असार ६ अर्थात् रामराजा चिनिएको दिन

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहका उत्तराधिकारीहरू स्वतः राष्ट्राध्यक्ष हुने परम्परा अब समाप्त भयो । गणतन्त्र स्थापनायता अहिले तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले राज्यसत्ता सम्हालेका छन् । २०६२-६३ सालको जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले १५ जेठ २०६५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो । २ सय ४० वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको सो दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ ।

नेपाल अधिराज्यको परिभाषाबाट राज्यको परिभाषामा परिवर्तित हुनु कल्पनाबाहिरको कुरा थियो । तर, समयको आफ्नै निर्णय हुन्छ, उसले कुन समयमा के गर्छ, उही जान्दछ । तर, समयले गर्ने परिवर्तनको कार्य र कारण त्यो आफैं होइन, हामीलाई बनाउँछ । त्यसैले भन्नुपर्दा नेपाली जनताले ६ दशकको अविराम संघर्ष, युद्ध र बलिदानबाट यो ऐतिहासिक परिवर्तनलाई हात पारेको हो भनिन्छ ।

गणतन्त्र भनेको जनताको शासन हो । अर्थात् शासनतन्त्रमा सैद्धान्तिक रूपले मुलुकको सर्वोच्च पदमा आमजनताबाट कुनै पनि व्यक्ति निर्वाचित भएर पदासीन हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई नै गणतन्त्र भनिन्छ । लोकतन्त्र अथवा प्रजातन्त्र गणतन्त्रभन्दा फरक हुन् । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ, जहाँ वास्तवमा सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्छ । आज विश्वका धेरैजसो मुलुकहरूले गणतन्त्रात्मक व्यवस्था अपनाएका छन् र साथसाथै लोकतान्त्रिक पनि । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।

रामराजा प्रसाद सिंह

तर, नेपाल २००७ सालमा राजा त्रिभुवनले घोषणा गरेझैं त्यतिबेला नै गणतन्त्र भएको होइन । नेपाली जनताले ७ फागुनमा परम्परागत रूपमा मनाउँदै आएको प्रजातन्त्र दिवस वास्तवमा प्रजातन्त्र दिवस नै हो, गणतन्त्र दिवस होइन । मुलुकले प्रजातन्त्र दिवससँगै वास्तवमा ११ वैशाखमा लोकतन्त्र दिवस र १५ जेठमा गणतन्त्र दिवस पनि मनाउँदै आएको छ । भिन्नभिन्न मितिमा एक लहरले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवस मनाइनुका कारणहरू छन् ।

स्वेच्छाचारी तथा अत्याचारी निरंकुश राणा शासनबाट मुक्ति प्राप्त भएको सम्झनामा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाइन्छ । वास्तवमा यो मुक्ति दिवस नै हो । तर, यसलाई प्रजातन्त्र दिवस भन्नुमा पनि कुनै अतिशयोक्ति नहुनसक्छ । ’cause नेपालमा प्रजातन्त्र भनेको उदारवादी राजतन्त्रलाई बुझिन्छ । यस अर्थमा २००७ सालको क्रान्ति (परिवर्तन)बाट राजाले आफ्नो गुमेको अधिकार फिर्ता पाएको थियो ।

२०६२÷६३ सालको जनआन्दोलन सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनस्र्थापना भएको सम्झनामा हरेक ११ वैशाखमा लोकतन्त्र दिवस मनाइन्छ । २०६२÷६३ सालको जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले १५ जेठ २०६५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २ सय ४० वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको सो दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालियो । नेपाली गणतन्त्र इतिहासको यो एउटा पाटो हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनापछि विकास र समृद्धिको बाटोमा नेपाल त अगाडि बढ्न खोजेको छ । तर, वास्तवमा लोकतन्त्र, गणतन्त्र र संघीयता नेपालको भूराजनीतिक आवश्यकता हो अथवा परिस्थितले उत्पन्न गरेको परिणाम हो भन्ने सवाल केही समयसम्म बहसका रूपमा रहिरहनेछ । विश्वका अझै पनि कतिपय विपन्न वा समृद्ध राष्ट्रहरूमा राजतन्त्रात्मक व्यवस्था कायम रहिरहेको अवस्थामा नेपालमा राजतन्त्रलाई फाल्नुका पछाडिको वास्तविक कारणको खोजी केही समय भइरहनेछ । यदाकदा शाह राजा पुनः सत्तामा फर्किने वा फर्काइने गन्थनमन्थन पनि नचलेको होइन । राजतन्त्र फर्किने कुरालाई कतिपयले असम्भव र कतिपयले अवश्यम्भावी भन्छन् । बेलायत राजतन्त्रबाट मुक्ति पाएर पुनः राजतन्त्रमा गएको उदाहरणलाई अनदेखा गर्न नसक्नेले बेलायती प्रोटेक्टर ओलिवर क्रमवेलको कल्पना नेपाली नेताहरूमा गर्न सक्नुपर्छ । भविष्यका कुरालाई तत्काल भविष्यत् कालकै गर्भमा छाड्नुपर्छ ।

प्रजा परिषद्ले काठमाडौंबाहिर गतिविधि गर्न नसकिरहेका बेला सप्तरीको हनुमाननगर जेल काण्डले राणाविरोधी आन्दोलनलाई सशस्त्र बनाउन पृष्ठभूमि तयार ग-यो

शाहवंशको कुल २ सय ४० वर्षको शासनमध्ये शाह राजाहरूले प्रत्यक्ष रूपमा सम्पूर्ण अधिकार सम्पन्न राजाका रूपमा शासन गरेको पछिल्लो अवधि १ पुस २०१७ देखि २६ चैत २०४६ सालसम्मको करिब ३० वर्ष र १८ असोज २०५९ देखि १० वैशाख २०६३ सालसम्मको झन्डै ३ वर्ष ७ महिनाको अवधि हो, जसले मुलुकलाई गणतन्त्रतर्फ लाग्न विवश पा-यो । पञ्चायती व्यवस्थाको करिब ३० वर्षले जनताको राजनीतिक आस्था र विचारको अधिकार खोसेका कारणले २०४६ सालको जनआन्दोलनबाट राजालाई दलीय स्वतन्त्रताको परिधिमा निरन्तरता दिने प्रयास गरेको थियो । तर, राजा ज्ञानेन्द्रको ‘कू’ र स्वेच्छाचारिताले भने राजाहरूले जनताको राजनीतिक अधिकारलाई कुण्ठित बनायो । राजाले २००० सालदेखि नै गणतन्त्रको आगो सल्किँदै आएको भेउ नपाउनु, बेलाबखत फुट्दै आएको गणतन्त्रको लावालाई अनदेखा गर्नु र मुलुकमा जनवादी सत्तामा लैजान थालिएको गुरिल्ला युद्धको सही मूल्यांकन गर्न नसक्नु पनि राजतन्त्र समाप्तिका प्रमुख कारणहरू भए । त्यसैगरी, राजा स्वभावैले शासक र शोषक हुन्छन् । जनताको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको चाहनालाई उचित महत्व दिन सक्दैनन् भन्ने धारणालाई पनि नेपाली राजाहरूले निमिट्यान्न पार्न नसक्नु गणतन्त्र बहालीको अर्को सशक्त कारण बन्यो । दलविहीन पञ्चायती प्रजातन्त्रको अन्त्यतिर २०४३ सालमा गठित राष्ट्रिय पञ्चायत (तत्कालीन संसद्को नाम) मा जनपक्षीय नेताका रूपमा निर्वाचित भएका गजेन्द्रनारायण सिंहले २०४४ साल असारमा सरकारको नीति तथा कार्यक्रमउपर मन्तव्य राख्दै भनेका थिए कि सरकार (राजा) समयको परिवर्तनसँगै आफूलाई परिवर्तन गर्दै लगिएन भने एक दिन यो मुकुट (सत्ता) सुरक्षित रहनेछैन । हुन पनि भयो आखिर त्यही । नेपाली गणतन्त्रको यो दोस्रो पाटो हो ।

नेपाली गणतन्त्रको तेस्रो पाटोको नाम रामराजाप्रसाद सिंह हो । २ सय ४० वर्ष पुरानो निंरकुश राजतन्त्रको अन्त्य गरी गणतन्त्र नेपालको स्थापना भएको थियो । संविधानसभाले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित भएको घोषणा १५ वर्षअघि १५ जेठ २०६५ मध्यरातमा गरेको थियो भने ठीक ८० वर्षअघिको एक मध्यरातमै यस गणतन्त्रको बिजारोपण भएको थियो भन्ने कुरा धेरैलाई थाहा छैन । ९ जेठ २००० को मध्यरातमा सप्तकोशी नदीको पश्चिमी किनार, सप्तरी जिल्लाको तत्कालीन सदरमुकाम हनुमाननगरको गारद गरिएको विद्रोह तत्काल केही क्रान्तिकारीलाई कैदबाट मुक्त गरउने उद्देश्यले भए पनि कालान्तरमा सो घटना गणतन्त्रको बिउ साबित भयो । तर, जुन ऐतिहासिक विद्रोहका कारण ‘नेपाली गणतन्त्र’ अंकुरित भयो, त्यो घटना अझै पनि इतिहासको गर्वमै छ । आमजनता त के वर्तमान गणतन्त्रका शासक पनि सो घटनाबाट परिचित हुन सकेका छैनन् ।

गणतन्त्रको नाम लिँदा हनुमाननगर जेल काण्डको महत्व यो हो कि सो घटनाले एक त्यस्तो व्यक्तित्वलाई जन्म दियो, जसले निरन्तर लागिरहेर एक दिन गणतन्त्र स्थापना गरी छाड्यो । नेपालका तमाम राजनेताहरू यहाँसम्म कि वर्तमान राष्ट्रपतिदेखि प्रधानमन्त्रीसमेतले रामराजाको सो व्यक्तित्वको अनेक दृष्टि र अनेक आयाममा गणतन्त्र प्राप्तिका लागि गरेको संघर्षको सराहना गरेका छन् ।

नेपाली जनता गणतन्त्रमा पुगेकामा आज गौरवान्वित महसुस गर्छन् । तर, गणतन्त्र प्राप्तिका लागि जनताले ६ दशकसम्म अविराम संघर्ष गर्नुप¥यो र हजारौं नागरिकले बलिदान दिनुप¥यो । आवरणमा हेर्दा संघर्षका अनेक कालखण्ड, तिनका नायक र प्रतिफलहरू देखिन्छन् । तर, सारमा हेर्दा समग्र संघर्ष गणतन्त्रमुखी र एक मात्र नायकका रूपमा रामराजा रहेको देखिन्छ । गणतन्त्रका सूत्रधार भएकाले नै उनलाई मात्र गणतन्त्रवादी नेता भनेर चिनिन्छ । नेपाल सरकारले उनलाई मरणोपरान्त (१२ माघ २०६९ मा) प्रदान गरेको विभूण अधिकारपत्रमा भनिएको छ– ‘रामराजाप्रसाद सिंह, गणतन्त्रवादी नेता (मरणोपरान्त)लाई नेपाल राष्ट्र र नेपाली जनताको हित एवं प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय योगदान पु¥याएबापत राष्ट्रगौरव मानपदवीद्वारा विभूषित गरिएको छ ।’

रामराजाको जन्म ३० असोज १९९२ मा सप्तरीको कोइलाडी गाउँमा भयो । ६ असार २०४२ मा राजदरबारको दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवन, सिंहदरबार मूलद्वार, होटल अन्नपूर्ण स्वागत कक्षलगायत देशव्यापी रूपमा भएको बम विस्फोट घटनाबाट उनी गणतन्त्रवादी नेताका रूपमा प्रख्यात भए । यद्यपि, उनी ९ वर्षकै बाल्यकालमै मुलुकलाई राजाविहीन बनाएर गणतन्त्रात्मक बनाउन संकल्पचित्त भएका थिए ।

गणतन्त्रको संघर्षमा आफ्नो सर्वस्व अर्पित गरेबापत कालचक्र रामराजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको निर्वाचनसम्म पु¥यायो, तर सम्झौतावादी अराजनीतिक गठजोडका कारण सो पद उनीबाट सुशोभित हुन पाएन । अन्यथा नेल्सन मण्डेलाको दक्षिण अफ्रिकाझैं नेपालले पनि रामराजाको कहलिने थप अवसर पाउने थियो ।

रामराजाले गणतन्त्रको प्रेरणा सप्तरीको हनुमाननगर जेल काण्डबाट पाएका थिए । राणा शासनविरुद्धको संघर्षमा नेपाली कांग्रेसले २००७ सालमा सशस्त्र संघर्षको संकल्प लियो । तर, सशस्त्र संघर्षको पूर्वाभ्यास भने ९ जेठ २००० राति सप्तरीको हनुमाननगर जेल काण्डमै भइसकेको थियो । क्रान्तिकारी दृष्टिले सप्तरीको हनुमाननगर जेलकाण्डको ठूलो महत्व छ । सो ऐतिहासिक घटनामा राणाको हिरासतबाट डा. राममनोहर लोहिया, जयप्रकाश नारायणलगायतका भारतीय स्वतन्त्रता सेनानीहरूलाई मुक्त गराउन रामराजाका आफन्तहरूले हनुमाननगर जेलमा ९ जेठ २००० राति सशस्त्र आक्रमण गरेका थिए । आक्रमणकारी दस्ताले जेल छेउमा रहेको परालको टालमा आगो लगाए । जेलका सिपाही आगोतर्फ लागेपछि उनीहरूलाई नियन्त्रणमा लिँदै गारथभित्र राखिएका समाजवादी नेताहरूलाई मुक्त गराइयो । त्यसक्रममा एक सेन्ट्रीको हत्या पनि भयो । जेलबाट भगाएपछि नेपाली नेताहरूले उनीहरूलाई कोशी नदी हुँदै भारत पठाए । राणा शासनविरुद्ध पहिलोपटक सप्तरीको हनुमाननगर जेलकाण्डका बेला गोली चल्यो । प्रजा परिषद्ले काठमाडौंबाहिर गतिविधि गर्न नसकिरहेका बेला सप्तरीको हनुमाननगर जेल काण्डले राणाविरोधी आन्दोलनलाई सशस्त्र बनाउन पृष्ठभूमि तयार ग¥यो । सप्तरीको हनुमाननगर जेलमा आक्रमण गरी भारतीय नेताहरूलाई भगाइएपछि राणा शासकहरू नेपाली स्वतन्त्रता पक्षधर नेताहरूप्रति झन क्रुर भए । सप्तरीका जयमंगलप्रसाद सिंह, रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंहलगायत करिब २ सय जनालाई राणा शासकले पक्राउ गरी फौजदारी अभियोग चलाए । त्यसक्रममा त्यस बखत ९ वर्षका रामराजा र ६ वर्षका भाइ लक्ष्मणप्रसादले पनि १७ महिना जेल बस्नुपरेको थियो । त्यतिबेलै रामराजाले राणा मात्र होइन राजालाई पनि सत्ताबाट हटाउने सपना देखे । त्यस्तो सपना जो एक दिन पूरा भईकन छाड्यो । उनले आफ्नो सपना पूरा गर्न आफ्नो जीवन र धनसम्पत्ति सबै समर्पण गरे ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन्)

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता