अबु सुफ यान खानले बुझाए नागरिकता

काठमाडौं । झुठो विवरण लेखाएर किर्ते नागरिकता र राहदानी लिएको आरोपसहित विवादमा परेका म्यानपावर व्यवसायी अबु सुफ यान खान मुसलमानले कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा पुगेर आफूले लिएको नागरिकताको प्रमाणपत्र बुझाएका छन् ।

अब राहदानी बुझाउँदै

अब उनले सोही जिल्लाबाट लिएको राहदानीसमेत बुझाउँदै छन् । यसअघि आफूले गरेको यस्तो गलत कार्य लुकाएर राजनीतिक शक्ति र पहुँचका आधारमा यसअघिको सरकारबाट साउदी अरबका लागि नेपाली राजदूत नियुक्तिको सिफारिसमा समेत परेका खानले अन्ततः कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा पुगेर आफुले लिएको नागरिकताको प्रमाणपत्र बुझाएका हुन ।

अहिलेको वर्तमान सरकारले साउदी अरबका लागि नेपाली राजदूतमा नरेशविक्रम ढकाललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मुलुकका राजदूत नियुक्तिका लागि गरेको सिफारिसबमोजिम सरकारले खान नियुक्तिको सिफारिस बदर गरी साउदीको नयाँ राजदूतमा ढकाललाई पठाउने निर्णय गरेको हो ।

यसअघि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय तौलिहवाबाट गत २८ असारमा तीनपुस्ते विवरण खुलाएर यस्तो आरोप लागेका खान र अर्का अबुबकर खान मुसलमानलाई सक्कल नागरिकता र राहदानीसहित उपस्थित गराउन कपिलवस्तु जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्राचार गरेपछि खानले झुठो विवरण लेखाई लिएको नागरिकताको सक्कल प्रमाणपत्र बुझाएका हुन् ।

सो आरोप लागेका अबु सुफ यान खान मुसलमान र अबुबकर खान मुसलमानले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी रद्द गरिपाऊँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भएको थियो । सोही निवेदनका आधारमा उनीहरूलाई प्रहरीले सक्कलै नागरिकता र राहदानीसहित उपस्थित हुन दबाब दिएको थियो ।

सोही विषयलाई लिएर गृह मन्त्रालयले समेत कपिलवस्तु जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाही गर्न गत ३० असारमा पत्राचार गरेको थियो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीका आधारमा छानबिन गरी आवश्यक कारबाही गर्न भनेको थियो ।

अनुसन्धानका क्रममा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत ७ असारमा साउदी अरबका लागि नेपाली राजदूत नियुक्ति गर्न सिफारिस गरेका म्यानपावर व्यवसायी खानले झुठो विवरण लेखाएर किर्ते नागरिकता र राहदानी लिएको खुलेको थियो ।

गत असारमा खानलाई राजदूत नियुक्तिका लागि सिफरिस गरिएको विषयलाई लिएर संघीय संसद्देखि सडकसम्म सर्वत्र विरोध भएको थियो । सो समय गृह र परराष्ट्र मन्त्रालयदेखि धेरै ठाउँमा खानविरुद्ध उजुरी परेको थियो ।

भारतको सेवा सुविधा लिएका विवादास्पद व्यक्ति खानलाई नेपाली राजदूत नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सबैतिरबाट चर्को विरोध भइरहेका बेला सो समय राष्ट्रवादी नेपालीका तर्फबाट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत धेरै ठाउँमा राजदूत नियुक्तिको निर्णय फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

राष्ट्रवादी नेपालीका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा गत १४ असारमै उजुरी दर्ता गरिएको थियो । सोही उजुरीका आधारमा सरकारले खान’bout गम्भीर छलफल र अनुसन्धान गरेको थियो ।

राष्ट्रवादी नेपालीहरूका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयलगायत विभिन्न निकायमा दर्ता गरिएको सो उजुरीमा गत ७ असारमा मन्त्रिपरिषद्को सिफारिसबमोजिम साउदी अरबका लागि नेपाली राजदूत नियुक्तिमा परेका खानको निर्णय विवादास्पद भएकाले सरकारले यस्तो निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरिएको थियो । उनीहरूले खान राजदूतमा नियुक्त हुनका लागि योग्य नरहेको जानकारी गराउँदै यस्ता विवादास्पद व्यक्ति नेपालभित्र र बाहिर रही विभिन्न अवैधानिक गतिविधिमा संलग्न भएको समेत दाबी गरेका थिए ।

कुनै कूटनीतिक नियुक्तिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायभित्र केही दाग नलागेको निर्दोष, उच्च नैतिक चरित्र र इमानदारिता भएका व्यक्ति मात्र योग्य हुने भन्दै उनीहरूले यस्ता आपराधिक अभिलेखको उपस्थितिले राजदूत हुन आवश्यक योग्यतालाई कमजोर बनाउने भएकाले खानको नियुक्तिबाट मुलुकको गरिमा, मान, प्रतिष्ठा नै जोखिममा पर्ने बताएका थिए ।

सो उजुरीमा उनीहरूले खानको नागरिकता, राहदानी र शैक्षिक प्रमाणपत्र किर्ते रहेको दाबी गर्दै उनीसँग नेपाली र भारतीय दोहोरो नागरिकता रहेको एवं भारतमा गैरकानुनी गतिविधिमा संलग्नता भएको तथा भारतको क्राइम ब्रान्चमा उनीविरुद्ध विभिन्न आपराधिक मुद्दासमेत चलिरहेको आरोप लगाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन