वडाध्यक्ष अमेरिकाबाट नफर्किने, वडा सदस्य कार्यवाहक

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईलाई ज्ञापनपत्र बुझाउदै स्थानीयबासी ।

खोटाङ । नागरिकलाई सेवा दिन छाडेर वडाध्यक्ष विदेश गएपछि खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका स्थानियबासीले गुनासो गरेका छन् । साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित रहेको भन्दै स्थानीयबासीले गुनासो गरेका हुन् ।

स्थानीयवासीहरूले सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईलाई वडाध्यक्षको अनुपस्थितिमा लामो समयदेखि नागरिकहरूले भोग्नु परेको समस्या’bout ज्ञापनपत्र बुझाउदै गुनासो पोखेका हुन् । वडाध्यक्ष कटवाल अमेरिका गएपछि, हाल वडा सदस्यले कार्यवाहक भई वडा सञ्चालन गर्दै आएका छन् । वडाध्यक्ष नुहँदा नागरिकता सिफारिसदेखि विकास निर्माणका महत्वपूर्ण कार्यहरूसम्म प्रभावित भएको स्थानीयवासीहरूको भनाई छ ।

पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा वडाध्यक्ष कटवालले गैरजिम्मेवार ढंगले आफूलाई मतदान गर्ने नागरिकप्रति अन्याय गरेको र नेपालको संविधान विपरीत काम गरेको उल्लेख छ । स्थानीयवासीहरूले १५ दिनभित्र समस्या समाधान नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

उनीहरूले वडाध्यक्ष कटवालले आफूले पाउने सेवा सुविधा उपभोग गर्ने गरेको तर जनतालाई सेवा नदिएको आरोप लगाएका छन् । स्थानीयहरूले साकेला गाउँपालिका मार्फत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय खोटाङलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

गाउँपालिका अध्यक्ष राईले समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ज्ञापनपत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवीहरू लगायत ५३ जना स्थानीयवासीहरूले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण