हरिबोधनी एकादशीमा लमजुङमा २८ वटा फूलका डोरी तारियो

लमजुङ । हरिबोधनी एकादशीमा लमजुङमा २८ वटा फूलका डोरी तारियो भने ढोल्ने टोली अनगिन्ति रहे । हरिबोधनी एकादशीका अवसरमा लक्ष्मी र नारायणको आशीर्वाद पाउनका लागि फूलको डोरी(तोरण) नदीहरूमा तार्ने र डोरी तार्न नसक्नेहरूले नदीमा फूलका शोली ढोल्ने अर्थात बगाउने काम गर्दछन् । शोली ढोल्ने संख्या भने अनगिन्ति रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लमजुङमा आजको मेलालाई सफल बनाउनका लागि चार पालिका सुन्दरबजार नगरपालिका, राइनास नगरपाकिला र मध्यनेपाल नगरपालिका र मस्र्याङदी गाउँपालिकाले स्थानीय विदा समेत दिएका थिए । आजको मेलाको सबैभन्दा ठूलो कार्यक्रम लमजुङको सुन्दरबजार नगरपालिका– ७, राइनास नगरपालिका– ८ र तनहुँको भानु नगरपालिका– १० को संगम स्थल लमजुङको प्रवेश नाका पाउँदीमा भएको थियो ।

त्यो कार्यक्रममा पाउँदीको स्थानीय बासिन्दा समेत रहेका गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङ प्रमुख अतिथिका रुपमा सहभागी थिए । यसैगरी सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ विशेष अतिथिको रुपमा सहभागी थिए ।

सो स्थानमा फूलका सातवटा डोली तारिएको छ । डोली ढोल्नेको संख्या गन्नै भ्याइएन राससका जिल्ला प्रतिनिधि विराट न्यौपानेले बताए । यसैगरी, मस्र्याङदी गाउँपालिका स्थित कर्मोदा, शितप्रवाह र सुधा नदीको संगम स्थल खुदीबेनीमा चारवाटा फूलका डोली तार्ने काम भएको सो मेला व्यवस्थापन समितिले जनाएको छ । बेसीशहर नगरपालिका– ८ को कर्पुरेश्वर मन्दिर परिसरबाट विहान सबेरै दुईवटा फूलका डोरी तार्ने काम भयो । यसैगरी, दूधपोखरी गाउँपालिका– २ को विचौर र गोरखाको सिराञ्चोक गाउँपालिका क्षेत्रमा तीन वटा डोली तार्ने काम गरिएको स्थानीय विचौर निवासी रामहरि न्यौपानेले जानकारी दिए ।

उनका अनुसार दुवै जिल्लाको बीचमा बग्ने चेपे नदीमा पनि फूलका डोरी तार्ने काम गरिएको हो । यसैगरी, चेपे नदीमै राइनास नगरपालिका– १ र सिराञ्चोक गाउँपालिका– २ को बोक्सेरहमा पाँच वटा फूलका डोरी तारिएको छ । सो स्थानमा पनि अनगिन्ति मानिसले फूलका सोली ढोल्ने काम गरेको स्थानीय पत्रकार प्रमोद अधिकारीले बताए । उनका अनुसार चेपेकै चक्रतीर्थमा दुई र चेपे घाटमा दुई वटा फूलका डोरी तार्ने काम भएको छ ।

उता, मादी नदी किनारमा पनि मेला सहितको फूलका डोरी तार्ने र शोली घोल्ने काम गरिएको छ । मध्यनेपाल नगरपालिका– ४ तनहुँको व्यास नगरपालिका– ६ को संगम स्थल सिसाघाटमा पनि दुई वटा फूलको डोरी तार्ने तथा तीनवटा फूलको शोली ढोल्ने काम गरिएको स्थानीय बालविकास माध्यामिक विद्यालयका शिक्षक शिवराज खनालले बताए । उनका अनुसार सो स्थानमा फूलबल प्रतियोगिताको समेत तयारी भएको छ ।

त्यसैगरी, मादी नदीमै मध्यनेपाल नगरपालिका– ६ को रिस्ति खोला, मिदीम र मादीको संगम स्थलमा स्थानीय नारायण मन्दिर व्यवस्थापन समितिले एउटा फूलको डोरी तार्ने काम गरेको नारायण मन्दिर व्यवस्थापन समितिका सदस्य पुष्पा पराजुली केसीले बताइन् । उनका अनुसार समितिका पदाधिकारी तथा सदस्यहरूले हिजो ब्रत बसेर गए राती सत्यनारायणको पुजा गरी रातभर भजनकिर्तन गरी जाग्राम बसेर आज फूलको बाजागाजाका साथमा भजन गाउँदै नाच्दै फूलको डोली तार्ने काम गरिएको हो ।

यसैगरी, मध्यनेपाल नगरपालिका– ७ को रामबजार (भाटबेसी) क्षेत्रमा ईशानेश्वर विद्यापिढबाट र सूर्यप्रसाद जमरकट्टेलले आफ्नो व्यक्तिगत रुपमा फूलको डोली मादी नदीमा लगेर तार्ने काम सम्पन्न भएको स्थानीय बासी ठाडोभाका लोककला प्रतष्ठिान नेपालका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले जानकारी दिए । उनका अनुसार जमरकट्टेलले बाजागाजा सहितको टोलीले गाउँदेखि रामबजार आएर गणेश मन्दिर, ईशानेश्वर मन्दिर र पार्वतादेवीको मन्दिर परिक्रमा गरी मादी नदी किनारमा लगेको पिप्ले(कास्की) तर्फ पनि पिल्लरमा फूलको डोरी तार्ने काम गरिएको हो ।

आजको मेलाको दोस्रो भव्य रुपमा मस्र्याङ्दी गाउँपालिका– ३ को कर्मोदा, सुधा र शितप्रवाह नदीको संगम स्थल खुदीबेनीमा सञ्चालन भएको स्थानीय समेत रहेका पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीन कुइँकेलले बताए । उनका अनुसार सो स्थानमा फूलको डोरी तार्ने काम चार वटा भयो । ढोल्नेको संख्या गनिएन उनले भने । उनका अनुसार मेलालाई भव्य बनाउन छोलो प्रतियोगिता, डोरी तान्ने खेल समेत गरिएको र त्यसको संयोजन समेत आफैले गरेको कुइँकेलले बताए । यो समाचार तयार गर्दासम्म खेल जारी रहेको छ ।

यसैगरी, आजै देखि सुरु हुने पाँच दिने मस्र्याङ्दी महोत्सवको पनि उदघाटन अमर माविको हातामा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेको एकादशी मेला आयोजक खुदी युथ सोसाइटीका अध्यक्ष रावी थापाले बताए । उनका अनुसार एकदशी मेलाकै अवसरमा खुला भलिबल प्रतियोगिता समेत सुरु भएको छ । प्रतियोगितामा १३ टिम सहभागी छन् । उनले भने, ‘यो वर्ष स्थानीय कृषि र पशुजन्य अर्गानिक उत्पादनहरू समेत विक्रीमा राखिने भएको हुँदा गत वर्ष भन्दा यो वर्ष आकर्षण बढेको छ ।’

सो स्थानमा परापूर्वकालमा बनेकोे शितप्रवाह नदी किनारमा टंकेश्वर महादेव मन्दिर समेत रहेको थियो । त्यो मन्दिर परिसरमा मेला लाग्ने गरेको हो । २०८० सालको असार २ गते आएको बाढीले सो मन्दिरको निसाना समेत नरहने गरी बगाएको स्थानीय समाजसेवी भद्रमोहन थापाले बताए । उनका अनुसार अब हामीले फेरि मंन्दिर निर्माण गर्ने तयारी गरेका छौं । उनले भने माथिल्लो मस्र्याङ्दी एले आफ्नो आयोजनाको संरक्षणका लागि निर्माण गरेको बाधका कारणले यो मन्दिर बगाएको हो । मन्दिर परिसरमा रहेको करिब १५ रोपनी धान खेत समेत बगाएको उनले जानकारी दिए ।

सो स्थानमा तारिएको फूलका डोलीमध्ये एककी संयोजक समेत रहेकी विष्णुमाया भण्डारीले आफ्नो धर्म संस्कृति परम्पराको संरक्षणका लागि मस्र्याङ्दी गाउँपालिका– ९ मा रहेको गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको तर्फबाट गरिएको बताइन् । उनले भनिन्, ‘सशस्त्र द्वन्द्वकालमा यस्तो काम गर्न हुन्न पनि भने, कोरोना पनि भयो त्यसैले यो परम्परा लोप जस्तै भएको हुँदा त्यसो हुन नदिन यो काम गरिएको हो ।’ गत वर्ष यो ठाउँमा गत वर्ष एउटामात्र डोली तारिएको थियो यो वर्ष तीनवटा भयो । हामी आउँदो वर्ष पनि यो कामलाई निरन्तरता दिन्छौं भण्डारीले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

१४ किलो चरेशसहित चार जना पक्राउ, मुख्य ‘मालिक’ भने अझै फरार