रोम । इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका खेलाडीद्वय ड्यानियल रुगानी र ब्लेइस म्याथुइडी कोरोना भाइरस (कोभिड–१९) मुक्त भएका छन् । आफ्ना दुई २५ वर्षीय इटालियन डिफेन्डर रुगानी र ३३ वर्षीय फ्रेन्च मिडफिल्डर म्याथुइडीले उपचारपछि कोरोना भाइरसबाट निको भएको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्लबले दुवै खेलाडीमा दोहोरो परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएको बताएको छ । अब उनीहरू अझै दुई साता सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।
रुगानी कोरोना संक्रमण देखिने पहिलो इटालियन सिरी ‘ए’ खेलाडी बनेका थिए । त्यसको केही सातापछि फ्रेन्च खेलाडी म्याथुइडीमा पनि कोरोना भाइरस देखिएको थियो । दुवै खेलाडीले कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचारमा पुगेका थिए । यस्तै, युभेन्ट्सका अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा पनि कोरोना संक्रमण देखिएको थियो । उनी पनि उपचारबाट स्वस्थ हुने क्रममा रहेको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीकै कारण इटाली सरकारले मे ३ सम्म लकडाउन घोषणा गरेको छ । सोही काराण इटालीमा खेलकुद गतिविधि ठप्प छ ।