बाजुरा । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा र हुम्लाका केही गाउँमा सवारीसाधन पुग्दा खुसीसँगै दुःख थपिएको छ । ज्याला मजदुरी गरेर र भारी बोकेर गुजारा चलाउने अधिकांशका लागि सवारीसाधन पुग्नु दुःखको कारक बनेको छ । गाउँमा काम नपाएर पेट पाल्न र जहान कबिला पाल्ने पिरलोले उत्पादनशील जनशक्ति भारतका गल्ली र अन्य मुलुक गएपछि गाउँ खाली भएका छन् ।
‘मार्तडीबाट कोल्टी बजारका साहुको भारी बोकेर आएको पैसाले चुलो बाल्ने र आङ ढाक्ने एकसरो लुगा फेर्न पुगेको थियो, गाउँमा गाडी आएपछि टाउकाको नाम्लो त हट्यो तर भोको पेटलाई थाम्न नाम्लोको पटुका बनाउनुपरेको छ,’ बूढीनन्दा नगरपालिका–१ काखट्के लुहार दुखेसो पोख्छन् ।

उनलाई पछिल्ला दिनमा दुई छोरा, तीन छोरी, दुई बुहारी र नातिनी गरी १० जनाको परिवार पाल्न हम्मेहम्मे छ । ‘एउटा छोरा कोरोना कहरपछि घर फर्किएको छ, अर्को छोरा भारतमा काम गरिरहेको छ, परिवार पाल्न गाह्रो परेको छ, अर्काको जमिन अधियाँ लिएर बूढाबूढीले सकी÷नसकी काम गरिरहेका छौं,’ बुढीनन्दा गरपालिका–१ की झिनु लुहारले गुनासो पोखिन्, ‘गाउँमा अरू काम पाइँदैन, गाडीको सुविधा पैसा हुनेले लिएका छन्, हामीलाई गाडीले उडाएको धूलो शरीरबाट झार्नु मात्र भएको छ ।’
पहिले गाउँमै भारी बोकेर गुजारा चल्ने गरेको भए पनि पछिल्लो समय पेट पाल्न कठिन भएपछि साहुसँग ऋण काढेर ३ वर्ष मलेसिया बसेको झिनुका छोरा अर्जुनले बताए । ‘त्यहाँको गर्मी सहन नसकेर फर्किएँ,’ अर्जुनले भने, ‘केही दिनपछि यहाँ बस्ने अवस्था नभएकाले फेरि भारतको बाटो नलागी पेटलाई आराम दिन सकिएन ।’ कोरोनाले गर्दा भारतका साहुले पनि कामबाट निकालिदिएको उनको गुनासो छ । ‘कामबाट निकालिदिएपछि फेरि फर्किएर यहीँ आएँ, अहिले साहुको खेतमा सपरिवार काम गरिरहेका छौं,’ अर्जुनले भने ।
अहिले बाजुराको सदरमुकाम मार्तडीबाट ४३ किलोमिटर र कालिकोटबाट हुम्लासम्म सडक पुगेको छ । यहाँका गाउँमा सवारीसाधन चल्न थालेपछि स्थानीयले भारी बोक्नुपरेको छैन । टाउकाको नाम्लो छुटेको छ । भारी बोकेर आफ्नो परिवार पाल्दै आएकालाई वैकल्पिक व्यवस्था नहुँदा झनै कठिनाइ भएको छ ।
गाडी चढ्ने सपना पूरा
गाउँमा सवारीसाधन आएपछि स्थानीयको गाडी चढ्ने धोको पूरा भएको छ । ‘कोल्टीमा उपचार नभएर जिल्ला बाहिर बिरामी लैजानुपर्दा गाडीको सुविधा छ,’ बूढीनन्दा नगरपालिका–१ का वीरमान सार्कीले भने, ‘हामीलाई बुढेसकालमा आवतजावत गर्न सजिलो भएको छ ।’ सुर्खेत, नेपालगन्ज आउन–जान बाटो राम्रो भए सहज हुने उनको भनाइ छ । उनले सवारीसाधन पुगेपछि गाउँबाट बिरामी बोकेर ल्याउन पनि सहज भएको र दुई तीन दिन लगाएर बिरामी अस्पताल लैजानुपर्ने बाध्यता हटेको बताए ।
सडक खुल्नुअघि यहाँ ठूला सामान ल्याउन कठिन थियो, मान्छेले बोकेर ल्याउन सक्ने अवस्था थिएन । अहिले मिल, बत्तीका सामान, सिँचाइका सामग्री ढुवानीमा समेत सहज भएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका–३ का धर्मराज शाहीले भने, ‘गाडी चलेको समयमा पसलका सामान ल्याउन सहज भएको छ, मान्छेलाई बोकाएर सामान ल्याउँदा टुट्ने फुट्ने हुन्थ्यो, अहिले सहज र मूल्य पनि सस्तो भएको छ ।’
६५ वर्षीय बले लुहारले पहिलोपटक धनगढीमा गाडी देखेको अनुभव सुनाए । ‘अहिले घरमै गाडी पुगेको छ, हामीले सडक बन्नेसमेत कल्पना गरेका थिएनौं,’ बलेले भने, ‘अहिले घरअगाडिबाट गाडी चढ्न पाउँदा खुसी लागेको छ, बिरामी भएको समयमा गाडी चढेर जिल्लाको अस्पतालमा जान पाइएको छ ।’

जनशक्ति पलायन
‘गाउँमा कुनै काम छैन, गाउँमा सडकका योजना मात्र धेरै बनिरहेका छन्, सडकमा काम गर्ने अवसर पाइँदैन, सबै डोजरले काम गरिरहेको छ, यहाँ खेतबारी केही छैन, छोराछोरी पाल्नका लागि सबै बाहिर जानुपर्ने बाध्यता रहेको छ,’ हरिचन्द्र लुहार भन्छन् ।
अहिले गाउँमा युवाहरू भेटिँदैनन् । कोरोना कहरपछि गाउँ आएका कतिपय युवाले गाउँ छाडेका छैनन् । पहिले भारी बोकेर आउने ज्यालाले परिवार पाल्न सहज थियो । काम नपाएपछि परिवार कसरी पाल्ने भन्ने समस्याले पिरोलेपछि यहाँका स्थानीयले फेरि काम गर्न भारत जानुपर्ने अवस्था आएको छ ।
तसला ओड भन्छिन्, ‘शिक्षाको राम्रो व्यवस्था नहुँदा ज्याला मजदुरीबाहेक अरू काम पाइँदैन, समयानुसारको सीपसमेत नहुँदा समस्यामा परेकालाई शिक्षा र सीपको आवश्यकता परेको छ ।’
बाजुराको पूर्वोत्तर क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि खाना नपुग्ने ४० प्रतिशत जनसंख्या छ भने वर्षभरि आफ्नै उत्पादनले पुग्ने १४ प्रतिशत मात्र जनसंख्या छ । खानकै समस्याका कारण जनशक्ति पलायन भइरहेको नागरिक समाज कोल्टीका संयोजक जनेश भण्डारीले बताए ।






