इलाम । इलामका ३ जना सञ्चारकर्मी सम्मानित भएका छन् । प्रेस चौतारी इलामले बलाराम बराइली, सरिता राई र सन्तोष गिरीलाई सम्मान गरेको हो । प्रेस चौतारी नेपाल इलामको आयोजनामा जिल्ला समन्वय समिति इलामको सभा हलमा भएको समावेशी पत्रकारिताः अवसर र चुनौती अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहको अवसर पारेर सम्मान गरेको हो ।
सम्मानित व्याक्तिलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग अध्यक्ष सटेन्द्र जवेगु, प्रेस चौतारी जिल्ला शाखा अध्यक्ष भीम चापागाईले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।
‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ बाट बराइली सम्मानित भएका हुन । २०६४ सालदेखि पत्रकारिता सुरु गरेका बराइलीले पूर्वाञ्चल दैनिक, जनसंसद् दैनिक हुँदै लामो समयसम्म इलामपोष्ट दैनिकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी सँगै जिल्लामा क्रियाशील रहेर काम गरिरहेका सञ्चारकर्मी सरिता राई र सन्तोष गिरी पनि क्रियाशील पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।
राई २०७६ सालदेखि इलाम एफएम, सप्तरङ्गी अनलाइन, इलामपोष्ट दैनिक हुँदै हाल सेवार खबर अनलाइनमा आबद्ध छिन भने गिरी इलाम टाईम्स, चुलाचुली मिडिया र रेडियो नेपालमा आबद्ध रही काम गरिरहेका छन् । प्रेस चौतारी नेपालले हरेक वर्ष जिल्लामा रही क्रियशिल रूपमा काम गरिरहेका पत्रकारलाई पुरस्कृत गर्दे आएको छ ।
कार्यक्रममा समावेशी पत्रकारिताः अवसर र चुनौती विषयक खुला छलफल पत्र डा. देवी क्षेत्री दुलालले राखाका थिए भने उक्त छलफल पत्रमा उपस्थित व्याक्तिहरुले आफ्नो धारणा व्यक्त गरेका थिए । छलफलबाट आएको धारणालाई आगामी दिनमा प्रेस चौतारी इलामले आत्मसाथ गर्दे लैजाने जिल्ला अध्यक्ष भीम चापागाईँले बताए ।






