सप्तरी । जनबिद्रहोबाट उत्पन्न अस्थिरताका बीच छिमेकी मुलुक बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि निरन्तर भइरहेको हिंसा घटनाको घोर निन्दा गर्दै मधेशी आयोगकी सदस्य आभासेतु सिंहले हिंसाबाट जोगाउन र सुरक्षाका लागि पर्याप्त कुटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेकी छिन् ।
शुक्रबार उनले आफ्नो निजी सचिवालयमार्फत एक प्रेस विज्ञप्ति जारि गर्दै बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथी केही दिन यता हत्या, आक्रमण, आगजनी, त्रासदिपूर्ण व्यवहार तथा मानवता बिरोधी गतिविधी ह््वातै बढेकोमा चिन्ता समेत व्यक्त गरेकी छिन् ।
“जनबिद्रोहबाट उत्पन्न अस्थिरतासँगै त्यहा अराजक गतिविधी पनि तिब्र बनेको छ, विज्ञप्तिमा भनिएको छ–अल्पसंख्यक हिन्दु र बुद्ध धर्मावलम्बीहरुमाथी मानवता बिरोधी गतिविधी तत्काल रोक्न सम्बन्धीत पक्षसँग जोडदार माग गर्दछौं ।”
उनले बंगलादेशमा धर्म र नश्ल पहिचान गरि भइरहेको हिंसा रोक्न नेपाल सरकारलाई तत्काल पर्याप्त कुटनीतिक पहल थाल्न समेत प्रेस विज्ञप्तिमार्फत आग्रह गरेकी छिन् । आरक्षण बिरोधी आन्दोलन र त्यसपश्चात् तत्कालिन प्रधानमन्त्री शेख हसिना देश छाडेपछि अहिले त्यहाका हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आवास र धार्मिक स्थलहरुमा दिनहुँजसो आक्रमणको घटना हुन थालेको बताइएको छ ।