रिलायन्स स्पिनिङको आईपीओमा ठगी गर्ने मनसाय

काठमाडौं । आउँदो बिहीबारदेखि प्राथमिक सेयर निष्कासन गर्न लागिएको रिलायन्स स्पिनिङ मिल्सको अडिट रिपोर्टमा नै आशंका व्यक्त भएको छ । अहिलेसम्मकै सबैभन्दा महँगो आईपीओका रूपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको अडिटप्रति अग्रणी लगानीकर्ताले आशंका व्यक्त गरेका हुन् ।

९६ पैसा आम्दानी रहेको सेयरको मूल्य ८ सय २० रुपैयाँ

रिलायन्सले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्षहरूले आईपीओ जारी गर्न कम्पनीले पेस गरेका तथ्यांकहरू गलत र यथार्थपरक नरहेको भन्दै उजुरी दिएका छन् ।

धितोपत्र बोर्डमा दिइएको उजुरीलाई प्रहरी, सरकारी वकिल कार्यालय, अर्थ मन्त्रालयलगायतलाई बोधार्थ दिइएको छ । लगानीकर्ताका विभिन्न चारवटा संगठनका अध्यक्षले संयुक्त रूपमा बोर्डमा उजुरी दर्ता गराएका हुन् ।

धितोपत्र बोर्डमा दर्ता गराएको निवेदनमा कम्पनीले पेस गरेका तथ्यांकहरूको जाँच, विश्लेषण नगरी बोर्डले अनुमति दिँदा धितोपत्र ऐन, २०६३ को उद्देश्यविपरीत भएकाले प्रक्रिया स्थगित गरेर विज्ञहरूबाट छानबिन गराउनुपर्ने तथा अनुसन्धानमा दोषी देखिएकालाई कारबाहीपछि आवश्यक सुधार गरेर मात्रै आईपीओ निष्कासन प्रक्रियालाई अगाडि बढाउन माग गरिएको छ ।

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की र साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जीसीले बुक बिल्डिङ विधि अपनाइ रिलायन्स कम्पनीले ठगी गर्ने मनसाय राखेको उल्लेख गरेका छन् ।

लेखापरीक्षक, क्रेडिट रेटिङ एजेन्सी, संस्थागत लगानीकर्ता निर्णायक पदाधिकारीलाई दबाब एवं प्रभावमा पारी स्वीकृति गरी गराइ अनुचित लाभ लिइ सेयर बजारमा विश्वासको वातावरण घटाउने अभिप्राय रिलायन्सको देखिएकाले आईपीओ प्रक्रिया तत्काल स्थगित गरी अनुसन्धान गर्न माग गरिएको छ ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रियामा धितोपत्र बोर्डले आईपीओ जारी गर्ने अनुमति दिँदा धितोपत्र ऐनको प्रस्तावना र दफा ३ को उपदफा (१) लाई ख्याल नगरिएको भनाइ ती अध्यक्षहरूको छ । रिलायन्स स्पिनिङ मिल्सले पेस गरेका असम्भव प्रायः पूर्वानुमानलाई बोर्डले मान्यता दिएको जनाइएको छ । आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमास सकिनै लागेको अवस्थामा पनि पहिलो त्रैमासकै तथ्यांकलाई आधार मानेर शून्य दशमलव ९६ पैसा प्रतिसेयर आम्दानीबाट ३ हजार ४ सय २७ प्रतिशत आम्दानी बढ्ने भनेर गरिएको प्रक्षेपण भ्रामक र कपोकल्पित रहेको दाबी गरिएको छ ।

धितोपत्र बोर्डले सो तथ्यांक जाँच नगरेकाले छानबिनको आवश्यकतासमेत औंल्याइएको छ । त्यस्तै, विगतमा प्रिमियम र बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरिएका कम्पनीहरूको आर्थिक विवरणबाट पनि सो विधि लागू गर्नुपर्ने तथ्य स्थापित गर्न नसकिने बताइएको छ । तसर्थ, कानुनी छिद्रको दुरुपयोग गरिएकाले सुधार गरेर मात्रै सो कम्पनीको आईपीओ जारी गर्नुपर्ने निवेदकहरूको भनाइ छ ।

रिलायन्स स्पिनिङ मिल्सको नेपाल विद्युत् प्राधिकरणमा विद्युत् महसुलको बक्यौतासम्बन्धी मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको समेत निवेदनमा उल्लेख छ । ७३ करोड ४७ लाख रुपैयाँभन्दा बढी रकमबराबरको महसुल रकम बाँकी रहेको मुद्दा रहेको सेयर बजारसम्बन्धी कारोबार गर्ने अध्यक्षहरूको भनाइ छ । विवादित रकमलाई सम्भावित दायित्वका रूपमा स्वीकार गर्ने तर दायित्वका लागि प्रोभिजनिङ नगर्दा मुद्दा हारेको खण्डमा सो रकम लगानीकर्ताबाट उठाएको रकमबाट तिर्नुपर्ने भनाइ उनीहरूको छ । यसमा बोर्डले किन आँखा चिम्लिएको भनेर आशंका गरिएको छ ।

त्यस्तै, कम्पनीको स्वामित्वमा रहेको जग्गा र भवन ३ अर्ब २४ करोड ९२ लाख रुपैयाँभन्दा बढीको पुनरमूल्यांकन गरी कम्पनीको नेटवर्थ करिब १ सय ९० रुपैयाँले बढाएर कम्पनीको कटअफ प्राइस बढाइएको छ । जुन सर्वसाधारण लगानीकर्ताबाट बढी रकम असुल्न खोजेको स्पष्ट छ । पुनरमूल्यांकनबाट आएको रिजर्भले कुनै नगद प्रवाह नगर्ने, व्यावसायिक प्रयोगमा पनि ल्याउन नसकिने भएकाले लगानीकर्ताबाट बढी रकम असुल्न चलखेल भएको दाबी छ । उल्लिखित तथ्यबाट चालू आव र आगामी आवको इस्टिमेट गर्ने चार्टर्ड एकाउन्टेन्टले धितोपत्र ऐनको दफा ९७ बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३३ बमोजिम जिम्मेवार बनाउँदै दफा १०१ को उपदफा (१) बमोजिम सजाय मागसमेत गरिएको छ ।

पोलिस्टर, भिस्कोज, एक्राइलिक तथा बेलेन्डेड यार्न कटन उत्पादन गर्ने कम्पनीले आर्थिक वर्ष २०७८–०७९ मा १० अर्ब १० करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । तर, आव २०७९–०८० मा घटेर १० अर्ब ६० लाख रुपैयाँमा झरेको छ । कम्पनीको जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् । उनको २१ दशमलव ९५ प्रतिशत सेयर रहेको छ । यसैगरी, शशीकान्त अग्रवालको ४४ दशमलव ९३ प्रतिशत र अक्षय गोल्यानको २२ दशमलव ९८ प्रतिशत सेयर रहेको छ ।

प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ रहे पनि कम्पनीले प्रतिसेयर ८ सय २० रुपैयाँ ८० पैसाको मूल्यमा आगामी २७ असारदेखि आईपीओ जारी गर्न लागेको हो । यसमा न्यूनतम् ५० कित्तादेखि अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । यसका लागि लगानीकर्ताले न्यूनतम् ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । कम्पनीले सेयर बिक्रीबाट ९४ करोड ८८ लाख रुपैयाँ प्राप्त गर्नेछ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६ दशमलव ७५ वर्ष रहेको छ । त्यस्तै, डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० दशमलव ६१ वर्ष रहेको छ । चालू आवको असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९६ पैसा मात्रै छ । चालू आव २०८०–०८१ को अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय ४९ रुपैयाँ ४८ पैसा छ ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको ११ लाख ५५ हजार ९ सय ६० कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर खरिद गर्ने खरिदकर्ता घाटामा जाने भनाइ लगानीकर्ताको छ ।

कम्पनीले गत १२ असारमा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले गत १० देखि १४ माघसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६ सय ८ देखि ९ सय १२ रुपैयाँ निर्धारण गरिएको थियो ।

अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई कटअफ मूल्य अर्थात् ९ सय १२ मा १० प्रतिशत घटाएर कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस वर्ष ९६ पैसा प्रतिसेयर आम्दानी देखाएको कम्पनीको आगामी वर्ष ३ हजार ४ सय प्रतिशतभन्दा बढीले करिब ३३ रुपैयाँ आम्दानी गर्नै नसक्ने विश्लेषकको भनाइ छ । यसमा सर्वसाधारण फस्ने भनाइ लगानीकर्ताको छ

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधि आज राति १२ बजेबाट, के गर्न पाइन्छ के पाइदैन ?