बंगलादेशमा हालैका दिनमा घटेको घटनाले धेरैलाई हतप्रभ र अचम्मित बनाएको छ । बंगलादेश बाहिरका लागि त यो घटना शृंखला निक्कै अप्रत्याशित नै रह्यो । हामीलगायत छरछिमेकका मुलुकमा अलि बढी नै तर्कवितर्क र विश्लेषण हुनु स्वाभाविकै हो । हाम्रो मुलुकमा पनि तर्क कुतर्क सबै भए । कैयन विश्लेषक भनाउँदाहरू भयावह अवस्थाको कल्पनाले चिन्तित देखिए । सबैभन्दा रमाइलो पक्ष त के रह्यो भने नेपालमा पनि बंगलादेशको दृश्य दोहोरिने कल्पनाले तरंगित हुनेहरूसमेत देखिए । कतिपयले त आफू बालुवाटारको प्रधानमन्त्री निवासको शयनकक्षमा पल्टिँदै ‘क्रान्तिकारी’ फोटो खिचाएको सपना पनि देखे । यस्तो खाले सपना देखेर आह्लादित हुनेहरू वास्तवमा यत्तिकै रोकिएका थिएनन् भन्दा फरक नपर्ला । उनीहरू नेपालको वर्तमान नेतृत्ववर्गलाई शेख हसिना शैलीमा लखेटेपछि आफ्ना ‘पूजनीय श्रद्धेय’ सिंहासनारूढ भएर शत्रुदमन गरेको दृश्यको कल्पनाले पुलकितसम्म भएका थिए । यी स्वप्नप्रेमी उत्साही व्यक्तिलाई यसभन्दा अघि श्रीलंकामा भएको राष्ट्रपति भवन आक्रमण र पाकिस्तानमा जर्नेलको आवास विध्वंशको घटनाले थप आशावान बनाएको हुनुपर्छ ।
तर, सपना सपना नै हो, यथार्थ होइन । हुन त, हामी कहाँ ‘सपना हेर्न त पाइन्छ नि’ र ‘सपना नदेखी सफल भइन्न’ भन्ने आदर्श वाक्य रटान गर्नेहरूको कमी छैन । तर, सपना देख्ने नाममा वा उच्च आकांक्षा पाल्ने नाममा आधारहिन भ्रमकोजालोमा रुमल्लिनु भनेको स्वयं सम्बन्धित व्यक्तिको हितका लागि हानिकारक हुन्छ ।
राजनीति वा सार्वजनिक जीवनमा को कति स्वच्छ छ वा भ्रष्ट छ भन्ने भन्दा पनि को कसरी चिनिन्छ वा चिनाइन्छ भन्ने विषय महत्वपूर्ण हुँदो रहेछ । बंगलादेशमा के भएको थियो ? त्यहाँ बेगम खालिदा जिया र मुहम्मद युनुसलगायत आफ्ना विपक्षीलाई शेख हसिनाले महाभ्रष्टका रूपमा चित्रण गरेर जनतासमक्ष प्रस्तुत गरिन् । विपक्षीले आआफ्नै ढंगले शेख हसिनालाई क्रूर लोकतन्त्र विरोधी तानाशाहका रूपमा प्रस्तुत गरे । वास्तविकता के थियो भने यी दुवैथरिका एकआपसविरुद्ध आरोप आंशिक भए पनि सत्य नै थिए । हामी बाह्य पर्यवेक्षकको नजरमा पनि शेख हसिनाको शासन शैलीमा थोरै तानाशाही प्रवृत्ति देखिएकै हो । सायद यो बंगलादेशको सत्तारूढ व्यक्तिका तर्फबाट विपक्षीप्रति देखाइने स्वाभाविक व्यवहार हो । अर्कोतर्फ आर्थिक रूपमा भ्रष्ट आचरणको आरोप लागेका विपक्षी पनि वास्तवमै भ्रष्ट थिए । एक हदको आर्थिक भ्रष्टाचार पनि सायद बंगलादेशको समाजमा स्वीकार्य विषय थियो ।
शेख हसिनाले मुलुकका लागि समग्र रूपमा राम्रै काम गरेको प्रतीत हुन्छ । कमसेकम मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन उनले ठूलो योगदान दिएको मान्नैपर्छ । तीनतिरबाट सीमा जोडिएको भारतसँग राम्रो सम्बन्ध कायम गरेर उनले कुनै राष्ट्रघात गरेकी थिइनन्, राष्ट्रको सेवा नै गरेकी थिइन् । उनले चीनसँग पनि समदूरी कायम गरेकी थिइन् भने महाशक्ति राष्ट्र अमेरिकाको अस्वाभाविक मागलाई सम्बोधन गरिनन् । पाकिस्तान त सधैं नै बंगलादेशमा अस्थिरता चाहन्थ्यो नै । चीन पनि सामरिक कारणले बंगलादेशमा प्रभुत्व चाहन्थ्यो । इस्लाम कट्टरपन्थीलाई प्रयोग गरेर चीन र पाकिस्तानले शेख हसिनालाई भारतपरस्त तानाशाहका रूपमा प्रस्तुत गरे । उता अमेरिकाको स्वार्थ पूरा नभएका कारण उसले आफ्ना ‘श्वेत प्यादा’हरू प्रयोग गरेर शेख हसिनालाई क्रूर तानाशाहका रूपमा जनतासामु अगाडि ल्याए । राष्ट्रवाद र लोकतन्त्रको संयुक्त लेपले सोझा जनताको भावना नराम्ररी भड्कियो ।
अब नेपालको कुरा गरौं । नेपालका नेतालाई बंगलादेशको स्तरमा भ्रष्टाचारको आरोप लागेको छैन । हेक्का रहोस्, बंगलादेशको स्तरमा छैन † साथै, नेपालका कुनै नेता बंगलादेशका जस्ता शतप्रतिशत विदेशीको इसारामा सञ्चालित पनि छैनन् । पुरै विदेशीको इसारामा चल्ने कोही भए ती मूल वृत्तभन्दा बाहिर छन् त्यसकारण प्रभावशाली छैनन् । नेपालका वर्तमान नेतृत्वलाई शेख हसिनालाई झैं क्रूर तानाशाहका रूपमा प्रस्तुत गर्न सकिने सम्भावना त छँदै छैन । यसकारण कुनै पनि नेताविरुद्ध आमआक्रोश भड्किने वा कसैले भड्काउन सक्ने अवस्था पटक्कै छैन ।
सबैभन्दा महत्वपूर्ण कुरो त नेपाली जनता हदैसम्म सहिष्णु छन् । २०६४ सालको संविधानसभाको निर्वाचन लगत्तै राजा ज्ञानेन्द्रको नारायणहिटी दरबारबाट बहिर्गमनको दृश्य सम्झौं त † साँच्चिकै ज्ञानेन्द्र कस्ता थिए भन्दा पनि उनको छवि कस्तो थियो ? उनलाई जनताले लोकतन्त्रका परम विरोधीका रूपमा चिन्थे, उनका छोराका कारण अत्यन्तै बदनाम थिए र अधिकांश जनताले ‘दाइमारा’ मान्थे । संसारभर पदच्यूत राजा या मारिएका छन् अथवा भागेर निर्वासनमा जान बाध्य भएका छन् ।
ज्ञानेन्द्र सरकारी सुरक्षामा हाँसीहाँसी सरकारले उपलब्ध गराएको आवासमा सरेका थिए । जनताको सहिष्णु मिजासको योभन्दा ज्वलन्त प्रमाण के पो होला र ! नेपालमा बंगलादेशको दृश्य दोह-याउने सपना कसैले नदेखोस् । सपना देखिहाले पनि भ्रमको जालोमा नफसोस् !