धनगढी । कैलालीको अत्तरियामा एक किशोरी सामूहिक करणीको सिकार भएकी छन् । गोदावरी नगरपालिका वडा नम्बर ३ घर भएकी किशोरी मध्यरातमा सामूहिक करणीको सिकार भएकी हुन् ।
एक पक्राउ, चार जना फरार
जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका वडा नम्बर १० का पदम थापा भने पक्राउ परेका छन् भने अन्य चार जना फरार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताए । ‘घटनामा संलग्न मुख्य दोषी पक्राउ परिसकेको छ,’ डीएसपी थापाले भने ‘घटनामा जोडिएका चार जना फरार छन् । उनीहरु सबै उमेर पुगेकै केटाहरु भएको खुलेको छ ।’
साउन ९ गते राति १७ वर्षीया ती किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
थापाले फेसबुकमा फेक आइडी बनाएर ती किशोरीसँग कुरा गर्दै आइरहेको खुलेको छ । परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति उनलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका १० को मालाखेती जंगलमा पुगाएका थिए । थापाले सोही स्थानमा आफ्ना चार जना साथीहरुलाई समेत बोलाएका थिए ।
थापासहित उनका अन्य साथीहरुले मालाखेती जंगलमा किशोरीलाई सामूहिक करणी गरेपछि पुनः घरमै ल्याएर छोडेको समेत खुलेको छ । किशोरीले आफूमाथि सामूहिक करणी गर्ने कसैलाई पनि चिनेकी थिइनन् । जबरजस्ती करणीपछि थापाले किशोरीलाई फेसबुकबाट ब्लक गरेका थिए । पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले किशोरीसँग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए । पक्राउ परेका पदमलाई मालाखेती प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ ।






