जुडो टोलीको बिदाइ

काठमाडौं/रास– अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

२० देखि २७ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन् । महिलामा मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन् । आईजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्यसमेत रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि बाकु जानेछन् । बज्राचार्य शुक्रबार जाँदै छन् भने बाँकी टोली १७ सेप्टेम्बरमा जाने कार्यक्रम छ ।

दुई खेलाडी फुपु र मोहन हाल क्रमशः जापान र अस्ट्रेलियामा रहेकाले उनीहरू त्यतैबाट बाकु जाने जुडो संघले जनाएको छ । मोहनबाहेक सबै खेलाडीले यसै महिना इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।