काठमाडौँ । गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कार्साङ’ले प्रदर्शनको ६ दिनमा नेपालबाट एक करोड ४५ लाख रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रको दोस्रो साता शुक्रवार र शनिबार पनि अग्रिम बुकिङ राम्रो रहेको निर्माण पक्षले जनाएको छ ।
माघे संक्रान्तिमा हलमा दर्शकको चाप निकै राम्रो थियो । बुधवार पनि यो चलचित्रले राम्रो कलेक्सन गरेको यसका वितरकले बताएका छन् ।
चलचित्र कार्साङलाई यम शेर्पाले निर्देशन गरेका छन् । यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् । यो चलचित्र शेर्पा संस्कृतिमा आधारित रहेको छ ।






