काठमाडौं । सामाजिक लेखा परीक्षण धेरैका लागि एउटा औपचारिक प्रक्रिया जस्तो लाग्न सक्छ । कुनै संस्थाले वर्षभरि गरेका काम, खर्च भएको बजेट र प्राप्त उपलब्धिको सार्वजनिक समीक्षा । तर एक्सन एड नेपालको २२औँ राष्ट्रिय सामाजिक लेखा परीक्षणमा प्रस्तुत भएका अनुभव, बहस र आवाजहरूले भने सामाजिक लेखा परीक्षण आर्थिक पारदर्शिताको अभ्यास मात्र नभई परिवर्तनका कथाहरू सार्वजनिक गर्ने साझा मञ्च पनि भएको सन्देश दिएको छ ।
कार्यक्रममा सरकारका प्रतिनिधि, प्रतिनिधि सभा सांसद, जनप्रतिनिधि, विकास साझेदार, नागरिक समाज, महिला, युवा तथा समुदायका सदस्यहरू एउटै मञ्चमा सहभागी थिए । सहभागीले संस्थाको लेखाजोखा मात्र सुनेनन्, परिवर्तनको अनुभव पनि साटासाट गरेका थिए ।
काठमाडौंको शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठले अब विकासलाई सडक, भवन र भौतिक संरचनामा मात्र सीमित गर्न नहुने धारणा राखिन् । उनका अनुसार वास्तविक विकास तब सम्भव हुन्छ, जब मानिसको सोच परिवर्तन हुन्छ ।
उनले शंखरापुरमा उखुबाट गुणस्तरीय चिनी उत्पादनको उदाहरण दिँदै स्थानीय उत्पादनलाई बजारसँग जोड्न सकिए विकास सम्भव हुने बताइन् । ‘पहिले बजार छैन भन्ने गुनासो धेरै थियो। अहिले उत्पादन बढेसँगै माग धान्नै मुस्किल भएको छ,’ उनले भनिन् । उनका अनुसार आर्थिक सशक्तीकरणको मूल आधार मानिसको सोच, सीप र उद्यमशीलता हो ।
पूर्व राष्ट्रिय योजना आयोग सदस्य डा. डिल्लीराज खनालले सामाजिक लेखा परीक्षणलाई संस्थागत विश्वास निर्माण गर्ने माध्यमका रूपमा व्याख्या गरे । कुनै संस्थाले आफ्ना उपलब्धि मात्र होइन, कमजोरी र चुनौतीसमेत सार्वजनिक रूपमा स्वीकार गर्ने संस्कृतिले उत्तरदायित्व बढाउने उनको भनाइ थियो ।

एक्सन एडले तीनै तहका सरकारसँग सहकार्य गर्दै आवाजविहीन समुदायलाई नीति निर्माणको बहससम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको प्रतिनिधिसभा सदस्य रेणुका काउचाले बताइन् । उनका अनुसार विकास तब मात्र अर्थपूर्ण हुन्छ, जब पछाडि पारिएका समुदायको आवाज राज्यले सुन्छ ।
कार्यक्रममा सबैभन्दा भावुक क्षण भने धादिङको थाक्रे गाउँपालिका–११ की सचना चेपाङले आफ्नो जीवन भोगाइ सुनाउँदा देखियो । उनले निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका महिलाले भोग्ने असुरक्षा, न्यून पारिश्रमिक र विभेदका अनुभव खुलाइन् । ‘पहिले हामी एक्ला थियौँ । अधिकारसम्बधी केही थाहा थिएन । समस्या पर्दा बोल्ने ठाउँ पनि थिएन,’ उनले भनिन् ।
एक्सन एडको सहयोगमा अनौपचारिक श्रमिक महिला समूहमा आबद्ध भएपछि परिस्थिति बदलिएको अनुभव उनले सुनाएकी थिइन् । ‘अहिले हामी सबै दिदीबहिनी एकजुट छौँ । कसैलाई समस्या परे सामूहिक रूपमा आवाज उठाउँछौँ । पहिले कसैले नसुन्ने हाम्रो आवाज अहिले सुनिन थालेको छ,’ उनले भनिन् ।
सचना चेपाङको अनुभवले सामाजिक परिवर्तन नीतिगत दस्तावेजबाट मात्र नभई समुदायको आत्मविश्वास र संगठनबाट सुरु हुने सन्देश थियो । कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै अधिकारकर्मी बाबु डुमी राईले अर्को महत्वपूर्ण प्रश्न उठाइन् ।
उनले नेपालमा एलजीबीटीआईक्यू समुदायलाई अझै पनि सामाजिक तथा संरचनागत विभेदको सामना गर्नुपरेको बताइन् । आफ्नो पहिचान खुलाएर समाजमा हिँड्नसमेत जोखिम हुने अवस्था लोकतान्त्रिक समाजका लागि चुनौती भएको उनको भनाइ थियो ।
उनले सार्वजनिक सेवाहरू सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य हुनुपर्नेमा जोड दिँदै लोकतन्त्रको मापन बहुसंख्यकको अधिकारले मात्र नभई अल्पसंख्यक र सीमान्तकृत समुदायले कति सम्मानपूर्वक बाँच्न पाएका छन् भन्ने आधारमा हुनुपर्ने धारणा राखिन् ।

एक्सन एडका कार्यक्रमले समुदायको आयआर्जनमा सकारात्मक प्रभाव पारेको प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समिति अध्यक्ष भरतबहादुर खड्काले बताए । राज्यको मूलधारबाट बाहिर रहेका समुदायलाई सशक्त बनाउने प्रयासले समावेशी विकासलाई बल पुगेको उनको भनाइ थियो ।
कार्यक्रमको समापन गर्दै एक्सन एड नेपालका बोर्ड अध्यक्ष केशव गौतमले सामाजिक लेखा परीक्षणलाई आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने औपचारिक प्रक्रिया मात्र नभई सिकाइ, आत्ममूल्याङ्कन र आगामी योजनालाई सुधार गर्ने आधारका रूपमा लिनुपर्ने बताए ।

एक्सन एड नेपालले शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण, जीविकोपार्जन, जलवायु न्याय, विपद् व्यवस्थापन तथा बालअधिकारका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको समीक्षा सार्वजनिक गर्दै सहभागीबाट प्राप्त सुझावलाई आगामी योजनामा समेट्ने बोर्ड अध्यक्ष गौतमले प्रतिबद्धता जनाए ।


सम्बन्धित समाचार
आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन
चिकित्सक नहुँदा गेटा अस्पतालमा सेवा बन्द : सेवाग्राही समस्यामा
सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको जोड
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा पुन: सञ्चालन गर्ने
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ








