बिकराल बन्दै सहकारीपीडितका समस्या

काठमाडौं । दुईपटक सम्झौता भएर पनि अहिलेसम्म आफ्नो निक्षेप रकम फिर्ता गराउने केही उपाए नलागेपछि बाध्य भएर काठमाडौंको माइतीघर मण्डला र रत्नपार्कस्थित शान्तिवाटिकामा तेस्रो चरणको आन्दोलनस्वरूप रिले अनसन बसिरहेका सहकारीपीडितको समस्या झन बिकराल बनेको छ ।

स्थलगत रिपोर्ट

अनेक दुःखले बचत गरेको सबै पैसा सहकारी सञ्चालकहरूले खाएर बेपत्ता भएकै कारण अहिले अनशनरत हजारौं सहकारीपीडितको अवस्था एकदमै बिकराल बन्दै गएको हो ।

आफूले सहकारी संस्थामा जम्मा गरेको निक्षेप फिर्ता गर्नका लागि लामो समयदेखि सहकारी विभाग, सम्बन्धित नियामक निकाय, प्रहरी कार्यालयलगायत सबै ठाउँमा पुगेर निवेदन दर्ता गर्दा पनि अहिलेसम्म सहकारी सञ्चालकहरूले आफ्नो निक्षेप फिर्ता नगरेपछि अहिले अधिकांश सहकारीपीडित दैनिक घरखर्च चलाउने पैसा नै नभएर डिप्रेसनको सिकार भएका छन् ।

सरकार मूकदर्शक बनेको निक्षेपकर्ताको गुनासो

धेरैको परिवार नै बिग्रिएको छ भने अझै यो समस्याले बिकराल रूप लिएर सामाजिक बिखन्डनको भयावह अवस्था सिर्जना भइरहेको छ । केहीले आत्महत्या नै गरिसकेको अवस्था छ । आफूहरूले कुनै व्यक्तिलाई दिएको पैसा नभई सरकारको सम्बन्धित निकायमा वैधानिक रूपमा दर्ता भएको धेरै मानिस सञ्चालक रहेको सहकारी संस्थामा राखेको निक्षेप रकम फिर्ता गराउन सहयोग गरिदिनु प¥यो भन्दा पनि अहिलेसम्म सरकारी निकायबाट आफूहरूको समस्यालाई हलुका रूपले लिएको आन्दोलनरत सहकारीपीडितको गुनासो छ ।

उनीहरूले हाल प्रहरी र सरकारी निकायहरूले नै सहकारी सञ्चालकलाई संरक्षण दिएर पीडितका समस्यालाई उपेक्षा गरिरहेको महसुस भएको बताएका छन् । प्रहरी र सम्बन्धित नियामक निकायहरूमा निवेदन हालेर सहकारीमा फसेको आफ्नो निक्षेप रकम फिर्ता गराउने पहल गरिदिन धेरैपटक धाउँदा र अर्काको पैसा खाएर उल्टै निक्षेपकर्तालाई धम्क्याउँदै आएका सहकारी सञ्चालकलाई समातेर कानुनी कारबाहीको प्रक्रियामा ल्याउन आग्रह गर्दा अहिलेसम्म केही नभएपछि यो सरकार सहकारीपीडितको समस्यामा मूकदर्शक भएको उनीहरूको भनाइ छ ।

असारको चर्को घाम र भारी वर्षाको कुनै पर्वाह नगरी बाध्य भएर तेस्रो चरणको आन्दोलनस्वरूप रिले अनसन बसेको पनि बुधबार २७औं दिन भइसकेको आन्दोलनरत सहकारीपीडितहरूको गुनासो छ ।

सरकारी निकायमा दर्ता भएका सहकारी संस्थाहरूले अनेक दुःखले जम्मा गरेको निक्षेप रकम नै अपचल गरिदिएर बेपत्ता भएपछि अहिले हजारौं सहकारीपीडितले भोग्नुपरेको समस्या एकदमै बिकराल छ । उनीहरू मर्नु न बाँच्नुको अवस्थामा छन् । अज्ञानताले सहकारी संस्थाहरूलाई नै आफ्नो निक्षेप सुरक्षित राखेर आवश्यक परेका बेला सजिलै दिने बैंकजस्तै ठान्नेहरू नै यस्तो पीडामा परेका हुन् ।

एकातिर आकर्षक ब्याजको लोभ, अर्कोतिर सुखद भविष्यको कल्पना । बाटोमा मकै पोलेर, कसैका जुठा भाँडा माझेर सहकारीमा बचत गर्नेहरू छन् त कसैले विभिन्न पेसा व्यवसाय गरी आफ्नो जीवनभरको कमाइ सहकारीमा लगेर राखेका छन् । तर, सर्वसाधारणको त्यही निक्षेप रकममा जाली फटाहा सहकारी सञ्चालकहरूको रजाइँ चल्यो, सहकारी सञ्चालकहरूले बचतचकर्ताको निक्षेप अपचल गरेर आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउने, सहरमा महँगा घर जग्गा जोड्ने, सेयर कारोबार गर्ने, विभिन्न उद्योगधन्दा चलाउनेलगायत अनेकौं बिलासिताका जीवन बिताउने कार्यमा खर्च गरिदिए ।

यस्तै प्रवृत्ति भएका सहकारी सञ्चालकहरूले सहकारी संस्था नै डुबाएर बेपत्ता भए । अहिले बिहान बेलुकाको छाक टार्न नसक्ने अवस्थाको बिजोगमा परे निक्षेपकर्ता † आफ्नो जीवनभरको कमाइ सहकारीमा डुबेपछि औषधि उपचार गर्ने खर्चसमेत नपाएको अवस्थाले अहिले अधिकांश सहकारीपीडितको बिजोग भएको छ । आफ्ना यस्ता पीडाका बीच अहिले सहकारीपीडितहरू तेस्रो चरणको आन्दोलन सुरु भएको पनि एक महिना पुग्नैलाग्दासमेत माइतीघर र रत्नपार्कस्थित शान्तिवाटिकामा आफूलाई सहकारी संस्थाहरूले दिएको अनेक सास्तीबाट मुक्ति पाउने सरकारसँग न्याय मागिरहेका छन् ।

तेस्रो चरणको आन्दोलन थालेको २७औं दिन बुधबार शान्तिवाटिकामा भेटिएका बलसिंह केसीले जबसम्म आफूहरूको निक्षेप फिर्ता हुँदैन, तबसम्म यो आन्दोलन अनिश्चित कालका लागि जारी रहने बताए । तनहुँको व्यास नगरपालिका–९ का केसी रिटायर सरकारी इन्जिनियर हुन् । उनले काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थामा आफ्नो परिवारको १२ लाख रुपैयाँ र कालिमाटीको प्यासिफिक सहकारी संस्थामा ४ लाख रुपैयाँ फसेको बताए ।

असारको रापिलो घाम र ठूलो दर्कने पानीको कुनै पर्वाह नगरी दिनभर माइतीघर मण्डला र साँझ परेपछि त्रिपालमा ओत लागेर बस्नका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा आउने दिनचर्यामा रहेका सहकारीपीडितहरूमध्ये कोही लालाबाला काखीमा च्यापेर आन्दोलनमा छन् त कोही लठीको सहारामा उभिएर आफ्नो निक्षेप रकम फिर्ता माग्दै सरकार गुहारिरहेका छन् । तर, सरकार भने आफ्ना मागप्रति अहिलेसम्म बेखबरजस्तै बनेको उनीहरूको दुःखेसो छ ।

सहकारी विभागको तथ्यांकनुसार हाल मुलुकभर कुल ३१ हजार ५ सय सहकारी छन्। तीमध्ये ठूला २० वटा सहकारी समस्याग्रस्त घोषणा भइसकेका छन् । समस्याग्रस्त सहकारीका पीडितका व्यथा पनि निकै जटिल छन् । अझै उनीहरूलाई आफ्नो पैसा सहकारीबाट फिर्ता नपाइने पो हो कि भन्ने चिन्ता छ । मंगलबार र बुधबार शान्तिवाटिकामा भेटिएका सहकारीपीडितहरू राम महर्जन, बलराम राजभण्डारी, कोपिला पाण्डेलाई अहिलेसम्म आफ्नो निक्षेप रकम फिर्ता नदिएका सहकारी सञ्चालकहरूले दिएको दुःख एकदमै पीडादायक छ ।

ललितपुरको जाउलाखेलस्थित डिलाइट बहुउद्देश्यीय सहकारी संस्थामा झन्डै ३० लाख रुपैयाँ निक्षेप रकम फिर्ता नपाएर सहकारी विभाग, बाग्मती प्रदेशको नियामक निकाय हेटौंडाको सहकारी मन्त्रालय र जाउलाखेलस्थित ललितपुर जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएर धेरैपटक धाउँदाधाउँदै थाकेकी राधा पाठकको गुनासो पनि निकै दर्दनाक छ ।

उनले डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शेरबहादुर तामाङ र प्रबन्ध निर्देशक आशिष तामाङले गत २ जेठको म्यादमा जाउलाखेल प्रहरी चौकीमै आएर दिएको २५ लाख रुपैयाँको चेक बाउन्स गराएर प्रहरीमा निवेदन दर्ता गराउँदा पनि अझै सो सहकारीले आफ्नो निक्षेप फिर्ता नदिएर अत्यन्तै समस्यामा पारेको बताइन् ।

अकी सहकारीपीडित काठमाडौं शान्तिनगरकी ७९ वर्षीया शान्ति मानन्धर क्यान्सर रोग पीडित हुन् । ब्लडप्रेसरको समस्या, उमेर र रोगका कारण घरमै आराम गर्नुपर्ने अवस्थामा अहिले उनी असारको तातो घाममा माइतीघरको आन्दोलनमा हिँडिरहेकी छन् । आफूले बचत गरेको रकम सहकारीले हिनामिना गरिदिएपछि उनी तीन महिनादेखि आन्दोलित छिन् । तर, सरकारले उनको माग सुनेको छैन । ‘अब त लाज पनि लजाउने बेला भयो,’ शान्तिले रुँदै भनिन् ।

औषधि खान सहज होला भनेर उनले लालीगुराँस र कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा १५÷१५ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । उनका श्रीमान् धु्रवनारायण मानन्धर अवकाशप्राप्त कर्मचारी हुन् । पतिको नियमित आउने पेन्सन बैंकबाट झिकेर शान्तिले दुई–चार रुपैयाँ बढी ब्याज आउने लोभमा यही सहकारीमा लगेर राख्ने गर्थिन् । तर, उनले अहिले ब्याज त के सावाँसमेत फिर्ता पाउन नसकेर यो हालतमा पुगेकी छन् । सहकारी सञ्चालक भने फरार छन् ।

अब आफ्नो पैसा फिर्ता गराइदिने सरकार मात्र भएको आशामा रहेकी शान्तिले उपभोक्ताको रकम ठगी गर्ने सहकारी सञ्चालकलाई सरकारले कारबाही गर्नुपर्ने र बचत फिर्ता गराउनुपर्ने माग राखिन् । ‘सरकारले यत्रो सहकारी खोल्ने अनुमति दियो, तर बचतकर्ताको पैसा खाएर भाग्ने र बदमासी गर्नेहरूलाई कारबाही नगरेर सरकार सुतेर बसेको छ, यो कस्तो बिडम्बना ?’ शान्तिले भनिन्, ‘हाम्रो माग पूरा गर्ने भनेर सरकारले दुईपटक सम्झौता गरेको थियो, तर सरकारसँगको सम्झौता भनेको गीत र कविताजस्तै भयो, पूरा गर्ने भन्ने तर नगर्ने, कस्तो प्रधानमन्त्री ? कस्ता गृहमन्त्री हुन् ?’

गत वर्षदेखि देशैभरका सहकारीपीडित आन्दोलित छन् । सरकारले माग सम्बोधन गर्ने भनेर सम्झौता पनि ग¥यो, तर खोइ कहाँ अड्कियोअड्कियो ? अहिले पीडितले पत्तो पाएका छैनन् । सडकदेखि सदनसम्म सहकारीपीडितको माग उठ्छ । तर, सरकार यसमा गम्भीर नरहेको आन्दोलनरत सहकारीपीडितहरूको गुनासो छ ।

‘हामीले कतैबाट लुटेर ल्याएको रुपैयाँ होइन, दिनरात रगत पसिना बगाएर एक÷एक पैसा जम्मा गरेको हाम्रो बचत हाmे सरकारले हाम्रो बचत कुनै पनि हातमा फिर्ता गराउनुपर्छ,’ उनीहरूको सामुहिक आवाज हो यो, ‘नत्र हामी सडकमै प्राण त्याग्छौं ।’

गत वर्ष पनि सहकारीपीडितहरूले बचत फिर्ताको माग राख्दै लगातार ६३ दिनसम्म आन्दोलन गरेका थिए । त्यतिबेलाको सरकारले पीडितहरूसँग माग पूरा गर्ने भनेर सम्झौता पनि गरेको थियो । तर, त्यो सम्झौता लागू नभएको उनीहरूको दाबी छ ।

सहकारी ठगलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको तेस्रो चरणको आन्दोलन निरन्तर जारी रहने उनीहरूको भनाइ छ । जीवनभरको कमाइ सहकारीमा डुबेपछि अहिले आफूहरू यस्तो समस्यामा परेको उनीहरूको गुनासो छ ।

जीवनभर कमाइ गरेर राखेको पैसा सहकारीले खाइदिएपछि अहिले ललितपुरको पाटनकी ७६ वर्षीय हेमकृष्ण राजकर्णिकार काठमाडौंको माइतीघर र शान्तिवाटिकामा पुगेर न्याय खोज्दै छिन् । गतिशील सहकारी संस्था लगनखेलमा उनले पेन्सनको २१ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । बुढेसकालमा काम लाग्छ भनेर राखेको पैसाले उनलाई सहयोग पुगेको छैन । गत मंसिरमा उनको शल्यक्रिया गर्नुपर्ने थियो । तर, सहकारीले २ लाख पनि बचत फिर्ता गरेन । उनले नेपाल बैंकमा २९ वर्ष जागिर गरेर थोरैथोरै जम्मा गरेको पैसा सहकारीमा राखेको बताएकी छन् । सहकारीमा बचत गरेको निक्षेप रकम सहकारी सञ्चालकहरूले अपचलन गरेपछि राजकर्णिकारजस्ता हजारौं बचतकर्ताको बिचल्ली भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार छान्न कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक बस्ने