)को कुल क्षेत्रफल २६ हजार ६ सय ९६ वर्ग किलोमिटर रहेको छ । यहाँ राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रका विषयमा संक्षिप्त चर्चा गर्नु उपयुक्त हुनेछ ।

१. शाही चितवन राष्ट्रिय निकुञ्ज– मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने नारायणी अञ्चलका चितवन, मकवानपुर र पर्सा जिल्लाका भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्जको स्थापना २०३१ सालमा भएको हो । करिब ९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज पर्यावरणीय पर्यटनका लागि प्रसिद्ध छ । विदेशी पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा रहेको यस राष्ट्रिय निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । यस राष्ट्रिय निकुञ्जमा ५ सय ४४ भन्दा बढी एकसिंगे गैंडा रहेका छन् । यसका अतिरिक्त यहाँ बाघ, हात्तीलगायत विभिन्न वन्यजन्तु पाइन्छन् ।

२. सगरमाथा राष्ट्रिय निकुञ्ज– २०३२ सालमा स्थापित यो निकुञ्ज करिब १ हजार १ सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको छ । सर्वोच्च शिखर सगमाथासहित ल्होत्से, नुप्से, चोयु, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराहरूले यस राष्ट्रिय निकुञ्जको गौरब बढाएका छन् । यहाँ हिमाली क्षेत्रमा पाइने अघिकांश वन्यजन्तु पाइन्छन्, जसलाई यस निकुञ्जले संरक्षण प्रदान गरेको छ ।

३. लाङटाङ राष्ट्रिय निकुञ्ज– यो राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएको हो । यसको क्षेत्रफल १ हजार ७ सय १० वर्ग किलोमिटर रहेको छ । राजधानी काठमाडौंबाट उत्तरमा पर्ने यो राष्ट्रिय निकुञ्ज बाग्मती अञ्चलको रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका केही भागहरूमा फैलिएको छ । यस निकुञ्जमा विशेषगरी चितुवा, हाब्रे, कस्तुरी, मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर, लंगुर बाँदरजस्ता वन्यजन्तुहरू पाइन्छन् ।

जैविक मार्गको संरक्षण र संवद्र्धनसम्बन्धी थप कानुनी व्यवस्थाले संरक्षण कार्यलाई संस्थागत बनाएको छ

४. शाही बर्दिया राष्ट्रिय निकुञ्ज– बाँके र बर्दिया जिल्लामा फैलिएको यो निकुञ्ज २०३२ सालमा शाही बर्दिया वन्यजन्तु आरक्षका रूपमा स्थापना भएको हो । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शाही बर्दिया वन्यजन्तु आरक्षलाई २० मंसिर २०४५ बाट राष्ट्रिय निकुञ्ज बनाइएको हो । यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो निकुञ्ज हो । यस निकुञ्जमा रैथाने र बसाइँसरी आउने प्रजातिका चराहरूको संख्या हालसम्म ३ सय ६० थरी रहेको अभिलेख राखिएका छन् ।

५. रारा राष्ट्रिय निकुञ्ज– नेपालको कर्णाली अञ्चलको हिमाली क्षेत्रमा अवस्थित यस राष्ट्रिय निकुञ्जको अधिकतम् भाग मुगु जिल्लामा र केही भाग जुम्ला जिल्लामा पर्छ । यस निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा पाइने हरियो जंगलले घेरिएको कञ्चन पानी सलबलाउने ‘रारा ताल’ नै हो । यो नेपालको सबैभन्दा ठूलो ताल हो । यो निकुञ्ज २०३२ सालमा स्थापना भएको हो र यसको क्षेत्रफल १ सय ६ वर्ग किलोमिटर रहेको छ ।

६. शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज– कर्णाली अञ्चलको डोल्पा र मुगु जिल्लामा फैलिएको यो राष्ट्रिय निकुञ्ज क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो २०४० सालमा स्थापना भएको हो । यसको क्षेत्रफल ३ हजार ५ सय ५५ वर्ग किलोमिटर रहेको छ । यस निकुञ्जमा पाइने हिउँ चितुवाको आहार विहार’bout वैज्ञानिक अनुसन्धान गरी एक उपयुक्त बासस्थान भनी प्रमाणित गरिसकिएको छ ।

७. खप्तड राष्ट्रिय निकुञ्ज– नेपालको सुदूर पश्चिमाञ्चलका बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्छ । यस भेगमा सल्ला, खस्रु र निगालोको जंगल पाइनुका साथै घाँसे मैदान रहेको छ । यहाँ पाइने वन्यजन्तुमा रतुवा, कस्तुरी, मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदर प्रमुख छन् । यहाँ डाँफे, मुनालजस्ता सुन्दर चराचुरुंगीहरूको पनि प्रधानता रहेको छ । २ सय २५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जको स्थापना २०४२ सालमा भएको हो ।

८. मकालु वरुण राष्ट्रिय निकुञ्ज– पूर्वी हिमालको केन्द्रमा रहेको विश्वको पाँचौं अग्लो हिमाल मकालुबाट सातवटा उपत्यकामा फैलिएको छ । यी उपत्यकाहरूमध्ये मकालु वरुण उपत्यका नेपालको प्राकृतिक वन–जंगल र उच्च पहाडी घाँसे मैदानको भण्डारका रूपमा रहेको छ । यसलाई बृहत् सगरमाथा इकोसिस्टमको एउटा महत्वपूर्ण अंग मानिएको छ । यसको स्थापना २०४९ सालमा भएको हो र यसको क्षेत्रफल २ हजार ३ सय ३० वर्ग किलोमिटर रहेको छ । अरुण उपत्यकाको धेरै क्षेत्र समेटेको यो राष्ट्रिय निकुञ्जले वातावरणीय पर्यटनमा समेत महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

९. शाही शुक्लाफाँट वन्यजन्तु आरक्ष– २०३१ सालमा स्थापना भएको यस आरक्षको क्षेत्रफल ३ सय ५ वर्ग किलोमिटर रहेको छ । यो आरक्ष बाह्रसिंगेका लागि प्रसिद्ध छ । यस आरक्षमा बाह्रसिंगेको संख्या २ हजारदेखि २ हजार २ सयसम्म पुगेको अनुमान छ । यो आरक्ष सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा नेपाल भारत सिमानाको दक्षिण पश्चिम कुनामा अवस्थित छ ।

१०. कोशी टप्पु वन्यजन्तु आरक्ष– २०३२ सालमा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल १ सय ७५ वर्ग किलोमिटर रहेको छ । पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलको सुनसरी र सगरमाथा अञ्चलको सप्तरी जिल्लाको सप्तकोशी नदीले बनाएको टप्पुमा यो आरक्ष अवस्थित छ । यसमा करिब ४ सय ३९ प्रजातिका चराहरू पाइन्छन् । अर्ना र चराको संरक्षणका लागि कोशी टप्पु विश्व प्रसिद्ध सिमसार क्षेत्र पनि हो ।

११. पर्सा वन्यजन्तु आरक्ष– २०४० सालमा स्थापना भएको यस आरक्षको क्षेत्रफल ४ सय ९९ वर्ग किलोमिटर रहेको छ । मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चलको चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भागहरूमा फैलिएको यो आरक्ष शाही चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्रका रूपमा रहेको छ ।

१२. शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष– काठमाडौं उपत्यकाको केन्द्रबिन्दु रत्नपार्कबाट १२ किलोमिटर मात्र उत्तरमा रहेको यो जलाधार क्षेत्र पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको छ । यसले काठमाडौं, नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लाका साबिक २३ गाउँ विकास समितिलाई छोएको छ । शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष काठमाडौंको खानेपानी आपूर्तिको मुख्य स्रोत पनि हो ।

वन्यजन्तु आरक्षअन्तर्गत
१. कोशीटप्पु वन्यजन्तु आरक्ष, २. सिकार आरक्ष, ३. ढोरपाटन सिकार आरक्ष
संरक्षण क्षेत्रअन्तर्गत

१. अन्नपूर्ण संरक्षण क्षेत्र, २. कञ्चनजंघा संरक्षण क्षेत्र, ३. मनास्लु संरक्षण क्षेत्र, ४. अपि नम्पा संरक्षण क्षेत्र, ५. गौरीशंकर संरक्षण क्षेत्र, ६.कृष्णसार संरक्षण क्षेत्र
राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौं संशोधनले जैविक मार्गको संरक्षण र संवद्र्धनसम्बन्धी थप कानुनी व्यवस्थाले संरक्षण कार्यलाई संस्थागत बनाएको छ । संरक्षित क्षेत्रबाट स्थानीय बासिन्दाहरूलाई बढीभन्दा बढी लाभको समन्यायिक वितरण हुनुपर्छ । स्थानीय बासिन्दालाई संरक्षणमा प्रभावकारी रूपले सहभागी गराउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को चौथो संशोधनमार्फत मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम लागू गरिएको छ ।

साइटिस महासन्धिको अनुसूची २ मा वन्यजन्तु तथा वनस्पति प्रजाति जो लोप हुने स्थितिमा पुगिसकेका तर तिनको व्यापारलाई समयमा नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा लोप हुनसक्ने अवस्थामा रहेका वन्यजन्तु तथा वनस्पति प्रजातिलाई यस अनुसूचीमा समावेश गरिएको छ । अनुसूची २ मा समावेश भएका प्रजातिको निकासी गर्दा सम्बन्धित राष्ट्रको वैज्ञानिक निकायले त्यस्ता प्रजातिको निकासीबाट अस्तित्वमा खतरा छैन भन्ने कुरा सुनिश्चित भएपछि मात्र व्यवस्थापन निकायले निकासी इजाजत दिन सक्छ । नेपालको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ ले महासन्धिको अनुसूची २ मा उल्लिखित वन्यजन्तु वा वनस्पतिको कुनै प्रजाति वा उपप्रजातिलाई लोपोन्मुख वन्यजन्तु तथा वनस्पति भनी परिभाषित गरेको छ । त्यस्तै, अनुसूची ३ मा कुनै मुलुक वा राष्ट्रले आफ्नो राष्ट्रको व्यापार नियमन एवं नियन्त्रण गर्नुपर्ने आवश्यकता महसुस गरेमा त्यस्ता प्रजातिलाई अनुसूची ३ मा समावेश गरेको पाइन्छ ।

आर्थिक सर्वेक्षण २०८०–०८१ मा उल्लेख गरिएनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या बढेर ३ सय ५५ पुगेको छ । सन् २०१८ मा बाघको संख्या २ सय ३५ रहेको थियो । लोपोन्मुख रहेको कृष्णसारको संख्या सन् २०२१ मा ३ सय ३६ रहेकामा ३९ थप भई सन् २०२२ मा ३ सय ७५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी