जनजीविकामा पनि ध्यान देऊ

कोरोना संक्रमण फैलन नदिन र पूर्वसावधानी अपनाउन तथा रोकथामका उपायहरू अबलम्वन गर्न लकडाउनलाई जारी राखिएसँगै सरकारले जनजीविकाका कुरामा पनि उत्तिकै ध्यान पु-याउन जरुरी छ । जीविकोपार्जनमुखी आर्थिक प्रणालीमा आधारित नेपाली जनजीवन अबका दिनमा कष्टकर बन्दै जाने संकेत प्रस्ट रूपमा देखापरेको छ । टुक्रे उत्पादन प्रणाली र अर्धश्रमको अवस्थामा बाँचिरहेको नेपाली जीवन कतिपय ठाउँमा त साँझबिहानको हातमुख जोर्न दैनिक ज्यालामजदुरी नगरेर पनि नहुने अवस्थामा छ । त्यसो त सीमित भए पनि सहरीकरण बढ्दै गएको छ ।

सहरीकरण हुँदै जानु भनेको मानिस साँझबिहानको श्रममा जीवन गुजारा गर्दै जाने प्रणालीमा आश्रित हुँदै जानु हो । यसले असंगठित रूपमा लाखौं मजदुर उत्पादन गर्छ । सानातिना तर अदृश्य मजदुरीमा ती मजदुरहरूलाई भुल्ने र बाँच्ने बाटो तय गरिएको हुन्छ । सरकार भर्चुअल वा औपचारिक डाटामा मात्र सीमित हुन्छ तर अनौपचारिक क्षेत्रको दायरा यति ठूलो र फराकिलो हुन्छ कि यसले सरकारको भर्चुअल डाटालाई एकछेउमा पनि पर्न दिँदैन । कोरोना महामारीले निम्त्याएको समस्यासँगै सबैभन्दा बढी दबाब र झन्झट सरकारलाई कहीँ र कतैबाट सिर्जना हुन गएको छ भने त्यो यही असंगठित श्रम क्षेत्रबाटै हुन गएको छ । यो समस्या जनसंख्या बढ्दै गर्दा सहरमा मात्र होइन, गाउँमा पनि देखापर्दै र विस्तार हुँदै गएको छ ।

पछिल्लो चरणमा देश रेमिट्यान्समा निर्भर हुने, वैदेशिक रोजगारीमा गएकाको घरपरिवार विदेशीले पठाएको पैसामा बाँच्ने, खेतीपाती, कुटिर उद्योग, पशुपालन तथा अन्य उत्पादनमूलक व्यवसाय धराशायी हुँदै जाने स्थिति सिर्जना भएको छ । सिंगो देश उपभोग्य सामान खरिदबिक्रीको कारोबारमा मात्र सीमित हुँदै गएको छ । यसले परनिर्भरतालाई झनै बढावा दिएको छ । हाल भएको लकडाउनसँगै उपभोग्य वस्तु आयात र निर्यातमा पनि ठूलो असर परेकाले यही उपभोग्य बजार पनि साँघुरिन पुगेको छ ।

हालसम्म सञ्चय गरिएका खाद्य तथा अन्य उपभोग्य पदार्थ घरमा सबै बसेर खान थालेपछि सिद्धिसकेको छ । नयाँ अन्न बाली भित्रिसकेको छैन । कतिपयको त जमिन बाँझो राखिएकाले अन्नबाली भित्रिने अवस्था पनि देखिँदैन । नेपालीको आर्थिक जनजीवनले केही रूपान्तरण त खोज्यो तर त्यो रूपान्तरण आफ्नै आत्मनिर्भर अर्थतन्त्र विकासको विशिष्टतामा हुन सकेन । फलतः त्यो बढी परनिर्भर र परमुखापेक्षी बन्दै गयो । विश्व लकडाउनको आजको अवस्थामा सबै देशका अर्थतन्त्र खुम्चिदै जाँदा नेपाली जनजीविका पनि स्वतः प्रभावित हुन पुगेको छ ।

यस अलावा वैदेशिक रोजगारमा गएका मानिस अब स्वदेश फर्कंदै छन् । उत्पादनले गति लिने अवस्था छैन । तर, खाने मुख दिनप्रतिदिन थपिदै छन् । खेतीपाती गर्दा पनि ६ महिना पर्खनुपर्छ । मानिसमा साँझबिहानको हातमुख जोर्ने समस्या देखिन थालिसकेको छ । यसलाई यथासमयमा सम्बोधन गर्दै उत्पादनतिर जनशक्ति परिचालनका कार्यक्रम बनाउनु जरुरी भइसकेको छ । त्यसका लागि कार्यक्रम निर्माणका साथै तत्काल राहतका कार्यक्रम अघि बढाउनु जरुरी छ किनकि भोको पेटले श्रममा जोडिन सम्भव छैन । नेपालको आफ्नै विशिष्टता र क्षमताका आधारमा यी कामको सम्बन्धित पक्षबाट बिनाढिलाइ तय होस् र उत्पादनमूलक काम अघि बढाइयोस् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

जहाँ पाक्छ निःशुल्कमा खाना