नेपालीमा एउटा उखान छ, ‘नदिने बजुले बुधबार बार्छन् ।’ अहिले अन्तरिक्षमा त्यही रामकहानी सुरु भएको छ । त्यो हो, बुध ग्रह हिराको ग्रह हो । सिंगो बुध नै हिराको मण्डी हो ।
यो वैज्ञानिकको कुरा हो । पत्यार नगर्नु पनि कसरी ? विज्ञान र वैज्ञानिकले संसार खाइसके । आजको युग नै वैज्ञानिक युग तथा वैज्ञानिकको अनुमान, अनुसन्धान र परिणाममा सिंगो विश्व नतमस्तक छ ।
कुरा, बुधग्रहमा रहेको हिराको हो । त्यहाँ ठूलो मात्रामा हिराको खानी रहेको र सिंगो ग्रह नै हिराको हुन सक्ने पनि पनि भनिएको छ । यसले अन्तरिक्ष प्रतिस्पर्धा अझ बढाउने देखिन्छ ।
बुध ग्रह सौर्यमण्डलमा रहेका ग्रहमा सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो । वैज्ञानिकहरूले यो ग्रहभित्र हिराको बाक्लो तह रहेको अनुमान गर्न थालिसकेका छन् । यसले पनि बुधको प्रतिस्पर्धा अवश्यंभावी बनाएर लगिरहेको छ ।
यस्तो कुरा चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चले जनाएको छ । रिसर्चमा कार्यरत एक वैज्ञानिक तथा शोधका सहलेखक यानहाओ लिनले यस्तो कुरा बताएपछि जनसामान्यको पनि चासो बढिरहेको छ । यस ग्रहमा अत्यधिक उच्च कार्बनयुक्त सामग्री छ । कार्बन ज्वलनशील हाइड्रोजन हिलियममा परिणत भएपछि सो हिलियम कार्बनमा परिणत हुन जान्छ ।
उता चीनको प्रतिस्पर्धी र हालसम्म एकछत्र अन्तरिक्ष अन्वेषण, खोज र विचरण गर्दै आएको अमेरिकाको वैज्ञानिक संस्था नासाले पनि यसमा ‘होमा हो’ थप्न पुगेको छ । नासाको मेसेन्जर अन्तरिक्षयानले समेत आफ्नो अध्ययनका क्रममा बुध ग्रहको सतहमा असामान्य रूपले काला क्षेत्र पत्ता लागेको स्वीकार गरेको छ । त्यसलाई ग्राफाइटका रूपमा पहिचान गरिएको छ ।
पृथ्वीको पनि चुम्कीय शक्ति छ । तर, बुधको पिण्डअनुसार यसको चुम्बकीय शक्ति र चुम्बकीय क्षेत्र असाधरण रूपमा शक्तिशाली छ । ग्रह आफैंमा तातो लाभा चिसिएर बनेका हुन् । त्यसमा पनि बुध ग्रह त विशेष चासोको विषय बनिरहेको छ ।
बुधमा हिराजस्ता बहुमूल्य पदार्थ केन्द्रमा जमेर त्यसको बाहिर पातलो सतह बनेको अनुमान गरिएको छ । बुध ग्रह आफैंमा सिलिकेट र कार्बनले भरिएको हुनसक्ने वैज्ञानिकको दाबी छ । यसभित्र हिराका ‘जोनहरू’ अथाह गहिराइसम्म रहेको विश्वास गरिएको छ । तर, नेपाली उखानमा ‘नदिने बजुले बुधबार बार्छन्’ भनिए झैं बुधमा पुग्न निकै मुस्किल र प्रायः असम्भव झैं छ । किनकि, यो सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो ।
(पत्रपत्रिकाको सहयोगमा)






