विद्यार्थीको साथ भए अहिलेको राजनीतिक परिस्थिति नै उल्ट्याउन सकिने : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीको साथ भए अहिलेको राजनीतिक परिस्थिति नै उल्ट्याउन सकिने दाबी गरेका छन् ।

अखिलको २३औं सम्मेलन

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को बिहीबारदेखि कीर्तिपुरमा सुरु भएको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले दलाल पुँजीवादीहरूले केही सांसद संख्याको बलमा आफ्नो सरकार ढालेकाले पार्टीनिकट विद्यार्थीहरूमाझ नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनविरुद्ध आक्रोश पनि पोखेका छन् ।

‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ, तपाईंहरूको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं,’ प्रचण्डले भने, ‘हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ मचाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु, हामी जितको पक्षमा छौं ।’

माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको भन्दै उनले आफूहरूले त्यसको घेरा तोड्दै आएको बताए । प्रचण्डले भ्रष्टाचार र भूमिफियाविरुद्ध कसैले गर्न नसकेको काम आफ्नो नेतृत्वको सरकारले गरेको दाबीसमेत गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने भन्दै केही समयभित्रै कुहिएर झर्ने जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कुहिएर छिट्टै ढल्ने दाबी गरे ।

‘मैले कांग्रेस र एमालेलाई धन्यवाद भनेको छु, हामीलाई तिमीहरूले जनतातिर फर्काइदियौं, हामी जनतातिरै जान्छौं, तिमीहरू मिलेर बस,’ प्रचण्डले भने, ‘तर उनीहरू मिल्दै छैनन्, केही समयभित्रै त्यो अपवित्र, अप्राकृतिक गठबन्धन कुहिएर झर्छ, त्यसबेला के गर्ने ? हामीले सोच्नुपर्ने स्थिति छ ।’

उनले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभए पनि वर्तमान सरकार कुहिएर झरेपछि के गर्ने भनेर सोच्नुपरेको बताए । प्रचण्डले कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउन संख्याका बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको दोहो¥याए ।

राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माणलगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको दाबी उनको छ । उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्नसक्ने अवस्था छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आमसहमति जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’

‘अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं’

अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताए । ‘सरकारबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्नसमेत पनि सहयोग गर्नेछ, यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्नेछ ।’

भर्खरै श्रीलंकामा भ्रष्टाचारविरोधी एजेन्डा स्थापित गरेर वामपन्थी राष्ट्रपति निर्वाचित भएको घटना विद्यार्थीहरूलाई सुनाउँदै उनले यो अभियान नेपालमा पनि सशक्त रूपमा अघि बढ्ने बताए ।

‘राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो’
अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्तिराष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो बन्न थालेको बताए ।

भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वव्यापी रूपमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गरे ।

विदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने वामपन्थीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नसक्ने उल्लेख गर्दै उनले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्नेगरी नीति कार्यक्रम बनाउनुपर्ने बताए ।

गुटबन्दीमा नलाग्न निर्देशन
अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि ऊर्जा हुने बताए ।

उनले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरूले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि ऊर्जाको अवसरका रूपमा अघि बढाउने विश्वास व्यक्त गरे । उनले विधिमा जाने भएपछि जो जितेर आउँछ, उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी नगर्न विद्यार्थीहरूलाई निर्देशन दिए ।

३३ पदाधिकारीसहित २ सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी
माओवादी केन्द्रको विद्यार्थी संगठन नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर पाँच दिनसम्म राष्ट्रिय सम्मेलन सञ्चालन हुने बताइएको छ । सम्मेलनमा देशैभरिबाट २ हजार ३ सय १३ प्रतिनिधि सहभागी छन् । सम्मेलन ३३ पदाधिकारीसहित २ सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न हुनेछ ।

सम्मेलनको बन्दसत्र आज (शुक्रबार) बिहान ८ बजेदेखि सुरु हुनेछ । बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस हुनेछ । त्यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ । १२ असोजमा विधान प्रतिवेदन’bout समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ । सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ । १३ असोज बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका लागि हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनले नेतृत्व चयन सर्वसम्मत हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियानुसार निर्वाचनबाट नेतृत्व चयन गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै