खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरले जाडोयाममा विपन्न ज्येष्ठ नागरिकहरूलाई राहत पु¥याउने उद्देश्यले फाइबरको न्यानो सिरक वितरण गरेको छ । हिजो आइतबार आयोजित एक कार्यक्रममा वडाभित्रका ४५ जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।
वडा कार्यालयका अनुसार जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटबाट खरिद गरिएका सिरकहरू विशेषगरी विपन्न परिवारका ज्येष्ठ नागरिकहरूलाई वितरण गरिएको हो । हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले लेकाली भेगमा बसोबास गर्ने जेष्ठ नागरिकहरू जाडोको समयमा बिरामी पर्ने गरेको र उनीहरूलाई स्वस्थ राख्न न्यानो सिरक वितरण गरिएको बताए । “हाम्रो वडामा धेरै जेष्ठ नागरिक विपन्न परिवारका छन् ।
त्यसैले वडामा रहनुभएका ज्येष्ठ नागरिकमध्ये विपन्न समुदायका व्यक्तिहरूलाई छनोट गरेर सिरक वितरण गरेका हौँ,“ उनले भने । चालु आर्थिक वर्ष २०८१÷०८२ को ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत यो वितरण कार्यक्रम गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । निःशुल्क रूपमा न्यानो सिरक पाएपछि ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।
सिरक वितरण कार्यक्रममा गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीको उपस्थिति रहेको थियो । सात वडा रहेको रावाबेँसी गाउँपालिकाका अन्य वडाहरूले पनि ज्येष्ठ नागरिकका लागि यस्तै न्यानो सिरक वितरण गर्ने तयारी गरिरहेको जानकारी दिइएको छ ।






