उज्यालो नदेखी बिदा भए प्रकाश

काठमाडौं । प्रकाश तिमिल्सिना तिनै गायक थिए, जो छामेरै ‘आईफोन’ बनाउन सक्थे । सारंगी यस्तरी रेट्थे कि मानौं, सारंगी नै उनी हुन् । गितार, तबला, हारमोनियमका सप्तकका आरोह– अवरोहमा नदीझैं बहन्थे, प्रकाश । उनले अंग्रेजी बोल्दा विदेशी पर्यटकसमेत तीनछक पर्थे । गायकीको त कुरै छोडौं ! सायद, कोशीको भेलबाट भगवान्ले उनलाई गाउनकै लागि धर्तीमा छोडेका थिए ।

घटना २०४५ सालको हो । जोडले भूकम्प आयो । सुनसरी प्रकाशपुरका उनी एक वर्षका थिए । कोशीनजिकको घरसँगै बाढीले सिंगो परिवार बगायो । प्रकाश भने माझीको जालमा परे । माझी एकछिन त दंग परे, ‘लौ ! ठूलै माछा प¥यो ।’ तर, जालमा शिशु उमेरका प्रकाश देखेर माझी अक्क न वक्क परे । संयोग कस्तो भने माझी उनकै मीतबुवा रहेछन् । परिवार कोशीको भेलमा विलिन भएसकेको थियो, बाँकी थिइन्, उनकी हजुरआमा । मितबुवा माझीले प्रकाशलाई हजुरआमाको कोखमा सुम्पिदिए । तर, उनको दृष्टि सदाका लागि गुम्यो । तिनै होनहार गायक प्रकाश दोस्रो जीवन पाएको ३६ वर्षपछि शनिबार साँझ ‘भगावन् प्यारा’ भए ।

विभिन्न १४ भाषामा गाउन सक्ने क्षमता भएका उनले ५५ मुलुकमा ‘सांगीतिक कार्यक्रम’ गर्ने क्रममा दक्षिण कोरियाको पुसान अस्पतालका चिकित्सकले ‘देख्न सक्ने’ विश्वास दिलाए । त्यसपछि आर्थिक संलकनमा लागेका प्रकाशमा नयाँ ऊर्जा थपिएको थियो । उनको आँखाको नसा नसुकेको र चुँडिएकाले उपचार सम्भव थियो । १० वर्षअघि नै ४५ लाख खर्च लाग्ने भनिए पनि उनले उपचार गर्न सकेनन् ।

बाल्यकालबाटै गाउन–बजाउन सिपालु प्रकाश गाउँघरमा सबैका प्यारा थिए । कक्षा १२ सम्म अध्ययन गरेका उनले त्यसपछि पढाइ अघि बढाउन सकेनन् । २०६५ सालमा ‘दिव्य दृष्टि’ एल्बम ल्याए पनि उनको ख्याति ‘आरती ६६’मा समावेश ‘प्रिय तिम्रो सिउँदोमा…’ पछि बढ्यो । त्यसपछि प्रकाशको सांगीतिक धरातल आकाशसम्मै पुग्यो । अझ ‘तिम्रै हातको सिन्दुर लाउँछु…’ पछि उनी ‘ईमेज, कालिका र अन्नपूर्ण’जस्ता प्रतिष्ठित अवार्डका भागीदार बने । र, २०६८ सालमा ‘प्रकाश’ श्रव्य संग्रह ल्याए । त्यसो त, ‘प्रकाश २’मा समावेश ‘मान्छे रै’छे खली…’ पनि उत्तिकै रुचाइयो । उनी भन्ने गर्थे, ‘स्वरबिनाको मान्छेको संगीतमा काम छैन, स्वर हुनेका लागि मात्र संगीत हो, जसले गीत गाएर भविष्य बनाउन सक्छ ।’

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गायक तिमिल्सिना ललितपुर–१८ भैंसेपाटीस्थित कोठामा शनिबार राति मृत भेटिएका थिए । पाटन अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बेहोस अवस्थामा रहेको सूचना प्राप्त भएलगत्तै तत्काल अस्पताल पु¥याइए पनि उनलाई ‘ब्रट डेड’ घोषणा गरिएको थियो ।

३७ वर्षीय दृष्टिविहीन गायक तिमिल्सिना शनिबार साँझ ६ः३० बजेतिर ललितपुर भैंसेपाटीस्थित कोठामा अचेत अवस्थामा भेटिएका थिए । तत्काल उपचारका लागि पाटन अस्पताल लगिए पनि उनलाई बचाउन सकिएन ।

पोस्टमार्टम रिपोर्टमा हृदयाघातबाट २४ घन्टाअघि नै मृत्यु र मिर्गौला खराब देखिएको छ । पोस्टमार्टमपछि आइतबार दिउँसो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्रांगणमा उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

सोहीक्रममा प्रकाशकै चर्चित गीत ‘आखिर मलाई झुक्याएर..,’ गायर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरियो । आइतबार नै उनको पार्थिव शरीर पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिएको छ । परिवारमा श्रीमती मात्रै छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु