२ करोड लुटपाट घटना घरधनीकै मामाको योजनामा

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा गत ४ असारमा दिउँसो भएको २ करोड रुपैयाँ लुटपाट घटनाका प्रमुख योजनाकार उनकै मामा कुलबहादुर खत्री भएको खुलासा भएको छ ।

लुटिएको १ करोड र भान्जाको थप ३५ लाख लिएर फरार

भान्जा डिल्लीबहादुरको काम र व्यवहारलाई नजिकबाट नियाल्दै आएका मामा कुलबहादुरले मान्छे पठाएर उनीसहित परिवारका अन्य सदस्यलाई त्रसित बनाएर २ करोड रुपैयाँ मात्र लुटपाट गराएनन्, घटनापछि आफैं उनको घर पुगेर थप ३५ लाख रुपैयाँसमेत भान्जाबाट फुत्काउन सफल भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी गराएको छ । प्रहरीले सो घटनामा चार जना पक्राउ परेको र मुख्य अभियुक्त कुलबहादुर फरार रहेको जनाएको छ । उनीहरूलाई भक्तपुरको साँगाभन्ज्याङ र ओखलढुंगाबाट विभिन्न मितिमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३० वर्षीय सुजन रसाइली, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई गोकर्णेश्वर बस्ने ३१ वर्षीय भीमबहादुर तामाङ, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–३ घर भई ललितपुरको इमाडोल बस्दै आएका ३६ वर्षीय मुनाराज राई र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई महाराजगन्ज बस्दै आएका ३८ वर्र्षीय कृष्णबहादुर बोहोरा रहेका छन् । कृष्णबहादुर बोहरा बहालवाला हबलदार हुन् । उनी नेपालगन्जको महाराजगन्जगणमा कार्यरत रहेको बुझिएको छ ।

पक्राउ परेका सुजन रसाइली भने विगतमा पनि विभिन्न कसुरमा कारबाही भई छुटेका व्यक्ति हुन् । ४ कात्तिक २०७६ मा काठमाडौं प्रहरीले उनलाई सुनजस्तो पहेंलो धातु देखाई ठगी गरेको कसुरमा पक्राउ गरेको थियो । यस्तै, ११ जेठ २०८० मा इलाका प्रहरी कार्यालय बाह्रबिसेले उनलाई कुटपिट तथा झैझगडा गरेको अभियोगमा पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट ३६ लाख ३६ हजार रुपैयाँ नगद, घटनामा प्रयोग भएको बाप्र०२–०४०प ५५३८ र बाप्र०२–०३३प ६१७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, मोबाइल र अन्य सामान बरामद गरेको छ ।

दधिकोटस्थित एकान्त ठाउँमा घर भएका डिल्लीबहादुर युरोपेली मुलुक खासगरी क्रोएसियामा नेपाली कामदार पठाउन एजेन्टका रूपमा काम गर्दै आएका व्यक्ति हुन् । उनका भाइले क्रोएसियामा बसेर भिसा मिलाउने गर्थे । उनले क्रोएसिया जानेसँग प्रतिव्यक्ति ५ लाख ६८ हजार रुपैयाँसम्म असुल्दै आएका थिए । मामा कुलबहादुर स्वयंले पनि क्रोएसिया जान चाहनेहरूलाई भान्जाकहाँ पु¥याउने गर्थे ।

भान्जा डिल्लीबहादुरले नगद बुझेको मात्रै नभई विदेश पठाएबापतको रकम नगदै बुझेर घरमा राख्ने गरेका ’boutमा पनि उनका मामा जानकार थिए । त्यसपछि उनले लुटपाटको योजना बनाएका थिए ।

भान्जासँग नगद रहेको थाहा पाएपछि मामा कुलबहादुरले लुटपाट गराएको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

आफ्नो योजनाअनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा चिनजान भएका सुजन रसाइलीलाई त्यस’bout जानकारी गराएका थिए । कुलबहादुरको प्रस्ताव सुजनले भीमलाई सुनाए । भीममार्फत मुनाराज र कृष्ण पनि जोडिए ।

रकम लुट्ने योजनाअनुसार ३ असारमा मामा कुलबहादुरले सुजन रसाइलीलाई डिल्लीबहादुरको घर देखाई रेकी (निगरानी) गर्न पनि लगाएका थिए । त्यसपछि भोलिपल्ट ४ असार बिहान ११ बजे डाँका चोरी तथा लुटपाट गर्ने योजनासहित भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर एन्ड पिज्जा प्वाइन्टमा जम्मा भई उनीहरू त्यसतर्फ लागे । लुटपाट गर्न जाँदा प्रयोग गर्ने दुईवटा मोटरसाइकलका नम्बर प्लेट चिन्न नसकिने बनाए । त्यसपछि डिल्लीबहादुरको घरमा गए । डिल्लीको घर एकान्त ठाउँ खेतको बीचमा छ ।

सुजनले डिल्लीको घरबाहिर बसेर निगरानी गरे । बाँकी तीन जनाले घरभित्र बसेर ‘हामी ‘सीबीआई’बाट आएका प्रहरी हौं, अवैध धन्दा चलाएको भन्ने सूचना छ, खानतलासी गर्छौं, यहाँ हस्ताक्षर गर्नुस्’ भन्दै डिल्लीलाई कागज गराए । मामा कुलबहादुरले उनीहरूलाई दराजभित्र पैसा राखिएको सम्म सूचना दिएका थिए । त्यसैले उनीहरूले दराज खानतलासी गरे । त्यसपछि करिब २ करोड रुपैयाँ झोलामा हालेर बाहिरिए ।

रकम लुटपाटपछि चार जना दुईवटा मोटरसाइकलमा भीमको माकलबारीस्थित कोठामा गए । भीमकै कोठाबाट करिब आधा रकम डिल्लीबहादुरका मामा कुलबहादुरले लिएर गए ।

बाँकी रहेको रकमबाट सुजनले ३० लाख र बाँकी ३ जनाले २० लाख रुपैयाँका दरले बाँडे । रकम बाँडफाँटपछि उनीहरूले विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । सुजन र भीम भने तातोपानी र दोलखासम्म पुगेको प्रहरीले जनाएको छ ।

लुटपाटको रकमबाट आफ्नो भाग बुझेपछि मामा कुलबहादुर भान्जा डिल्लीको घर पुगेका थिए । उनले रकम लुटपाट भएको कुरो आफ्नै भान्जाको मुखबाट सुने । तर, थाहा नपाएझैं गरे । बरु उल्टै भने, ‘१० लाखभन्दा बढी नगद राख्न पाइँदैन, यो कुरा प्रहरीमा रिपोर्ट ग¥यो भने फसिन्छ ।’

उनको कुरा सुनेपछि भान्जा डिल्लीबहादुर पनि झस्के । डिल्लीबहादुरको अनुहार राम्रोसँग पढेका कुलबहादुरले लुटपाटको घटनापछि बाँकी रहेको रकम पनि राख्दा राम्रो नहुने भन्दै ३५ लाख रुपैयाँ लिएर गए ।

डिल्लीबहादुरका अनुसार लुटपाट हुनुअघि उनको घरमा साढे ३ करोडजति रकम थियो । लुटपाटपछि बाँकी १ करोड रुपैयाँ डिल्लीले एउटा ट्राभल्स एजेन्सीलाई दिएका थिए । उनले मामाको सल्लाहनुसार प्रहरीलाई खबरसमेत गरेनन् । तर, घटनाको तीन दिनपछि प्रहरीले अरूबाटै सूचना पाएर अनुसन्धान थालेको थियो ।

प्रहरीले पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२० बमोजिम चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाएको छ । प्रहरीले ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिमाना माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयन आज अपराह्न ५ बजेसम्म