सम्बन्ध विच्छेदको कुरा आउँदा नागा चैतन्य दुखी

चेन्नइ । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले दोस्रो विवाहपछि आफू निकै खुसीका साथ दाम्पत्य जीवन बिताइरहेकाले पहिलो विवाहको कुरालाई बारम्बार न उठाउन आग्रह गरेका छन् । आफ्नो नयाँ चलचित्र ‘टण्डेल’को छायांकनमा रहेका यी अभिनेताले पूर्व पत्नी तथा अभिनेत्री सामन्था रुथ प्रभुसँग सहमतिमै सम्बन्ध विच्छेद भएको पनि खुलासा गरेका छन् ।

एक पोड कास्टले सोधेको सामन्थासँगको सम्बन्ध विच्छेद कसरी भयो भन्ने प्रश्नमा यी अभिनेताले निराशा व्यक्त गरे । उनले यो पनि भने कि सम्बन्ध विच्छेद उनको लागि एक संवेदनशील विषय थियो । आफूले टुटेको सम्बन्धको परिणाम बुझेको पनि उनले बताए । नागा चैतन्यले भने, ‘म टुटेको परिवारको बच्चा हुँ, त्यसैले सम्बन्ध विच्छेदको पीडा कस्तो हुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ ।’

नागा चैतन्यले अन्तरवार्ताको क्रममा सामन्थासँगको सम्बन्ध विच्छेदको कुरालाई अब मिडियाले छलफलको विषय बनाउन आवश्यक नरहेको पनि जिकिर गरे । उनीहरूको सम्बन्ध विच्छेद २०२१ को अन्तिममा भएको थियो ।

नागा चैतन्यले भने,‘हामी आफ्नै तरिकाले अगाडि बढ्न चाहन्थ्यौँ, त्यसैले हामीले आफ्नै कारणले यो निर्णय लिएका हौँ र हामी एक अर्कालाई सम्मान गर्छौँ’, अहिले दुवै जना आफ्नो जीवनमा आफ्नै तरिकाले अगाडि बढिरहेको पनि उनले बताए ।

अभिनेता चैतन्यले भने, ‘यसको लागि थप के व्याख्या आवश्यक छ ? मलाई आशा छ की अबका दिनमा दर्शक र मिडियाले त्यसको सम्मान गर्नेछन् ।’ आफूहरूले यसलाई निजत्वको रूपमा लिइदिन पनि आग्रह गरेको उनले बताए ।

नागा चैतन्यले अनुरोध गर्दै भने,‘यस विषयमा हामीलाई गोपनीयताको हक दिनुहोस्, तर दुर्भाग्यवश यो बारम्बार हेडलाइन बन्ने गरेको छ । यो गफको विषयसँगै मनोरञ्जनको माध्यम पनि बन्ने गरेको छ ।’

आफूले दोस्रो विवाह गरेर पनि राम्रो दाम्पत्य सम्बन्ध चलिरहेको बताउँदै उनले भने,‘यो मेरो जीवनमा मात्र भइरहेको छैन भने मलाई किन अपराधी जस्तो व्यवहार गरिन्छ ? जे पनि निर्णय लिइयो, त्यो हामीले धेरै सोचविचार गरेर लिइएको निर्णय थियो’, यो संवेदनशील विषय भएकाले यसलाई सम्मानपूर्वक लिइदिन पनि उनले अनुरोध गरे ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

केन्द्रीय क्याम्पसबाट हाम फाले एक विद्यार्थी, उपचारका क्रममा मृत्यु