हिन्दू संस्कृतिमा धर्मका विविध पक्षहरू छन् । जसरी दक्षिणायणमा पर्ने शुक्ल र कृष्ण पक्षमा आआफ्नै किसिमका पर्वहरू पर्दछन्, त्यस्तैगरी वैशाख महिनामा पर्ने उत्तरायणको मध्य भागमा पर्ने वैशाख शुक्ल तृतीया तिथिको एउटा महत्वपूर्ण धार्मिक स्थान राख्दछ । अक्षय तृतीया तिथिकै नामबाट पर्वभरका अत्यन्त पवित्र दिनमध्ये एक मानिन्छ । यससँग जोडिएको धर्मशास्त्रीय धारणाअनुरूप यस दिन गरिएको सानोतिनो दानधर्म अविनाशी भएर रहन्छ । जसले गर्दा यसको नाम नै अक्षय रहन गयो । विश्वको एक मात्र हिन्दू देश नेपालले यस पर्वलाई पवित्र चाडका रूपमा मनाउँदै आएको छ । यस पर्वमा स्नानको साथसाथै जौ हवन, जौबाट बनेका सातु दान र पितृका निम्ति श्राद्धजस्ता कार्य पर्दछन् । नयाँ वर्षको आरम्भसँगसँगै आउने यस चाड ज्यादै गर्मी मौसममा आउने भएको हुँदा उपयोगी जुत्ता, छाता, लठ्ठी, कमण्डलु आदि वस्तुका साथै खुँदोको सर्बत दान गरिने प्रचलन अद्यावधिक नै छ । खास गरेर यस दिन हाम्रो पहाडी भेगका देउराली थुम्कामा जौको सातु र सर्बत खुवाउने प्रचलन आजसम्म पनि यथावतै छ ।
नयाँ वर्ष सुरु हुने वैशाख महिनाको नाम माधव पनि हो र माधव विष्णुको पनि प्रसिद्ध नाम हो । जुनसुकै धर्म, व्रत र तीर्थ गरिन्छ, त्यसले धर्म मात्र प्राप्त नभएर सामाजिकका साथ आरोग्यलाई पनि छोएको वा आत्मसात् गरेको पाइन्छ । जसरी नागपञ्चमीमा हरियो मकै चढाएर वा दान गरेर मात्र खाइन्छ, त्यस्तैगरी यस महिनामा पाक्ने गहुँ, जौ, चना, मटरजस्तै हिउँदे बालीलाई भित्र्याएर दान गरी खाने परम्परा वैदिक कालदेखि नै सुरुवात भएको हो । धर्मशास्त्रमा दानमा सबैभन्दा ठूलो दान अन्नदान हो भनिएको छ । त्यस्तैगरी गर्मी याममा जलका मुहान सुक्दै गएका हुन्छन् । यस्ता अवसरमा प्राणी मात्रलाई नभइनहुने जल खुवाउने चलन व्यापक रूपमा रहेको हो । यस दिन प्राणी मात्रको जीवन अन्न र जलमा अडेको कुरालाई स्मरण गर्दै अक्षय तृतीया पर्वमा प्राचीनकालदेखि नै बाटाघाटामा जौको सातु र सर्बत बटुवालाई खुवाउने प्रचलन धेरै पहिलेदेखि भएको हो ।
यस दिन गरिएको सानोतिनो दानधर्म अविनाशी हुने भएकाले यसको नाम नै अक्षय रहन गयो
धार्मिकशास्त्र अनुरूप कालचक्रको गणना गर्दा कात्तिक शुक्ल नवमीका दिनदेखि सत्ययुगको आयु १७ लाख २८ हजार, वैशाख शुक्ल नवमीमा त्रेतायुगको आयु १२ लाख ९६ हजार, माघको पूर्णिमादेखि द्वापर युगको आयु ८ लाख, ६४ हजार र भदौ कृष्ण त्रयोदशीदेखि कलियुग सुरु भएको पाइन्छ, जसको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ । यसमा ५ हजार १ सय २० वर्ष कलियुगको वर्ष समाप्त भई अब ५ हजार १ सय २१ वर्षमा प्रवेश गरेको छ र अब कलियुगको आयु ४ लाख २६ हजार ८ सय ७७ वर्ष समाप्त हुन बाँकी रहेको छ । यो युग परिवर्तनका दिनहरू पुण्यकाल मानिन्छ । यसरी राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् र यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए । यसको साथसाथै अन्न र पानी प्राणी मात्रका लागि नभई नहुने वस्तु हो । त्यसकारण प्राणी मात्रको जीवन अन्नपानीमा बाँचेको छ । धूप मौसममा चिसो पानीको सर्बतले प्राणी मात्रको आँत रसाउँछ, जौको उपयोगिता र गुण सम्बन्धमा के प्रसिद्धि छ भने फल पाकेपछि बोट सुक्ने औषधिमा यसको श्रेष्ठ स्थान छ । यसका साथै आयुर्वेदमा जौको गुण’bout भनिएको छ, यो टर्रो, केही मधुर, खुर्कने स्वभावको र नरम पनि बताइएको छ । यसले स्वर विकार पार्ने कण्ठरोग, चर्मरोग, श्वास र कफ रोगलाई पनि फाइदा पु¥याउँछ ।
अक्षयको शुभ अवसरमा वैवाहिक सम्बन्ध कायम गर्नाले पनि ठूलो पुण्य प्राप्त हुन्छ भन्ने धारणा रहेको पाइन्छ । र, यसै समयमा विवाहका शुभ मुहूर्तका साइत परेको हुन्छ । यसै घडीमा विवाह भएका नवदम्पतीको दाम्पत्य जीवन सधैं सफल नै रहने जनविश्वास रहेको छ । तसर्थ, तिथिको फरक नपरेको खण्डमा प्रायः वैशाख शुक्ल तृतीयामा भगवान् विष्णुका छैटौं अवतारका रूपमा चिनिएका परशुरामको जन्मजयन्ती पनि यसै दिन पर्दछ । जसको जन्म त्रेता युगमा भएको थियो । अष्ट चिरञ्जीवीमध्येका एक मानिने परशुरामको जन्म जमदग्निका पुत्रका रूपमा रेणुकाको गर्भबाट ६ ग्रह उच्च स्थानमा भएका बेला सन्ध्याकालमा भएको थियो । यसले गर्दा पनि यस दिनको महत्व अझ बढी छ ।
वैदिक कालदेखि सुरु भएको दानधर्ममा सबैभन्दा ठूलो दान अन्नदान हो भनिएको छ
अन्त्यमा भन्नुपर्दा अक्षय तृतीय पर्व पुरातन युगको शुभारम्भ सम्झाउने दिन हो । यसै दिन पवित्र धार्मिक स्थानमा स्नान, दान, उपवास, समाजसेवालाई पुण्य सम्झने हिन्दू परम्पराले यसलाई महत्व दिएको छ । वैशाख महिनाको प्रचण्ड खडेरीमा अन्न दान, जल दान आदि गर्नु अवश्य नै महत्वपूर्ण कुरा हुन् । सम्भवतः श्रद्धा गर्ने रीतिरिवाज पनि यसै दिनदेखि सुरु भएको होला भन्ने जिज्ञासा राख्न सकिन्छ । जेहोस्, यस्ता किसिमका धार्मिक पर्वको मूल्यमान्यातालाई बढ्वा दिँदै जानु हामी सबैको परम् कर्तव्य हो । अतः भविष्य पुराणअनुसार यस तिथिको युगादि तिथिमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो । भगवान् विष्णुले नरनारायण, हयग्रीव र परशुरामको अवतरण पनि यसै तिथिमा भएको थियो । अक्षय तृतीया पर्व सातुसर्बत दान गरेर र आगन्तुकलाई यी खाद्यवस्तु खुवाएर मनाइन्छ । यस मौसममा फल्ने जौको सातु पौष्टिकताले भरपूर हुन्छ भने सर्बतले प्यास मेटाई शीतलता प्रदान गर्दछ । सातु अर्थात् पिसेको अत्रको धुलो जुन बोक्न सजिलो, खानलाई सहज अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसंगदेखि पौराणिक काल अनि मानवसभ्यताका विभित्र चरणमा सातु एउटा भरपर्दो र बोक्न सजिलो सामल अर्थात् बाटो या यात्रा गर्दा खान बोकिएको पदार्थका रूपमा रहेको छ ।
आजको दिन सातु खाने दिन हो, चढ्दो ग्रीष्मकालमा खाद्य शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अत्र पिसेर तयार गरिएको सातुको आज विशेष महत्व रहेको छ । तसर्थ, अक्षय तृतीयाको गरिमालाई झन् महत्व दिनु आवश्यक छ । आजको विकसित पिँढीले यस संस्कारलाई अझ बढी टेवा दिई नयाँ ज्वाइँले ग्रागीमा सर्बत र थालमा जौको सातु पाउनुपर्दछ । यही नै अक्षय तृतीयाको महत्व र धर्म–संस्कृतिको जर्गेना गर्नु हो ।






