सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–४ स्थित सुन्दर दुलारी सिटी सफारी संघले सिटी सफारी सेवालाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ८६ जना चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट वितरण गरेको छ।
संघका अध्यक्ष नारायण सुबेदीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा लाइसेन्स प्राप्त ८६ जना सिटी सफारी चालकलाई चालकको परिचय खुल्ने नम्बर अंकित सुरक्षित ज्याकेट हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार अपनाउनुपर्ने बताए। उनले चालकको स्पष्ट पहिचान खुल्ने नम्बरसहितको ज्याकेट वितरणले सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुको विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले सवारी चालकहरूले ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित र अनुशासित रूपमा सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिए। चालकको पहिचान खुल्दा यात्रुलाई समेत सुरक्षित महसुस हुने र कुनै समस्या आएमा सम्बन्धित चालकको पहिचान गर्न सहज हुने उनले बताए।
कार्यक्रममा बोल्दै सुन्दर दुलारी सिटी सफारी संघका अध्यक्ष नारायण सुबेदीले संघले पहिलो चरणमा वैधानिक रूपमा लाइसेन्स प्राप्त ८६ जना चालकलाई मात्र नम्बरसहितको सुरक्षित ज्याकेट वितरण गरिएको जानकारी दिए। उनले चालकको पहिचान स्पष्ट हुने गरी प्रत्येक ज्याकेटमा छुट्टै नम्बर राखिएको बताए।
अध्यक्ष सुबेदीले अबदेखि सिटी सफारीमा यात्रा गर्दा यात्रुहरूले अनिवार्य रूपमा नम्बरसहितको आधिकारिक ज्याकेट लगाएका चालकद्वारा सञ्चालित सिटी सफारीमा मात्रै यात्रा गर्न आग्रह गरे। यसबाट यात्रुको सुरक्षा सुनिश्चित हुनुका साथै अवैध तथा पहिचानविहीन चालकबाट सञ्चालन हुने सवारीलाई निरुत्साहित गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
उनका अनुसार नम्बरसहितको ज्याकेटले चालकको पहिचानलाई व्यवस्थित बनाउने, यात्रु र चालकबीच विश्वास बढाउने तथा कुनै गुनासो वा समस्या आएमा सम्बन्धित चालकको पहिचान गर्न सहज हुने विश्वास गरिएको छ। यस अभियानले सिटी सफारी सेवालाई थप जिम्मेवार, अनुशासित र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघले जनाएको छ।
संघले आगामी दिनमा चालकहरूको क्षमता अभिवृद्धि, ट्राफिक सचेतना तथा सुरक्षित सार्वजनिक यातायात प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय तह, ट्राफिक प्रहरी र सिटी सफारी व्यवसायीबीचको सहकार्यले सुन्दरहरैंचामा सुरक्षित, भरपर्दो र व्यवस्थित सार्वजनिक यातायात सेवा विस्तार गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
सम्बन्धित समाचार
सुन्दरहरैचामा एन प्याब्सनद्वारा नगरस्तरीय पेन्सिल स्केच कार्यशाला सम्पन्न
जनस्तरवाट फोक्सिङटार पुल पुनर्निर्माणको पहल, १५१ सदस्यीय समिति गठन
पूर्व बैंकर रेशम थापाको कार दुर्घटनामा निधन
रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान
ग्रामथानमा ‘पैसा नदिई जग्गा खाइदिए’ भन्दै धरधरी रोइन भागबती
युवाको जागरण, सुरक्षित यात्राको अभियान : गछिया युवा समाजको प्रशंसनीय पहल
जनश्रमदानबाट खनिएको सडकको विश्व बैंकको लगानीबाट कालोपत्रे सुरु
पानीमा डुबेर ४ बालिकासहित ५ को मृत्यु






