भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिदै

भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ । समुन्द्री सतहबाट ३ हजार १ सय मिटर उचाईमा रहेको यो मन्दिरको संरक्षण गरिने भएको हो । यो मन्दिरको जीर्णद्धार तथा संरक्षणको लागि गर्नु पर्ने कार्यको विषयमा सर्वे गर्ने काम सम्पन्न भएको छ । यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको अवस्था छ ।

संरक्षणको अभावमा मन्दिर जीर्ण बनेकोले प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मन्दिरको पुरानो स्वरुपलाई यथावत राख्दै जीर्णद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ ।

‘टेम्केडाँडामा रहेको मन्दिरको जीर्णद्धारसँगै विकासमा जुटेका छौँ’अध्यक्ष बस्नेतले भने,‘यो हाम्रो ऐतिहासिक तथा प्रसिद्ध मन्दिर हो । संरक्षणको अभावमा मन्दिर जीर्ण बनेकोले जीर्णद्धारको लागि सर्वे गर्ने काम सम्पन्न भएको छ । यसको पुरानो शैलीलाई यथावत राख्दै जीर्णद्धार हुनेछ ।’

यहाँ दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, संखुवासभाबाटसमेत दर्शानार्थीहरु आउने गरेका छन् । दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वासले मानिसहरु यहाँ पुग्ने गरेका छन्् । यो स्थानमा वालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेलासमेत लाग्ने गरेको टेम्केमैयुङ ४ नागीका वडाध्यक्ष हर्कराज राईले बताए । मानिसहरु आफ्नो कुल, पित्रीको सम्झनामा सदविज छर्नको लागिसमेत पुग्ने उनको भनाइ छ ।मन्दिरको नजिकै परेवा उडाउने तथा बली पूजा गर्ने ठाउँससमेत छ । भाकलहरु पुरा हुने विस्वासले यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ ।

यो क्षेत्र भएर नेपाल सरकारको गुम्नै पर्ने एक सय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ । यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटकहरु पुग्ने गरेका छन् । मेला बाहेक अन्य समयमासमेत दर्शन गर्नको लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिसहरु आउने गरेका छन् ।

मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजंगा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ ओटा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक मन्दिर रहेकोले यसको संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको टेम्केमैयुङ ३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । यसको संरक्षण तथा विकासमा स्थानीय सरकारले ध्यान दिएको उनको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ ।

‘यो एउटा ऐतिहासिक पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो’वडाध्यक्ष राईले भने,‘यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचार–प्रसार हुन सकेको छैन । यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्राउन सकिन्छ । स्थानीय सरकारले यसको विकासमा ध्यान दिएको अवस्था छ ।’

संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचनाहरु भत्किन थालेका छन् । प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिसहरु दैनिक जसो पुग्ने गरेका छन् ।

पर्यटनसँगै मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा ध्यान दिन आवश्यक रहेको टेम्केमैयुङ ९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए ।‘टेम्के आफैँमा एक धार्मिकसँगै पर्यटकीय स्थल हो’उनले भने‘तर हामीले यसको सोचे जस्तो विकास गर्न सकेका छैनौँ । यसको विकाससँगै प्रचार प्रसार गरेर स्थापित पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।’

यो स्थानलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सके प्राकृति प्रेमीहरुको लागि यो उत्तम गन्तव्य बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्र विज्ञहरु बताउँछन् । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्राम स्थलको निर्माण गर्नु पर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान